Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमध्यपुर थिमि एसियन अवार्डबाट पुरस्कृत

मध्यपुर थिमि एसियन अवार्डबाट पुरस्कृत


भक्तपुर ।
भक्तपुर, पुस ८ । कलात्मक, परम्परागत एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण सहरको रूपमा रहेको मध्यपुर थिमि नगरपालिका यस वर्षको ‘एसियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत भएको छ । विश्वमा बढ्दो सहरीकरणले कयौँ महत्वपूर्ण ऐतिहासिक सम्पदा नासिँदै गएको अवस्थामा परम्परागत, ऐतिहासिक धरोहर तथा प्राकृतिक क्षेत्र संरक्षणको क्षेत्रमा महत्वपूर्ण काम गरी प्रगति हासिल गरेका एसियाली सहरहरुलाई प्रत्येक वर्ष युएन हेबिट्याटको एसिया प्यासिफिक क्षेत्रीय कार्यालयले दिँदै आएको यो पुरस्कार यस वर्ष मध्यपुर थिमि नगरपालिकाले पाएको युएन हेबिट्याटका कार्यक्रम प्रबन्धक पीएस जोशीले जानकारी दिए ।

ऐतिहासिक तथा सांस्कृतिक सम्पदा पुनर्निर्माणमा पाएको सफलतालाई आधार मान्दै वितरण गरिने उक्त पुरस्कार पाउने मध्यपुर थिमि नगरपालिका नेपालकै एक मात्र नगरपालिका हुन सफल भएको छ । एसियाका स्थानीय सरकार, विभाग, सहरी व्यवस्थापन निकाय, गैरसरकारी तथा सामुदायिक संस्थाहरु, अनुसन्धान केन्द्र, योजना निर्माण विज्ञलगायतको प्रतिस्पर्धामा दक्षिण कोरियाका चार, जापानका तीन, चीनका दुई तथा मलेसिया, नेपाल र थाइल्याण्डका एक–एक नगरपालिकाले उक्त पुरस्कार प्राप्त गरेको जोशीले जानकारी दिए । सहरी क्षेत्रको विकासमा लामो समयदेखि सक्रिय रहँदै आएको युएन हेबिट्याटको एसिया प्यासिफिक क्षेत्रीय कार्यालयले गत अगष्टसम्म भएको प्रगतिको समीक्षा गर्दै उक्त पुरस्कार प्रदान गरेको हो ।

पुरस्कार पाएपछि मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुरथिमिको ऐतिहासिक कला, संस्कृति, सम्पदा, सांस्कृतिक धरोहर एवं परम्पराको संरक्षणसँगै विकासमा पु¥याएको योगदानले पुरस्कार पाउन सफल भएको उल्लेख गर्दै यसले आफूलाई अझै जिम्मेवार बनाउँदै सम्पदा संरक्षणको अभियानमा थप प्रेरणा दिएको बताए । नगरपालिकाले यो पुरस्कार पाउनमा नगरपालिकाको सम्पदा संरक्षणको अभियानमा सक्रिय रहेका उपभोक्ता समिति, नगरपालिका परिवार, जनप्रतिनिधि, कर्मचारी सम्पूर्ण मध्यपुरथिमिका बासिन्दा एवं सरोकारवाला निकायको योगदान रहेको उनले बताए ।

लोपोन्मुख अवस्थामा पुगेका, वर्षौँदेखि बन्द भएका मध्यपुरथिमिका कला, संस्कृति, सांस्कृतिक परम्पराको जगेर्ना गर्नेदेखि पुरिएका, भत्किएका, जीर्ण भएका ऐतिहासिक सम्पदा संरक्षण अभियानको नगरप्रमुख श्रेष्ठले नेतृत्व गरेका थिए । उनले भने, ‘हामीले जनप्रतिनिधि निर्वाचित भएर आएपछि मध्यपुरथिमिभित्रका पाँच पोखरी, दुई विहार, २० ढुङ्गेधारा, २५ पाटी, आठ इनार र दुई उद्यान पुनर्निर्माण एवं जीर्णोद्धार गरेका छौँ, अन्य सम्पदाको संरक्षण तथा जीर्णोद्धार पनि भइरहेको छ, यो पुरस्कारले मसँगै सिङ्गो नगरपालिकाको टिमलाई थप जिम्मेवार बनाएको छ ।’

यो पुरस्कारले मध्यपुर थिमि नगरपालिका मात्रै नभई विश्वमा सिंगो नेपालकै नाम राख्न सफल भएको बताउँदै उनले सम्पदा संरक्षण अभियानलाई अझै सशक्तरूपमा लैजाने बताए । मध्यपुर थिमि नगरपालिकाले सम्पदा संरक्षणसँगै पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सम्पदा एवं परम्परागत बस्तीलाई जीवित संग्रहालयको रूपमा विकास गर्ने, नगरका प्रत्येक सम्पदास्थल र परम्परागत बस्तीमा पुग्ने गरी पदमार्ग निर्माण, रात्रिकालीन पर्यटनको विकास गर्दै विदेशी पर्यटकलाई आकर्षित पार्ने परम्परागत सांस्कृतिक पहिचानलाई जीवन्तरूपमा प्रस्तुत गर्ने गरी नगरपालिका अगाडि बढेको छ । शंखधरचोकमा निर्माण भइरहेको शंखधर उद्यानदेखि बोडेको कुमारी उद्यानसम्म, दक्षिण बाराहीदेखि नील वाराहीसम्मका सम्पदाको संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई पु¥याउने गुरुयोजना बनाएर अगाडि बढेको नगरप्रमुख श्रेष्ठले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया