Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारइन्धनबाट सरकारलाई ६६ अर्ब राजस्व

इन्धनबाट सरकारलाई ६६ अर्ब राजस्व


काठमाडौं ।
नेपाल आयल निगमले एक वर्षको अवधिमा करिब १३ अर्ब रुपैयाँ नाफा कमाएको छ । पेट्रोलियम पदार्थको कारोबार गरेर निगमले एक वर्षको अवधिमा १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको हो । कोराना भाइरस (कोभिड१९)को प्रभावले इन्धन खपत कम हुँदा पनि निगमले उक्त रकम नाफा कमाएको हो । निगमले आइतबार सार्वजनिक गरेको अन्तिम लेखा परीक्षण प्रतिवेदनअनुसार, मोतिहारी अमलेखगञ्ज पेट्रोलयम पाइपलाइनबाट इन्धन आयात गरी ढुवानी रकम बचत हुनुका साथै अघिल्ला वर्षको नाफा रकमको ब्याज आम्दानी बढेपछि निगमको नाफा बढेको हो ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार ब्याज आम्दामी, ढुवानी खर्चमा भएको बचत तथा एलपीजी ग्यासमा दिँदै आएको अनुदान घटेका कारण आर्थिक वर्ष २०७६/०७७ मा निगमको नाफा बढेर १२ अर्ब ८७ करोड पुगेको हो । समग्रमा निगमले पाँच प्रतिशतको हाराहारीमा मुनाफा आर्जन गरेको पौडेलको भनाइ छ । पछिल्लो समय निगमले अवलम्बन गरेका सुधारका कार्यक्रमका कारण पनि नाफा बढ्न सहयोग पुगेको निगमको भनाइ छ ।

निगमले आर्थिक वर्ष २०७५/०७६मा ८ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको थियो । लामो समयदेखि ऋणमा रहेको निगमले आर्थिक वर्ष २०७४/०७५ तीन अर्ब ५८ करोड नाफा आर्जन गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा पछिल्ला वर्ष इन्धनको मूल्य घट्नु र निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै गएपछि निगमले नाफा कमाउँदै आएको छ । इन्धनको ढुवानी रकम बचत हुनुका साथै अघिल्लो वर्षको नाफा रकमको ब्याजबाट पनि नाफा बढाउन सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ । १० महिनाको अवधिमा पाइपलाइनबाट डिजेल ढुवानी गर्दा १ अर्ब ४७ करोड बचत भएको प्रतिवेदनमा उल्लेख छ । साथै गत वर्षको नाफा रकमको बैंक ब्याजबाट मात्र १ अर्ब ७७ करोड रुपैयाँ आम्दानी भएको निगमको भनाइ छ ।

भण्डारण क्षमता वृद्धिदेखि दोस्रो पाइपलाइनको योजना अघि सारेको निगमले अघिल्लो वर्षको नाफा रकम विभिन्न वाणिज्य बैंकमा राखेको थियो । निगमका अनुसार नाफा रकम पूर्वाधार विकासमा खर्च गर्दै निगमलाई अघि बढाइने योजना छ । निगमले पहिलो पटक नेपाल फाइनान्सियल रिपोर्ट स्ट्यान्डर्डअनुसार (एनएफआरएस) अनुसार ब्यालेन्स शिट तयार गरेको जनाइएको छ । आर्थिक वर्ष २०७०/०७१ मा प्रतिलिटर १ सय ३४ रुपैयाँ रहेको पेट्रोलको मूल्य आव ०७६/०७७ को असार मसान्तसम्म घटेर एक सय २ रुपैयाँमा झरेको थियो । यस्तै सो अवधिमा एक सय पाँच रुपैयाँ रहेको डिजेलको मूल्य घटेर ८८ रुपैयाँमा झरेको थियो ।

निगमले अन्तर्राष्ट्रिय मूल्यअनुसार इन्धनमा स्वचालित मूल्यअनुसार स्थानीय बजारमा मूल्य समायोजन गर्दै आएको छ । निगमले इन्डियन आयल कर्पाेरेसन (आईओसी) ले पठाएको मूल्यअनुसार निगमले स्थानीय बजारमा मूल्य समायोजन गर्ने गर्छ । निगमले आर्थिक वर्ष २०७५/०७५ मा २९ करोड रहेको चुक्ता पुँजीलाई १० अर्ब पुँजी वृद्धि गरेर ११ अर्ब पु-याएको थियो । आर्थिक वर्ष ०७५/०७६ मा निगमले नाफा रकमबाट २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

आर्थिक वर्ष २०७६/०७७ मा नाफा रकमबाट सेयर सदस्यलाई २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । अर्थ मन्त्रालय, उद्योग वाणिज्य आपुर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको सेयर छ । निगमका सरकारको ९९ प्रतिशत सरकारको सेयर रहेको छ ।

गत वर्ष निगमले इन्धनको कारोबार गरेर सरकारलाई ६६ अर्ब ८८ करोड रुपैयाँ राजस्व बझुाएको छ । गत वर्ष निगमले दुई खर्ब ५ अर्ब रुपैयाँबराबरको २५ लाख किलोलिटर इन्धन आयात गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले कमी हो ।

विश्वभर फैलिएको कारोना भाइरस(कोभिड१९)को प्रभावका कारण इन्धनको आयातमा समेत कमी अएको निगमले जनाएको छ । सरकारलाई सबैभन्दा धेरै राजस्व बुझाउनेमा निगम अग्रस्थानमा छ । निगमले उपभोक्ताबाट विभिन्न शीर्षकमा उठाउँदै आएकोमध्ये सडकमर्मत शुल्कबाट पाँच वर्षको अवधिमा ४ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । यस्तै प्रदूषण करबाट २ अर्ब ९४ करोड, पूर्वाधार विकास करबाट १३ अर्ब ९८ करोड रुपैयाँ जम्मा भएको छ ।

निगमले अन्तर्राष्ट्रिय मूल्य अनुसार मूल्य सामायोजन गदै आए पनि सीमानाकाभन्दा नेपालमा इन्धनको मूल्य सस्तो रहेको छ । सीमा नाकाभन्दा नेपालमा पेट्रोल ३१ रुपैयाँ ८४ पैसा र डिजेल ३७ रुपैयाँ २६ पैसा नाफा छ । हाल पेट्रोल प्रतिलिटर एक सय ६ र डिजेल ८९ रुपैयाँ मूल्य रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया