Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगोरखापत्रमा व्यापक भ्रष्टाचार गरेको आरोप

गोरखापत्रमा व्यापक भ्रष्टाचार गरेको आरोप


काठमाडौं ।
सरकारको मुखपत्र प्रकाशन गर्ने गोरखापत्र संस्थानमा दुई तिहाइ बहुमत निकटको सरकार विघटन हुनुअगावै नियुक्त पदाधिकारीहरुले व्यापक भ्रष्टाचार गरेको आरोप लागेको छ । संस्थानमा हालमुहाली गर्दै आएका केही कर्मचारीहरुले आर्थिक अनियमितता, आफूखुसी नियुक्तलगायतका नियमविपरीत काम गरेको आरोप लगाउँदै उनीहरुको नाममा राष्ट्रिय सतर्कता केन्द्रमा भ्रष्टाचार र अनियमिततामा कारबाही गरिपाऊँ भनी उजुरी परेको थाहा भएको छ ।

केन्द्रमा परेको उजुरीमा संस्थानका कार्यकारी अध्यक्ष कुष्णमुरारी भण्डारी, तत्कालीन व्यवस्थापन सल्लाहकार टीकाराम राई, तत्कालीन कानुनी सल्लाहकार कुमार प्रसाद भट्टराई, प्रशासन विभाग प्रमुख तारा बस्याल, खरिद शाखा प्रमुख मीना अधिकारी समेतको मिलेमतोमा भ्रष्टाचार भएको आरोप लगाइएको छ ।

२४ बुँदे उक्त उजुरीपत्रमा आर्थिक अनियमितता गरेको, दरबन्दीविना नै नियुक्त, तालिमको नाममा भ्रष्टाचार गरेको, निरीक्षणको नाममा फजुल खर्च, मालसामान खरिद गर्दा घोटाला गरेको आरोप लगाउँदै अध्यक्ष भण्डारी, सल्लाहकार राई, कानुनी सल्लाहकार भट्टराई, प्रशासन विभाग प्रमुख बस्याल, खरिद शाखा प्रमुख अधिकारीविरुद्ध केन्द्रमा उजुरी परेको हो ।

केन्द्रमा परेको उजुरीमा संस्थानलाई आवश्यक सीसी क्यामरा, कम्प्युटरलगायतका सामग्र्री खरिद गर्दा विना टेण्डर गरिएको उल्लेख छ । संस्थानमा सीसी क्यामरा राख्ने क्रममा विना टेण्डर ५४ वटा सीसी क्यामरा केन्द्रीय कार्यालय काठमाडौं र २२ वटा प्रदेशस्तरीय प्रशासन कार्यालय विराटनगरमा जडान गर्ने क्रममा अध्यक्ष भण्डारीको संलग्नतामा उनको भान्जालाई जिम्मेवारी दिएको छ तथा आर्थिक वर्ष ०७५/०७६ मा ब्राण्डेड कम्प्युटर किन्ने नाममा विना कोटेसन र टेण्डरमा छुट्टाछुट्टै माग फारम भरी २५ थान कम्प्युटर करिब ३२ लाख रुपैयाँबराबरको खरिद गरिएको उजुरीमा भनिएको छ ।

यस्तै महाप्रबन्धकले प्रयोग गरेको सवारीसाधन (कार) र संस्थानका अन्य सवारीसाधनहरुको मर्मत बाग्मती वर्कशपले गरेकोमा उक्त मर्मत गरेका बिल रकमहरु बढी भयो भनी ०७५ फागुन ६ गते को टिप्पणीअनुसार यथार्थ विवरण छानबिन गर्न कार्यदल गठन भएको र सो कार्यदलले अर्को वर्कशप शक्ति मोटर वर्कशपबाट त्यस्तै सामानहरुको कोटेसन माग गरी बाग्मती अटो वर्कशपको दररेटसँग भिडान गरी विवरण मात्र बनाई प्रतिवेदन दिएको तर बिलको र बढी दररेटको सम्बन्धमा केही पनि उल्लेख नगरेको तर राईको प्रत्यक्ष दबाबका कारण कार्यकारी अध्यक्षले बिलको जम्मा तीन लाख पाँच हजार रकम ०७६ असार १२ को भौचर नम्बर ११३२ बाट ०७६ साउन १३ सदर गरी भुक्तानी दिएको उजुरीमा उल्लेख छ ।

त्यस्तै, विराटनगर प्रकाशनको लागि महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायको पालामा प्रेस लाइन इण्डियामार्फत नेपाल एजेन्ट फाल्गुण सेल्स इन्टरप्राइजेजद्वारा तीन करोड ९८ लाख रुपैयाँ मूल्यको टेण्डर खरिद भएको वेभ अफसेट प्रेस मेसिनको कार्यकारी अध्यक्ष भण्डारीको ०७५ चैत ८ गतेको टिप्पणी फागुन सेल्स इन्टरप्राइजेजको निवेदन र भन्सार प्रज्ञापनपत्र अनुसार उक्त मेसिनको १५ लाख ९५ हजार ५ सय रुपैयाँ भन्सार महसुल रकम द प्रेस लाइन इण्डिया र गोरखापत्र संस्थानबीच भएको सम्झौताविपरीत भुक्तानी गरी अनियमितता भएको उजुरीमा उल्लेख गरिएको छ ।

यसरी उक्त भुक्तानी भएपश्चात् तीन करोड ९८ लाख मूल्यको खरिद भएको छपाइ मेसिनको कुल मूल्य ४ करोड १३ लाख ९५ हजार रुपैयाँ पुगेको छ । तर दोस्रो बोलपत्रदाता कम्पनी श्री रोट अफसेट कर्पोरेसनले ४ करोड ८ लाखमा मेसिन दिने कबुल गरेको थियो । यसअघि यस्तै प्रकृतिको प्रिण्टसेलबाट १ हजार मेट्रिक टनको कागज खरिदमा २६ लाख भन्सार महसुल संस्थानले भुक्तानी दिएकोमा सञ्चार तथा सूचना मन्त्रालयको निर्णयद्वारा विष्णु रिजालको उच्चस्तरीय छानबिन कार्यदलले उक्त २६ लाख भन्सार भुक्तानी रकम अनियमितता भएको भनी प्रतिवेदन बुझाएको थियो र सो कार्यदलको एक जना सदस्य संस्थानको व्यवस्थापन सल्लाहकार राई पनि हुन् ।

उक्त छानबिन कार्यदलको प्रतिवेदन मन्त्रिपरिषद्को निर्णयअनुसार अख्तियार दुरुपयोग अनुसन्धान अयाोगले अनुसन्धान गरी तत्कालीन महाप्रबन्धकहरु सुशील कोइराला र वसन्तप्रकाशविरुद्ध विशेष अदालतमा मुद्दा क्रमशः २६/२६ लाख बिगो जरिवानासहित दायर गरिएको उजुरीमा उल्लेख गरिएको छ । यस्तै केन्द्रलाई लेखिएको पत्रमा छपाइ मेसिनको रकम हिनामिना गरिएको, नयाँ नेपाल प्रकाशनको नाममा आफूअनुकूल कर्मचारी नियुक्त गरिएको तथा फोटो पत्रका चन्द्र शेखर कार्कीले नियमविपरीत गरेको आरोप लगाइएको छ ।

यस्तै नेपाल सरकारको अनुदानद्वारा गोरखापत्र भाषापृष्ठ नयाँ नेपाल प्रकाशनको समीक्षाको नाममा आफूअनुकूलका केही कर्मचारी र केही भाषाविज्ञलाई लिएर काभ्रेको वल्थली रिसोर्टमा एक रात आवासीय कार्यक्रमसहित रक्सी समेतको भोज कार्यक्रम गरेको आरोप लागेको छ । सो क्रममा करिब दुई लाख र सोही कार्यक्रम पेगोडामा भाषा संयोजक, सहसंयोजकहरु र अन्य भाषाविद्हरुलाई अनावश्यक रुपमा एक रात आवाससहित भोलिपल्ट कार्यक्रम गरी ६ लाख अनावश्यक रुपमा फजुल खर्च गरेको उजुरीमा भनिएको छ ।

फोटो पत्रकार चन्द्रशेखर कार्की र कार्यकारी अध्यक्षले नियमविपरीत अनलाइन पोर्टल सदृश्य सञ्चालनमा ल्याउनुको साथै फोटोग्राफीसम्बन्धी तालिम दिने भन्दै अनुदानबाट तीन महिनाको एक लाख ५० हजार रकम र जेठ १५ गते निजलाई थप ६ महिनाको मासिक ५० हजार रुपैयाँ पारिश्रमिकसहित नियुक्ति दिएको र म्याद थप प्रक्रिया समेत अघि बढाएको पाइएको छ ।

यस्तै गोरखापत्र डिजिटल बनाउने नाममा जथाभावी खर्च गरिएको, राई र भण्डारीले आफ्ना आफन्त पर्नेलाई दरबन्दी नै नभई हजारौं तलब दिने गरी नियुक्त गरेको, विराटनगरमा प्रकाशन सुरु गर्ने भन्दै आउजाउको नाममा १० लाख फजुल खर्च गरेको उजुरीमा समावेश गरिएको छ ।

यस्तै उजुरीकर्ताले उनीहरुमाथि अनावश्यक रक्सी पार्टी गरेको, कागजपत्र अन्य दैनिक पत्रिकालाई बेचेको, गोरखापत्र डिजिटल गर्ने नाममा फजुल खर्च गरिएको, विराटनगर कोहलपुर प्रकाशन निरीक्षण भ्रमणको नाममा फजुल खर्च गएिको, प्रदेशस्तरीय प्रकाशन प्रमुखलाई खरिद प्रक्रियामा राईले हस्तक्षेप गरेको, विज्ञापन छपाइमा अनियमितता भएको, बन्दाबन्दीको समयमा कालोसूचीमा राख्नुपर्ने कम्पनीसँग ५ वर्षसम्म पुग्ने गरी मसी खरिद गरिएको आरोप लगाइएको छ ।

उजुरीमा अध्यक्षलगायतका कर्मचारीहरुलाई महिला कर्मचारीहरुलाई जथाभावी बोल्ने आत्मसम्मानमा चोट पु-याउने र दुव्र्यवहार गर्ने काम गरेको समेत विषय उल्लेख गरिएको छ । यसरी सरकारी मुखपत्रको रुपमा रहेको गोरखापत्रमा कार्यरत माथिल्लो तहको कर्मचारीबाट भएका अनियमितता र सुशासनविपरीतका क्रियाकलापको विषयमा केन्द्रलाई पत्रमार्फत जानकारी गराइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया