Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअमेरिकासँग आर्थिक कूटनीति सुदृढ गर्ने र लगानी जुटाउने मुख्य प्राथमिकता

अमेरिकासँग आर्थिक कूटनीति सुदृढ गर्ने र लगानी जुटाउने मुख्य प्राथमिकता


काठमाडौं ।
अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले आर्थिक कूटनीति सुदृढ गर्ने र अमेरिकाबाट निजी तथा बहुपक्षीय लगानी जुटाउने कुरा आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन् । अमेरिकामा कार्यभार सम्हाल्न जानुअघि नेपाल उद्योग परिसंघसँगको अन्तर्क्रियामा राजदूत डा. खतिवडाले अन्य क्षेत्र तथा देशका लगानीकर्तालाई विश्वास दिलाउन पनि अन्तर्राष्ट्रिय सद्भाव वृद्धि गर्नु आफ्नो प्राथमिकता रहेको बताए ।

अमेरिकाले केही वस्तुहरुमा दिएको व्यापार सहुलियतको दायरा विस्तार गर्ने, सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउँदै डिजिटल इकोनोमी निर्माणमा सहयोग खोज्ने तथा अमेरिकास्थित बहुराष्ट्रिय वित्तीय संस्थाहरु विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ठूला परियोजनामा लगानी भित्र्याउने कामलाई प्राथमिकतामा राखेको खतिवडाले उल्लेख गरे ।

राजदूत खतिवडासँगको अन्तर्क्रियामा नेपाल उद्योग परिसंघले संयुक्त राज्य अमेरिका र नेपालबीचको आर्थिक साझेदारी बढाउन तथा द्विपक्षीय व्यापार प्रवर्द्धनका लागि भूमिका खेल्न राजदूत खतिवडासँग आग्रह गरेको छ । राजदूत खतिवडासँगको अन्तर्क्रियामा परिसंघका अध्यक्ष सतिशकुमार मोरले परिसंघले आर्थिक कूटनीतिलाई उच्च महत्व दिँदै आएको बताए । डा खतिवडाको राजदूतको कार्यकालमा नेपालको आर्थिक विकासका लागि लगानी तथा व्यापार प्रवर्द्धन गर्न अमेरिकी पुँजी तथा प्रविधि भित्र्याउन ठूलो सहयोग पुग्ने विश्वास परिसंघले लिएको उनको भनाइ छ ।

अमेरिकातर्फ निर्यात बढाउन बजार सहुलियतका वस्तुको सूची निकै कम रहेको र त्यसको निर्यातमा पनि समस्या रहेकाले आवश्यक कर तथा बजार प्रवेशका सहुलियतका लागि थप प्रयास गर्न, अमेरिकी लगानी भित्रा्एर अर्थतन्त्रको आधुनिकीकरण गर्न पनि राजदूत खतिवडाले थप भूमिका निर्वाह गर्नेमा विश्वस्त रहेको पनि अध्यक्ष मोरले उल्लेख गरे । परिसंघले राष्ट्रिय औद्योगिकीकरणको विस्तारको लागि ‘नेपालमा उत्पादन गरौँ (विल्ड इन नेपाल)’ अभियानलाई परिसंघले अघि बढाएको जानकारी गराउँदै यसबाट लगानी वातावरणको सन्देश दिएर स्वदेशी तथा विदेशी लगानी भित्र््याउन सहयोग पुग्ने उनले बताए ।

कार्यक्रममा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले प्रविधिका क्षेत्रमा अमेरिकी लगानी भित्र्याउने, तयारी पोशाकको अमेरिकी बजार पहुँचका लागि थप प्रयास गर्ने, अमेरिका अध्ययन गरिरहेका नेपाली विद्यार्थीलाई नेपालमै अवसर देखाउनेतर्फ राजदूत खतिवडाको सक्रिय भूमिकाको अपेक्षा गरिएको बताए । परिसंघका उपाध्यक्ष अनुज अग्रवालले वातावरण संरक्षणमा अमेरिकी लगानी बढ्ने देखिएकाले त्यसलाई नेपालले पनि प्राप्त गर्न अहिलेदेखि प्रयास गर्नुपर्नेमा ध्यान पु-याउन आग्रह गरे । राजदूत डा. खतिवडासँगको अन्तर्क्रियामा परिसंघका उपाध्यक्षहरु सुलभ अग्रवाल र वीरेन्द्रराज पाण्डेले पनि आर्थिक कूटनीतिको माध्यमद्वारा द्विपक्षीय व्यापार विस्तारमा राजदूत खतिवडाको सक्रियता बढ्ने विश्वास लिएको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया