Techie IT
×
गृहपृष्ठbreakingआविष्कार नहुँदा पेटेन्ट र डिजाइन उत्पादनमा कमी

आविष्कार नहुँदा पेटेन्ट र डिजाइन उत्पादनमा कमी


काठमाडौँ ।
बौद्धिक सम्पत्ति पेटेन्ट र डिजाइनको उत्पादनमा कमी आएको छ । उद्योग विभागका अनुसार ट्रेडमार्क लिनको लागि पर्याप्त आवदेन आउने गरे पनि पेटेन्ट र डिजाइनको हकमा भने सो अवस्था छैन । विभागका औद्योगिक सम्पत्ति शाखाकी निर्देशक बिन्दा आचार्यले जुन मुलुकले नयाँ आविष्कार तथा उत्पादन गर्छ उसले पेटेन्ट तथा डिजाइन निर्माण गर्ने बताइन् । उनका अनुसार त्यसैले गर्दा नेपालमा अनुसन्धान तथा आविष्कार कम हुँदा पेटेन्ट र डिजाइन लिनेको संख्यामा कमी भएको हो । ‘अमेरिका, युरोपलगायतका कतिपय मुलुकले वस्तु तथा सेवामा नयाँ–नयाँ उत्पादन गरेका हुन्छन् जसले गर्दा उनीहरुले सोहीअनुरुप पेटेन्ट, डिजाइन निर्माण गरेका हुन्छन्’, उनले भनिन्, ‘नेपालमा त्यसको अभ्यास कम हुने गरेको छ ।’

यस्तै निर्देशक आचार्यले टे«डमार्क लिनेको संख्या भने उल्लेखनीय रहेको बताइन् । विभागका अनुसार हालसम्म ८९ हजारवटा ट्रेडमार्क दर्ताको निवेदन परेकोमध्ये ५१ हजार दुई सयवटा दर्ता भएको छ । यस्तै ७६ वटा पेटेन्ट र १ सय ९५ वटा डिजाइन दर्ता भएका छन् । यस्तै चालू आर्थिक वर्ष (०७७/०७८) मा पनि ट्रेडमार्क लिने उद्योगहरुको संख्या बढी छ । विभागका अनुसार चालू आवको हालसम्म स्वदेशी उद्योगहरुले २ सय ५० वटा तथा विदेशी उद्योगीहरुले २ सय २३ वटा ट्रेडमार्क लिएका छन् । यस्तै पेटेन्ट र डिजाइन भने लिएका छैनन् ।

यस्तै नेपाली व्यवसायीहरुले भने अन्तर्राष्ट्रियजगत्मा पहिचान बनाउन सफल उत्पादनहरुको ट्रेडमार्ककै नक्कल तथा चोरी गर्ने गरेका छन् । यसरी व्यवसायीहरुले ट्रेडमार्क नक्कल तथा चोरी गर्दा विदेशी कम्पनीहरुले विभागसमक्ष चोरीको उजुरी दिने गरेका छन् । विभागसमक्ष बौद्धिक सम्पत्ति चोरीसम्बन्धी ७ सय १८ वटा उजुरी परेका छन् । उजुरी आए पनि कोभिड १९ महामारीका कारण भने उजुरी फर्छ्योट हुन नसकेको विभागले जनाएको छ । अघिल्ला वर्षमा पनि ज्यादै कम उजुरी फर्छ्योट हुने गरेकोमा कोरोना महामारीपछि भने बौद्धिक सम्पत्तिसम्बन्धी समस्या समाधान गर्न असहज भएको शाखाले जनाएको छ ।

यस्तै विभागमा गत आवमा भने ५ सय २६ वटा बौद्धिक सम्पत्ति चोरी भएको उजुरी परेको छ भने चालू आवमा भने ५५ वटा सोसम्बन्धी उजुरी परेको छ । यस वर्ष बौद्धिक सम्पत्तिसम्बन्धी ४६ वटा उजुरी फछ्र्योट गरेको विभागले ती उजुरीहरुमध्ये गत आवमा परेका ३६ वटा रहेको बताएको छ । विभागका महानिर्देशक जीवलाल भुसालले बौद्धिक सम्पत्तिसम्बन्धी रहेको मुद्दाहरु फछ्र्योट गर्दै जाने तयारीमा विभाग रहेको बताए । बौद्धिक सम्पत्तिसम्बन्धी विवाद विभागको महानिर्देशकको अध्यक्षतामा छिनोफानो गरिने गरिन्छ भने त्यहाँको फैसला चित्त नबुझेको खण्डमा भने सम्बन्धित पक्ष अदालत जाने प्रचलन रहेको छ ।

पछिल्लो समय भने सरकारले बौद्धिक सम्पत्ति संरक्षण तथा व्यवस्थित गर्ने उद्देश्यले बौद्धिक सम्पत्ति ऐन ल्याउन तयारी गरेको छ । यसअघिका ऐनले बौद्धिक सम्पत्तिको बृहत् पक्ष नसमेटेको भन्दै सरकारले ऐन ल्याउने तयारी गरेको हो । सरकारले २०७३ फागुनमा भौगोलिक संकेत, वनस्पति प्रजाति संरक्षण, व्यापारिक गोपनीयता, एकीकृत सर्किटको लेआउट डिजाइन, परम्परागत तथा मौलिक ज्ञान, परम्परागत सांस्कृतिक अभिव्यक्ति तथा अमूर्त सांस्कृतिक सम्पदा, जैविक विविधता र आनुवांशिक गरी बौद्धिक सम्पत्तिअन्तर्गत सातवटा क्षेत्र थप गरेको थियो ।

हाल दुई वटा ऐन अर्थात् पेटेण्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ तथा प्रतिलिपि अधिकार ऐन २०५९ ले बौद्धिक सम्पत्तिलाई संरक्षण तथा वितरण गरेको छ । स्वदेशी तथा विदेशी उद्योगहरुले आफ्ना उत्पादनहरु चिनाउन तथा उपभोक्ताहरुलाई सहज होस् भन्ने उद्देश्यका साथ ट्रेडमार्क, पेटेन्ड र डिजाइनमार्फत संकेत तथा चिह्न दिएका हुन्छन् ।

बौद्धिक सम्पत्ति मानिसको आफ्नो सीप, क्षमता र दक्षताको प्रयोग गरी तयार गरेको सिर्जनात्मक कार्य हो जसको माध्यमबाट भौतिक संरचना वा वस्तु निर्माण हुन्छ भने उक्त वस्तु वा संरचनामाथिको सर्जकको अधिकार बौद्धिक सम्पत्तिको अधिकार मानिन्छ भने बौद्धिक सम्पत्तिलाई प्रतिलिपि अधिकार (कपिराइट), ट्रेडमार्क, पेटेन्ट आदिद्वारा संरक्षित गरिएको हुन्छ भने जसरी कुनै कुनै भौतिक सम्पत्तिको स्वामित्व हुन्छ, त्यसैगरी कुनै बौद्धिक सम्पत्तिको पनि स्वामित्व हुन्छ जसलाई बौद्धिक सम्पत्ति अधिकार भन्ने गरेको पाइन्छ ।



तपाईको प्रतिक्रिया