Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसोलुखुम्बुमा दुई कर्मचारी आवासगृह प्रयोगविहीन

सोलुखुम्बुमा दुई कर्मचारी आवासगृह प्रयोगविहीन


सोलुखुम्बु ।
सोलुखुम्बुमा निर्माण भएका दुईवटा कर्मचारी आवासगृह प्रयोगविहीन बनेका छन् । जिल्लामा करिब ३ वर्षअघि निर्माणसम्पन्न भएको सल्लेरीस्थित जेरोपोएन्ट नजिकैको दुईतले आरसीसी भवन र डेढ वर्षअघि निर्माणसम्पन्न भएको थापागाउँमा निर्माण गरिएको कर्मचारी आवासगृह प्रयोगविहीन बनेको हो ।

सल्लेरीस्थित तत्कालीन जिल्ला आयुर्वेद कार्यालयनजिकै निजामति कर्मचारीको आवासका लागि निर्माण गरिएको सुविधासम्पन्न दुईतले कर्मचारी आवासगृह प्रयोगविहीन अवस्थामा रहेको छ । ७८ लाखको लागतमा निर्माण गरिएको सो आवासगृह सहरी विकास तथा भवन कार्यालय ओखलढुंगा मातहतमा रहेको भए पनि हालसम्म प्रयोगमा नआएको हो ।

भवन सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयलाई बुझाएको भए पनि हालसम्म प्रयोगमा नआएपछि सहरी विकास तथा भवन कार्यालय ओखलढुंगाको शाखा खोल्ने तयारी गरिएको भवन सहरी विकास तथा भवन कार्यालय ओखलढुंगाका सूचना अधिकारी अनुज श्रेष्ठले जानकारी दिए । त्यस्तै सल्लेरीकै थापा गाउँमा एक वर्षअघि एक करोड ९८ लाखको लागतमा निर्माण गरिएको अर्को भवन पनि प्रयोगविहीन अवस्थामा रहेको छ ।

सोलुदुधकुण्ड नगरपालिकालाई कोरोना महामारीको समयमा क्वारेन्टीनका लागि दिइएको भए पनि निर्माणसम्पन्न भएको एक वर्ष बितिसक्दा दुईतले २४ कोठा रहेको कर्मचारी आवासगृह सञ्चालनमा नरहेको पाइएको हो । यो भवन निर्माण कम्पनीबाट भवन सहरी विकास तथा भवन कार्यालय ओखलढुंगाले जिम्मा लिएको भए पनि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुलाई हस्तान्तरण गर्न बाँकी रहेको छ ।

निर्माण गरिएको कर्मचारी आवास गृह जिल्ला प्रशासन कार्यालयलाई जिम्मा नदिँदा सञ्चालनका लागि समस्या भएको बताइएको छ । तत्कालीन जिल्ला आयुर्वेद केन्द्र नजिकै निर्माण भएको भवन सहरी विकास तथा भवन कार्यालय ओखलढुंगाले जिल्ला प्रशासनलाई बुझाएको दाबी गरे पनि जिम्मा नलिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले बताए । दुवै भवन सञ्चालनका लागि अनुमति भने माग गरिएको शाहीको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया