चरीकोट डिवाट्स आयोजना कार्यान्वयन सहमति तथा वित्तीय सम्झौतापत्रमा हस्ताक्षर

दोलखा ।
दोलखा जिल्लाको भीमेश्वर नगरपालिकामा पानी तथा ढल व्यवस्थापनका लागि चरीकोट डिवाट्स आयोजना कार्यान्वयन सहमति तथा वित्तीय सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।सिंहदरबारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको उपस्थितिमा बुधबार भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसी र सहरी खानेपानी तथा सरसफाइ आयोजना व्यवस्थापन कार्यालयका निर्देशक रामकुमार श्रेष्ठबीच सो आयोजना कार्यान्वयनसम्बन्धी सहमति तथा वित्तीय सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
चरीकोट बजारसहित भीमेश्वर नगरपालिकाको वडा नम्बर ३, ४ र ६ मा रहेको बजार क्षेत्रमा प्रशोधन प्रणालीमार्फत खानेपानी तथा ढल व्यवस्थापनका लागि एसियाली विकास बैंकको ऋण सहायतामा सो आयोजना निर्माण सम्पन्न हुने सम्झौतापत्रमा उल्लेख गरिएको छ । सो आयोजनाको कुल लागत ९१ करोड ५१ लाख ३६ हजार रूपैयाँ रहेको छ भने त्यसको कुल लागतको १५ प्रतिशत स्थानीय तहले व्यहोर्नु पर्नेछ । कार्यक्रममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङले हिमाली जिल्लामा नेपालमै पहिलो पटक सञ्चालनमा ल्याइएको सो आयोजना नमूना आयोजनाको रूपमा अघि बढ्ने बताए ।
भीमेश्वर नगरपालिका बजार क्षेत्रको खानेपानी तथा ढल व्यवस्थापनका लागि सञ्चालनमा आउने सो आयोजना राष्ट्रकै नमूना आयोजना भएकाले त्यसलाई समयमै सम्पन्न गर्न उनले भीमेश्वर नगरपालिका र आयोजना कार्यान्वय कार्यालयलाई आग्रह समेत गरे । वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईँले सो आयोजना सम्पन्न गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । भीमेश्वर नगरपालिकाका मेयर केसीले नगरकै गौरवको आयोजना भएकोले समयमै निर्माण सम्पन्न गर्ने बताए । साथै आयोजना कार्यान्वयन कार्यालयका निर्देशक श्रेष्ठले सो आयोजना सम्पन्न गर्न स्थानीय जनप्रतिनिधिहरूले सक्दो सहयोग गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबलबहादुर पाण्डे, भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का, सञ्चार मन्त्री गुरुङका सञ्चार विज्ञ राजेन्द्र मानन्धरलगायतको उपस्थिति रहेको थियो । हिमाली जिल्लामध्ये दोलखा जिल्लाको भीमेश्वर नगरपालिकामा यो आयोजना पहिलो पटक सञ्चालनमा ल्याइएको दाबी गरिएको छ । सो आयोजना संरचना निर्माणका लागि आवश्यक स्थानलगायतका व्यवस्था सरोकारवालाहरूको सहमतिमा भीमेश्वर नगरपालिका आफैँले गर्नेछ ।
ताजा अपडेट
- सरकारको तीन वर्ष र विकासको गति
- सरकार खोइ ?
- शाइन रेसुंगा डेभलपमेन्ट बैंक १३औं वर्षमा प्रवेश
- नबिल बैंकद्वारा भैरहवा कान्छी बजारको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवा सुरु
- बैंक अफ काठमाण्डूको अगुवाइमा अप्पर खुदी जलविद्युत् आयोजनामा कर्जा
- कतार एयरवेज यूईएफए युरोको आधिकारिक एयरलाइन प्रायोजक
- चरीकोट–जिरी सडक निर्माण तोकिएको समयभित्र नै सक्ने लक्ष्य
- चार लेनको पुलले जोडेपछि महाकाली पारि बढ्न थाल्यो आर्थिक क्रियाकलाप
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया