Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रधानमन्त्री ओलीले नयाँ मन्त्री थप्ने

प्रधानमन्त्री ओलीले नयाँ मन्त्री थप्ने

पुराना मन्त्रीहरूको मन्त्रालय हेरफेर गर्ने


काठमाडौँ ।

प्रतिनिधिसभा विघटन भएपछि राजीनामा दिएको स्थानमा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ अनुहारलाई मन्त्री बनाउने भएका छन् । साथै अहिले भएका केही मन्त्रीको मन्त्रालय पनि परिवर्तन गर्ने तयारी भएको छ । प्रतिनिधिसभा विघटन भएपछि सोही दिन गत ५ गते आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, कृषि पशुपक्षी विकासमन्त्री घनश्याम भुसाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादव र खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले राजीनामा दिएका थिए ।

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा परेको प्रतिनिधिसभाको मुद्दाको टुंगो नलाग्दै मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीले आफ्नो समूहमा आएका पूर्वमाओवादीका केही नेता र प्रचण्ड–माधव समूहमा गएका केही नेताहरूलाई तान्नका लागि मन्त्रीमा नियुक्ति गर्नलागेका हुन् ।

त्यसका लागि ओलीले विभिन्न चरणमा छलफल गरेका छन् । मन्त्रिपरिषद् विस्तार गर्दा प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा बादललगायतका नेताहरूसँग परामर्श गर्दै छन् । स्रोतका अनुसार प्रधानमन्त्रीले वामदेव गौतमकी श्रीमती विघटित प्रतिनिधिसभा सदस्य कु.तुलसी थापालाई मन्त्री दिने तयारी गरेका छन् । यद्यपि यो विषयमा वामदेव गौतमबाट सहमति भएको छैन । गौतम दुवै समूहको भेलामा नगई बसेका छन् । दुवै समूहले गौतमलाई तान्ने प्रयास गरे पनि गौतम मौन छन् ।

गृहमन्त्री थापा पनि बिहीबार मात्र ओली समूहमा खुलेर लागेका हुन् । बादल ओली समूहमा लागे पनि उनी समर्थक नेताहरू भने प्रचण्ड–माधव समूहमा गएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता प्रदीप ज्ञवालीले पनि मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुने बताएका छन् ।

नेकपाको बिहीबार बालुवाटारमा भएको तेस्रो बैठकको निर्णयबारे जानकारी गराउँदै केन्द्रीय कमिटी बैठक सकिएपछि पहिलो काम मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए । बैठकले यसअघि पार्टीको कार्यकारी अधिकार पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएकामा त्यो फिर्ता लिएको छ ।

अहिलेका प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपाको ६४ प्रतिशत संसद्मा रहेकाले प्रधानमन्त्रीमाथि दलको विश्वास नटुटेको ज्ञवालीको दाबी छ । ‘अहिले नेकपा पार्टी विभाजन भएको छैन । संसद्मा ६४ प्रतिशत सांसद रहेको दल अहिले पनि रहेको छ । उनीहरूले प्रधानमन्त्रीलाई विश्वास गरेको अवस्था छ’, प्रवक्ता ज्ञवालीले भने । उनले विघटन भएको संसद्भित्र संसदीय दल नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलबाट हटाउने कुरै नआउने समेत बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया