Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालमा चिनियाँ चासो

नेपालमा चिनियाँ चासो

राजनीतिसँगै राष्ट्रपतिको भ्रमणको बेला गरिएका सम्झौता र प्रतिबद्धता कार्यान्वयन के हुन्छ ?


काठमाडौं ।
नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले नेकपाको राजनीतिको साथै गत वर्ष चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणको बेला भएका नेपालको आर्थिक तथा पूर्वाधार विकासलगायतका विभिन्न सम्झौता र समझारीको कार्यान्वयनको भविष्यबारे स्पष्टता खोजेको छ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तथा त्यसअघि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेलामा विभिन्न सम्झौता भएका थिए । पहिलोपटक केपी ओली प्रधानमन्त्री भएका बेला गरिएका सम्झौता पनि कार्यान्वयन नभइरहेको बेला चीनले पटक–पटक चासो लिएको छ । ओली पहिलोपटक प्रधानमन्त्री भएको बेला गरिएका विभिन्न सम्झौता उनी सत्ताबाट हटेपछि अन्य दलले बेवास्ता गरेको कारण चीनले नेपाली कांग्रेस र प्रचण्ड नेतृत्वको दलप्रति आशंका गरिरहेको छ ।

नेपाल भ्रमणको क्रममा गत वर्ष चीनका राष्ट्रपतिले टोखा (काठमाडौं)–छहरे (नुवाकोट) र छहरे वेत्रावती सुरुङमार्ग निर्माणमा चिनियाँ सहयोगको प्रतिबद्धता गर्नुको साथै अन्य सहयोग पनि घोषणा गरेका थिए । त्यतिबेला नेपाल र चीनबीच विभिन्न सम्झौता पनि भएका थिए । तर, त्यसको कार्यान्वयन सुरु हुने बेला कोभिड–१९ ले अहिलेसम्म कुनै पनि योजना सुरु भएको छैन । त्यस्तै चीनले ल्हासा–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गबारे पनि अध्ययन गरिरहेको छ ।

चीनले अन्य सम्झौताको साथै आफ्ना राष्ट्रपतिले व्यक्त गरेको प्रतिबद्धताअनुसारको काम थाल्ने तयारी गरेको बेला नेपालमा राजनीतिक अस्थिरता सुरु भएको छ । नेकपाको विवाद मिलाउने चीनले पटक–पटक प्रयास गरे पनि सफल नभएपछि राष्ट्रपतिले नै टोली पठाएको अनुमान गरिएको छ । भारतीय सञ्चार माध्यमहरुले पनि चिनियाँ टोलीको उद्देश्य नेकपाको विभाजन रोक्नु रहेको जनाएको छ ।

चीनले विश्वास गरेको नेकपा विभाजनको छिनोफानो निर्वाचन आयोगले गर्न लागेकै बेला प्रतिनिधिसभा विघटनको मुद्दा पनि सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ । नेकपा विभाजन भएपछि फेरि नेपालमा राजनीतिक अस्थिरता आउने र यसले चिनियाँ सहयोग प्रभावित हुने देखिएपछि चीनले नेकपाको विभाजनप्रति विशेष चासो राखेको स्रोतको दाबी छ । स्रोतका अनुसार आइतबार नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ ए चौ नेतृत्वको चार सदस्यीय टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरी नेकपा विभाजनबारे गम्भीर चासो लिनुको साथै चीन र नेपालबीच विकास कार्य अगाडि बढाउन भएका विभिन्न सम्झौताको विषयमा पनि चासो लिएको स्रोतको दाबी छ ।

चिनियाँ टोलीले सोमबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने तय भएको छ । चिनियाँ टोलीले केपी ओली समूहसँग टुक्रिएर गएको पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालसँग पनि सोमबार नै एकल र सामूहिक भेट वार्ता गर्ने तयारी पनि गरेको छ । चिनियाँ टोली एयर चाइनाको चार्टर्ड विमानबाट आइतबार नेपाल आएको हो । नेकपाको विवादमा चिनियाँ राजदूत होउ याङ्छीको पनि विशेष चासो रहँदै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया