Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविद्युुतीय ग्रिडको लागि एडीबीसँग १८ अर्ब २५ करोड ऋण लिने सम्झौता

विद्युुतीय ग्रिडको लागि एडीबीसँग १८ अर्ब २५ करोड ऋण लिने सम्झौता


काठमाडौं ।
विद्युुतीय ग्रिडको लागि एडीबीसँग १८ अर्ब २५ करोड रुपैयाँ ऋण लिने सम्झौता भएको छ । अर्थ मन्त्रालयका अनुसार नेपालको विद्युतीय ग्रिड आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडीबी) सँग १८ अर्ब २५ करोड रुपैयाँ अर्थात् अमेरिकी डलर १५६ मिलियन बराबरको ऋण सम्झौतामा हस्ताक्षर भएको हो ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका अफिस इन्चार्ज रुडी भ्यान डेलले हस्ताक्षर गरेका हुुन् । सहसचिव नेपालले विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनाको विद्युत् प्रसारण एवं वितरण प्रणालीमा सुधार गर्ने, विद्युत् ग्रिडको आधुनिकीकरण गरी विद्युत् आपूर्तिलाई दिगो र भरपर्दो बनाउने र नेपाल विद्युत् प्राधिकरणको क्षमता विकास एवं सुदृढीकरण गर्ने उद्देश्य रहेको जानकारी दिएका छन् ।

विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनाको कुल लागत करिब २२ अर्ब ८१ करोड रुपैयाँ (अमेरिकी डलर १९५ मिलियन बराबर) रहेकोमा १८ अर्ब २५ करोड एसियाली विकास बैंक र बाँकी चार अर्ब ५६ करोड रुपैयाँ (अमेरिकी डलर ३९ मिलियन बराबर) नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको स्रोतबाट व्यहोरिनेछ ।

विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनाबाट विद्युत् चुहावटका कारण हुने ऊर्जा नोक्सानीलाई न्यूनीकरण गरी बचत हुने ऊर्जा छिमेकी मुलुकमा समेत निर्यात गर्न सकिने र यसबाट देशको आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने अर्थ मन्त्रालयले जनाएको छ । यो आयोजनाको कार्यान्वयन गर्ने निकाय नेपाल विद्युत् प्राधिकरण हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया