Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबक्यौता नपाउँदै उखु किसानको निधन

बक्यौता नपाउँदै उखु किसानको निधन


काठमाडौं ।
उखुको बक्यौता रकम लिनका लागि आन्दोलन गर्दै आएका उखु किसान नारायण भगत यादवको मंगलबार बिहान निधन भएको छ । ६४ वर्षीय भगतको मंगलबार बिहान उपचारको क्रममा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारको क्रममा मृत्यु भएको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताए । उखु किसानको बक्यौता रकम एकीन गर्न सरकारले प्राविधिक समिति गठन गर्ने र सो समितिले एक सय २० दिनमा मात्र बक्यौता एकीन गर्ने भएपछि संघर्षरत किसानहरू थप पीडित भएका छन् ।

बिहान शौचालयमा बेहोस अवस्थामा भेटिएका भगतलाई उपचारको लागि हेल्पिङ ह्याण्ड अस्पताल, चाबहिलमा लगिएको थियो । उनीसँगै रहेका साथीको भनाइ उद्धत गर्दै मिश्रले भने, ‘उक्त अस्पतालले उनलाई गंगालाल रिफर गरेको थियो । गंगालालमा उपचार गराउने क्रममा उनको निधन भएको हो । रकम नपाएको कारण चिन्तित भएको बताउँदै संरक्षक मिश्रले मुटुको समस्याको बारेमा आफूलाई जानकारी नपाएको बताए । ‘स्वास्थ्य समस्या बारेमा परिवारजनलाई थाहा होला म अनभिज्ञ छु’, उनले भने, ‘यादव मंसिर ३० गते आन्दोलनमा सहभागी हुन काठमाडौं आएका थिए । त्यतिखेर स्वास्थ्यमा समस्या थिएन । रकम नपाएपछि चिन्तित हुनु स्वाभाविक हो ।’

उखु किसान संर्घष समितिका अध्यक्ष रामस्वार्थ राय यादवले किसानहरू अर्थात् यादव सरकारसँग भएको सम्झौताले सन्तुष्ट नरहेको बताए । ‘उनीहरू रकम लिएर जाने आशामा आन्दोलनमा सहभागी भएका थिए तर नगद केही समयभित्र उपलब्ध गराउने सरकारी प्रतिबद्धताले उनीहरूलाई खुसी बनाएन’, उनले भने, ‘यादवले सरकारले सम्झौताभन्दा पनि नगद नै उपलब्ध गराउनुपर्ने भन्दै आएका थिए ।’
किसानहरूलाई सरकारले यसअघिको सम्झौता कार्यान्वयन नगरेको कारण अहिलको सम्झौतामा पनि पूर्ण विश्वास छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार किसानहरूसँग बक्यौता रकम २१ दिनभित्र उपलब्ध गराउने लगायतका ४ बुँदे सम्झौता गरेको थियो ।

यादवले उखुको बक्यौताबापत कुल २४ लाख ६३ हजार पाउनुपर्ने थियो । चिनी मिलले एक लाख ६० हजार दिएका थिए भने सो रकमबाट उनले ४९ हजार ऋण तिरेका थिए । उखु खेती गर्ने क्रममा उनी १८ लाख ऋणमा डुबेका थिए । संरक्षक मिश्रले यादवले १४ लाख ऋण तिर्न बाँकी रहेको बताएका छन् । ‘उनको ऋण तिर्न बाँकी छ, सरकारले उचित क्षतिपूर्ति नदिएसम्म दाहसंस्कार गर्नेछैनौँ’, उनले भने । आन्दोलनमा सहभागी हुन आएका यादव चाबहिल स्थित आन्दोलनमा सहभागी हुन आएका साथीहरूसँग कृष्णप्रणमी आश्रममा बस्दै आएका थिए । उनका दुई छोरा छन् ।

यस्तै मन्त्रालयले उखु किसानलाई ३३ करोड बक्यौता भुक्तानी गरेको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले श्रीराम सुगर मिल, अन्नपूर्ण सुगर मिल र लुम्बिनी चिनी मिलले क्रमशः २६ करोड ११ लाख, ५ करोड २६ लाख र दुई करोड भुक्तानी गरिसकेको बताए । उनीहरूले आन्दोलन सुरु भएयता सो रकम दिएको उनको भनाइ छ ।

सम्झौताअनुरुप अन्य मिलहरूले भने २१ दिनभित्र भुक्तानी गर्नेछन् । मन्त्रालयका अनुसार श्रीरामले ३५ करोड, लुम्बिनीले ८ करोड ४१ लाख, इन्दिराले ४ करोड ७० लाख र अन्नपूर्ण मिलले १७ करोड रुपैयाँ सम्झौताअनुरुप उखु किसानलाई तिर्नेछन् । एक वर्षअघि काठमाडौंमा सुरु भएको उखु किसानको आन्दोलन सरकारी पक्षसँगको सम्झौतासँगै सोमबार आन्दोलन टुंगिएको थियो । यसअघिका सम्झौता कार्यान्वयन नभएको कारण अहिले पनि ढुक्क हुने अवस्था नरहेको संरक्षक मिश्रले बताए ।

उखु किसानहरूले ०७६ चैतमा उखुको बक्यौता रकम माग गर्दै माइतीघरमा रिले अनशन बसेका थिए । त्यसपछि क्रमशः रुपमा उनीहरूले रकमको लागि सरोकारावालाहरूसँग भेट्ने तथा आन्दोलन गर्दै आएको पाइन्छ । कृषि प्रधान मुलुक भने पनि मुलुकमा कृषकहरू सधैँजसो समस्यमा पर्ने गरेका छन् । उखु किसान मात्र नभई अन्य किसानहरू पनि समयमा बीउ बीजन, मललगायतका सामग्रीको अभाव तथा उत्पादनपछि पनि बिचौलिया हावी हुने प्रवृत्तिले मारमा पर्ने गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया