Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिजी आवासतर्फ ८० प्रतिशत प्रगति

निजी आवासतर्फ ८० प्रतिशत प्रगति


चितवन ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ चितवनले निजी आवास निर्माणतर्फ ८० दशमलव ३७ प्रतिशत प्रगति भएको जनाएको छ । प्राधिकरणको छैटौँ स्थापना दिवसको अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा कार्यालयले सो जानकारी गराएको हो ।

कार्यालयका इन्जिनयर सुजन नेपालका अनुसार जिल्लामा रहेका सात हजार आठ सय ६० लाभग्राहीमध्ये छ हजार ४१ लाभग्राहीले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ताबापतको एक लाख रुपैयाँ समेत लिइसकेका छन् । यस्तै दोस्रो किस्ताबापतको एक लाख ५० हजार रुपैयाँ छ हजार पाँच सय २६ लाभग्राहीले र पहिलो किस्ताबापत ५० हजार रुपैयाँ सात हजार पाँच सय १६ लाभग्राहीले लिइसकेका छन् ।

प्रबलीकरणतर्फ हालसम्म प्रथम किस्ताबापतको ५० हजार रुपैयाँ बुझ्ने एक हजार दुर्ई सय ६२ लाभग्राहीमध्ये नौ जनाले दोस्रो किस्ताबापतको रकम ५० हजार रुपैयाँ समेत बुझिसकेका छन् । प्रबलीकरणका लागि एक हजार तीन सय ७८ लाभग्राही रहेका छन् । नेपालका अनुसार कार्यालयसँग निजी आवासतर्फ तीन सय ४४ र प्रबलीकरणतर्फ एक सय १६ जना लाभग्राहीसँग सम्झौता हुन सकेको छैन । ती लाभग्राहीको नाम सूचीबाट हटाउनका लागि सिफारिस गरिएको छ ।

नाम दोहोरिएका, वडामा समेत सम्पर्कमा नआएका, बसाइँ सरी अन्यन्त्र गएका, घर पुनर्निर्माण नगर्ने सोचमा रहेका लाभग्राहीका कारण सम्झौता गर्न नआएको नेपालले बताए । पहिलो किस्ता लिएका दोस्रो किस्ता लिन नआउने लाभग्राही छ सय ३३ जना, तेस्रो किस्ता लिन नआउने चार सय चार लाभग्राही रहेका छन् । स्थानीय निकायको समन्वयको कमीका कारण किस्ता लिन आउन नचाहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनका इन्जिनीयर सुवास न्यौपानेले बताए । कार्यालयमा प्रथम किस्ता रकम फिर्ता गर्ने दुई जना रहेका छन् । यसै क्रममा दुई सय ३३ डकर्मी उत्पादन गरिएको कार्यालयले जनाएको छ । पहिलो किस्ताको सम्झौता गर्नका लागि प्राधिकरणले यही पुस १५ गतेसम्मका लागि समय दिएको नेपालले जानकारी दिए ।

यस्तै सोही अवधिमा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)तर्फ हालसम्म एक सय ७९ वटा विद्यालय भवन बनेका छन् । पाँच सय ७४ वटा कक्षाकोठा निर्माण भएको शिक्षाका इन्जिनियर सरोज श्रेष्ठले जानकारी दिए । शौचालय एक सय चारवटा र खानेपानी ५१ वटा निर्माण गरिएको छ । उनका अनुसार जिल्लाका दुई सय ३३ वटा विद्यालयमा सात सय ४० कक्षाकोठा क्षति पुगेको थियो । विद्यालयको भवन निर्माणतर्फ ५६ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया