Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा उपयुक्त उद्योगीको खोजी सुरु

उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा उपयुक्त उद्योगीको खोजी सुरु


विराटनगर ।
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सम्पन्न भएलगत्तै प्रदेश १ को उद्योग वाणिज्य संघको निर्वाचनले यस प्रदेशका उद्योगी व्यवसायीहरूलाई फेरि एक पटक चुनावको रन्को लागेको छ । महासंघ प्रदेश नम्बर १ को तेस्रो साधारणसभा र नयाँ कार्यसमितिको निर्वाचन यही पुस ११ गते गर्ने निश्चित भएपछि स्थानीय उद्योगी व्यवसायीहरू चुनावी तयारीको चटारोमा जुटेका छन् । प्रदेश नम्बर १ को उद्योग वाणिज्य महासंघको साधारणसभामा ३६ वटा जिल्लानगर उद्योग वाणिज्य संघ, १३ वटा बस्तुगत संस्था र एक सय ८१ वटा एसोसिएट सदस्यले भाग लिन पाउनेछन् । साधारणसभा र आगामी कार्यकालको नेतृत्वको लागि धेरै उद्योगीहरू आकांक्षी देखिएका छन् ।

प्रदेश १ का वर्तमान अध्यक्ष नरेन्द्र खड्काले आफू फेरि पनि दोहोरिने इच्छा गरेका छन् । पछिल्लो समय खड्काको उम्मेदवारीलाई लिएर उद्योगी नै विभाजित बन्न पुगेका छन् । खड्का र स्थानीय उद्योगी मुरारकाबीचमा लामो समयदेखि चल्दै आएको शीतयुद्धले पनि खड्काको उम्मेदवारीलाई प्रभावित बनाएको उद्योगीहरूले बताउन थालेका छन् । त्यसबाहेक झापाका सुपारी कारोबारी दिपक पोखरेल र खड्काबीचको सम्बन्धलाई लिएर पनि अहिले व्यापक चर्चा हुन थालेको छ । झापा जिल्लाका नरेन्द्र खड्कालाई फेरि झापाबाटै मेची उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष केशव पाण्डे र झापा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्र घिमिरेले पनि प्रदेश १ को उद्योग वाणिज्य माहासंघमा अध्यक्षको उम्मेदवार हुने इच्छा देखाएपछि अध्यक्ष बन्न कठिन हुने उद्योगीहरूको विश्लेषण छ ।

मोरङबाट पनि उद्योग संगठन मोरङका वर्तमान अध्यक्ष भीम घिमिरेले उद्योग वाणिज्य माहासंघ १ नम्बर प्रदेशको अध्यक्षका लागि धेरै पहिलेदेखि नै तयारी गरिरहेका थिए । तर उनी वर्तमान उद्योग संगठन मोरंगको अध्यक्ष भएका कारण महासंघको विधानतः उम्मेदवारी दिनबाट वञ्चित भएका छन् । एक कार्यकाल जिल्लाका संगठनको अध्यक्ष वा उपाध्यक्ष भएको व्यक्ति मात्र उम्मेदवार हुन पाउने विधानअनुसार तथा उनी वर्तमानमा पनि अध्यक्ष बहाल रहिरहेका कारण उम्मेदवारीबाट वञ्चित बनेका छन् । तर घिमिरे जिल्ला प्रशासनबाट निवर्तमान अध्यक्ष भएको व्यहोराको पत्र बनाउन लागाएर महासंघको प्रदेश १ अध्यक्ष भएरै छाड्ने अडानमा रहेको उद्योगी एवं व्यवसायीको भनाइ छ ।

अहिलेसम्म पनि उद्योग संगठन मोरङको अध्यक्षका हैसियतले सभासमारोहमा सहभागिता जनाउँदै आएका छन् । तर उनले जिल्ला प्रशासनबाट निवर्तमान भएको पत्र बनाउन कसरी लगाए ? भन्ने विषयले अहिले उद्योगी एवं व्यवसायी क्षेत्रमा हलचल ल्याएको छ । पदका लागि सामदाम दण्डभेदको नीति अख्तियार गर्न खप्पिस मानिएका घिमिरेले शक्तिको आडमा अध्यक्षको उम्मेदवारी गरे उनको उम्मेदवारी नै निर्वाचन आयोगले बदर गर्न सक्ने व्यवसायीको भनाइ छ ।

यस्तै स्थानीय उद्योगी एवं व्यवसायीहरूले भने प्रदेश १ का वर्तमान उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा हालै मात्र निर्विरोध निर्वाचित राजेन्द्र राउतलाई महासंघको प्रदेश अध्यक्ष बन्न आग्रह गरिरहेका छन् । राउत दुई कार्यकाल पूर्वाञ्चल उद्योग वाणिज्य संघको र एक कार्यकाल प्रदेश महासंघको उपाध्यक्ष भइसकेका छन् । राउत हालसम्म कुनै पनि जिल्लानगर उद्योग वाणिज्य संघको अध्यक्ष समेत भएका छैनन् । अध्यक्ष नभएको व्यक्तिले प्रदेश अध्यक्ष उठ्न पाउने व्यवस्था विधानमा नभए पनि उनी केन्द्रीय सदस्य भएकाले उनलाई अध्यक्ष बन्न बाटो खुलेको व्यवसायीहरूले बताएका छन् ।

कोभिड महामारीले उद्योग व्यवसायलाई अत्यन्तै ठूलो संकट पारेको बेलामा वर्तमान चुनौतीमा जुध्न सक्ने सक्षम नेतृत्वको आवश्यकता रहेको हुँदा अबको प्रदेश अध्यक्षमा राउत नै सक्षम रहेको व्यवसायीहरू बताउँछन् । जिल्लादेखि केन्द्रसम्मको संगठनहरूमा कुशल नेतृत्व भए मात्र चुनौतीको सामना गर्न सक्ने हुँदा चर्चामा आएका नामहरूमध्ये उपयुक्त व्यक्तिलाई सर्वसम्मत अध्यक्ष बनाउने प्रयासमा उद्योगी एवं व्यवसायीहरू लागि परिरहेका छन् । यद्यपि राउतले भने आफूलाई निर्वाचन लड्ने इच्छा नै नभएको बताए । तर सबै साथीहरूले निर्विरोध छोडेर संस्था चलाउने जिम्मा दिएमा सोच्न सकिने कुराको जानकारी राउतले दिएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया