Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारधितोपत्र बोर्डद्वारा ब्रोकर कमिसनमा व्यापक कटौती

धितोपत्र बोर्डद्वारा ब्रोकर कमिसनमा व्यापक कटौती

आजबाट नयाँ दर लागू, कमिसन ०.०२ देखि ०.४० प्रतिशतसम्म


काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन (सेयर खरिद, बिक्री गरेबापत सेयर दलाल कम्पनीहरुले लिने कमिसन)मा व्यापक कटौती गरेको छ । बोर्डले आज आइतबारदेखि नै पूर्णरुपमा कार्यान्वयनमा आउने गरी कमिसन दर शून्य दशमलव शून्य दुुई प्रतिशतदेखि शून्य दशमलव ४० प्रतिशतसम्म कायम गरेको छ । ‘पछिल्लो समय नेपालको धितोपत्र बजारमा ८५ प्रतिशतभन्दा बढी कारोबार अनलाइनमार्फत हुने गरेकोे तथा दैनिक कारोबार परिमाणमा बढोत्तरी हुँदै गइरहेको अवस्थालाई मध्यनजर गर्दै ब्रोकर कमिसन घटाएका हौँ’, नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले भने ।

प्रवक्ता गिरीका अनुसार धितोपत्र दलाल व्यवसायीले लिने सेवा शुल्कमा पुनरवलोकन गरी समसामयिक बनाउन धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ (तेस्रो संशोधन) को नियम ३२(१) बमोजिम धितोपत्र दलाल व्यवसायीले धितोपत्र कारोबार सेवा उपलब्ध गराएबापत ग्राहकबाट प्राप्त गर्ने शुल्कसम्बन्धी विद्यमान अनुसूची–१४ को सट्टामा आज अर्थात् पुस १२ गतेदेखि नै कार्यान्वयनमा आउने गरी नयाँ दर तोकिएको हो ।

संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा धितोपत्र दलाल व्यवसायी सेवा शुल्कबापत लिन पाउने सेवाशुल्क ५० हजार रुपैयाँसम्मको कारोबारमा शून्य दशमलव ४० प्रतिशत कमिसन दर तोकिएको प्रवक्ता गिरीले बताए । ५० हजारदेखि माथि पाँच लाख रुपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३७ प्रतिशत, पाँच लाख रुपैयाँदेखि माथि २० लाख रुपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३४ प्रतिशतको दरमा ब्रोकर कमिसन तोकिएको छ ।

प्रवक्ता गिरीका अनुसार २० लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३० प्रतिशत र एक करोडदेखि माथिको कारोबारमा शून्य दशमलव २७ प्रतिशतको दरमा ब्रोकर कमिसन तोकिएको छ । नेपाल सरकार वा नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र तथा सस्थागत ऋणपत्रको खरिदबिक्री कारोबारमा धितोपत्र दलालीबापत लिन पाउने सेवा शुल्क भने पाँच लाख रुपैयाँसम्मको कारोबारको लागि शून्य दशमलव १० प्रतिशत तोकिएको छ । पाँच लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको कारोबारको लागि शून्य दशमलव शून्य पाँच प्रतिशत तोकिएको छ र पाँच लाख रुपैयाँदेखि माथिको जतिसुकै रकम कारोबारको हकमा शून्य दशमलव शून्य दुई प्रतिशत ब्रोकर कमिसन तोकिएको प्रवक्ता गिरीले बताए ।

संगठित संस्था र सरकारी ऋणपत्रबाहेक सामूहिक लगानी कोषको इकाइ तथा अन्य धितोपत्रको हकमा धितोपत्र दलालीबापत लिन पाउने सेवा शुल्क पाँच लाख रुपैयाँसम्मको कारोबारको लागि शून्य दशमलव १५ प्रतिशत तोकिएको छ । प्रवक्ता गिरीका अनुसार पाँच लाखदेखि ५० लाख रुपैयाँसम्मको कारोबारका लागि शून्य दशमलव १२ प्रतिशत र ५० लाखदेखि माथिकै जतिसुकै रकम कारोबारको हकमा शून्य दशमलव १० प्रतिशत कमिसन तोकिएको छ ।

धितोपत्र दलालले ग्राहकबाट पाउने सेवा शुल्क भने १० रुपैयाँभन्दा तोकिएको छ । प्रत्येक आर्थिक वर्ष समाप्त भएको एक महिनाभित्र उक्त आर्थिक वर्षमा धितोपत्र दलालले प्राप्त गरेको कुल सेवा शुल्कको शून्य दशमलव छ प्रतिशत रकम नियमन शुल्कको रुपमा बोर्डलाई बुझाउनुपर्नेछ । दलालले कारोबार सेवा प्रदान गरेबापत लिने सेवा शुल्कबाहेक अतिरिक्त रकम ग्राहकबाट लिन सक्नेछैन, धितोपत्र व्यापारीले धितोपत्र कारोबार दस्तुरबापत कारोबार रकमको शून्य दशमलव शून्य दुई प्रतिशत रकम धितोपत्र बजारमा बुझाउनुपर्ने बोर्डले जनाएको छ ।

धितोपत्र बजारको सुधार तथा विकासका क्रममा धितोपत्र दलाल व्यवसायीले सानो रकमको कारोबार गर्ने साना लगानीकर्ताहरुलाई कारोबार सेवाबापत लिँदै आएको न्यूनतम शुल्कमा ६० प्रतिशत, सरकारी तथा संस्थागत ऋणपत्र, सामूहिक लगानी कोषको इकाइ तथा अन्य धितोपत्रको खरिद तथा बिक्री कारोबारमा लिँदै आएको शुल्कमा ५० प्रतिशत र संगठित संस्थाको सेयरको खरिद तथा बिक्री कारोबारमा लिँदै आएको शुल्कमा ३३ प्रतिशतसम्म कम हुने गरी गरिएको प्रवक्ता गिरीले बताए ।

‘यो पुनरवलोकनबाट सेयर, ऋणपत्र, सामूहिक लगानी योजनालगायत अन्य धितोपत्रको कारोबारमा वृद्धि हुनुका साथै नयाँ लगानीकर्ताहरु समेत बजार प्रवेशका लागि प्रोत्साहित हुने र यसबाट समग्र धितोपत्र बजार गतिशील एवं प्रतिस्पर्धी हुने अपेक्षा हामीले गरेका छौँ’, प्रवक्ता गिरीले भने ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया