Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएउटै गाउँबाट तीन करोड रूपैयाँको सुन्तला बिक्री

एउटै गाउँबाट तीन करोड रूपैयाँको सुन्तला बिक्री


दमौली ।
तनहुँको देवघाट गाउँपालिका–३ ल्हुंग्रीङ गाउँबाट तीन करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री भएको छ । उक्त गाउँबाट मात्रै यस वर्षको मौसममा तीन करोडभन्दा बढीको सुन्तला बिक्री भएको हो । सुन्तला बिक्री गरेर यहाँका एक कृषकले मात्रै २२ लाख रुपैयाँ आम्दानी गरेका छन् । स्थानीय भीम रानाले यस वर्ष सुन्तला बिक्रीबाट उक्त आम्दानी भएको बताए । ‘सुन्तलाखेती नै यहाँका कृषकको मुख्य आम्दानीको स्रोत हो’, उनले भने– ‘सुन्तला बिक्री गरेर कृषकले मनग्य आम्दानी गरिरहेका छन् ।’

रानाले एउटा बगैँचाबाट १५ लाख रुपैयाँ र अर्को बगैँचाबाट सात लाख रुपैयाँबराबरको सुन्तला बिक्री गरेको बताए । साथै सुन्तला बिक्रीका लागि कुनै समस्या नरहेको उनको भनाइ छ । यस्तै स्थानीयवासी कर्णसिं गुरुङले १८ लाख, नवराज गुरुङले १५ लाख, रामबहादुर रानाले १२ लाखबराबरको सुन्तला बिक्री गरेका छन् ।

‘सुन्तला बिक्री गरेर आम्दानी नगर्ने कुनै घर छैनन्, विगतमा अन्य खेती गरेका पनि अहिले व्यावसायिकरूप्मा सुन्तलाखेतीमा आबद्ध छन्’, उनले भने । उनका अनुसार यस ठाउँबाट मात्रै करिब तीन करोडभन्दा बढीको सुन्तला उत्पादन भएको अनुमान छ । देवघाट गाउँपालिकाका कृषि तथा पशु शाखाका प्रमुख पूर्णचन्द्र अधिकारीले ल्हुंग्र्रीङ गाउँ देवघाटकै सुन्तलाको पकेट क्षेत्र रहेको जानकारी दिए । उनले यहाँका कृषकले सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दै आएको जानकारी दिँदै भने, ‘हरेक घरमा सुन्तला छ, कति बिक्री भयो भन्नेचाहिँ तथ्यांक आउन बाँकी छ ।’

कृषि ज्ञान केन्द्र तनहुँका अनुसार भने गत वर्षभन्दा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । गत वर्ष आठ हजार पाँच सय मेट्रिक टन सुन्तला उत्पादन भएकामा यस वर्ष आठ हजार मेट्रिक टन मात्रै सुन्तला उत्पादन भएको केन्द्र प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । ‘उपयुक्त मौसम नभएकाले यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ’, उनले भने– ‘१५ प्रतिशत कम उत्पादन भएको प्रारम्भिक तथ्यांक छ ।’ तिवारीका अनुसार यस वर्ष करिब २३ करोड रुपैयाँबराबरको सुन्तला उत्पादन भएको छ । जिल्लाको एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको छ । जिल्लाको म्याग्दे गाउँपालिका–२ र ३ मा सबैभन्दा बढी सुन्तला उत्पादन हुने गरेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया