सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आरएन सप्लायर्सलाई धितोको बढी मूल्यांकन गरी ऋण प्रवाह

काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंकले आरएन सप्लायर्सलाई दिएको कर्जामा कैफियत देखिएको छ । सञ्चालक लक्ष्मी खड्का रहेको सप्लायर्सलाई बैंकले २०७५ कात्तिक १३ गते १९ करोड ९० लाख रुपैयाँ कर्जा दिएको थियो । तर त्यो कर्जाको लागि बैंकले जुुन धितो लिएको थियो, त्यो निकै महंगो थियो । उक्त कर्जाको लागि बैंकले काठमाडौंको बत्तीसपुतलीमा रहेको २५ आना जग्गा धितो लिएको थियो ।
ऋणको लागि बैंक प्रतिआना जग्गाको बजार मूल्य एक करोड ६५ लाख रुपैयाँ कायम ग-यो । जसअनुसार २५ आना जग्गाको मूल्य ३० करोड रुपैयाँ कायम गर्दै आरएन सप्लायर्सको नाउँमा १९ करोड ९० लाख रुपैयाँ कर्जा स्वीकृत गरियो । यसरी बढी मूल्यांकन गरी कर्जा दिएको, उक्त कर्जाको नियमितरुपमा सावाँ ब्याज उठाउनको लागि ऋणीलाई थप ऋण दिएको र ऋण तिर्न नसकेपछि धितोमा रहेको उक्त जग्गा ऋणी समेतको मिलेमतोमा बिक्री गरी दोस्रो पक्षलाई दिएको छ । तर यो विषयमा बैंकका प्रमुख कार्यकारी श्रेष्ठ भने कुनै पनि समस्या नभएको बताउँछन् । ‘बजारमा हल्ला भएजस्तो बैंकको कुनै पनि शीर्षकको कर्जामा समस्या छैन’, प्रमुख कार्यकारी श्रेष्ठले भने ।
बैंकले लक्ष्मी खड्का सञ्चालक रहेको आरएन सप्लायर्सलाई दिएको कर्जा नीति संगत भएको र यसमा कुुनै पनि बदनियत नभएको भन्दै प्रमुुख कार्यकारी श्रेष्ठले जग्गाको प्रचलित बजार मूल्यांकनकै आधारमा कर्जा प्रवाह गरिएको बताए । ‘यदि कसैले कर्जाको बढी मूल्यांकन गरेको भन्छ भने सम्बन्धित ठाउँमा गएर त्यस क्षेत्रको जग्गाको मूल्य बुुझ्दा पनि जग्गाको वास्तविक मूल्य थाहा हुन्छ’, उनले भने । बैंकले सधैँ नेपाल राष्ट्र बैंकको सबै किसिमको नीति निर्देशनहरुलाई अक्षरशः पालना गर्दै स्वच्छ रुपमा वित्तीय सेवा सञ्चालन गर्दै आएको समेत उनले बताए ।
लक्ष्मी खड्कासँग सम्बन्धित कर्जा सेटल भइसकेको र यसमा कुनै समस्या नरहेको समेत उनले प्रष्ट पारे । बैंकका हरेक वित्तीय परिसूचक सबल रहेको समेत प्रमुख कार्यकारी श्रेष्ठले बताए । हाल चुक्ता पुँजी दुुई अर्ब ६० करोड ६६ लाख ४० हजार रुपैयाँ रहेको सांग्रिलाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ३० अर्ब ५१ करोड ४३ लाख छ हजार रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब आठ करोड ८७ लाख ६८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
यस अवधिमा बैंकले तीन करोड १५ लाख १६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव २८ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने बैंकले पाँच करोड ९५ लाख ९३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्दा शून्य दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । ‘गत आवको सोही अवधिमा बैंकमा पाँच दशमलव ४४ प्रतिशतको स्प्रेडदर रहेकोमा अहिले यस्तो स्प्रेडदर घटाएर चार दशमलव ९७ प्रतिशतमा सीमित राखेका छौँ । यदि हाम्रा वित्तीय परिसूचकहरु सबल थिएनन् भने हाम्रा लागि यो उपलब्धि सम्भव थिएन’, प्रमुख कार्यकारी श्रेष्ठले भने ।
बैंकले जहिले पनि राष्ट्र बैंकको नीति, नियम र निर्देशिकाको परिधिभित्र रहेर वित्तीय कारोबार गर्दै आएको उल्लेख गर्दै उनले थपे, ‘सांग्रिला डेभलपमेन्ट बैंकसँग जोडिएका सबै कर्मचारी, सेयर होल्डर, सञ्चालक एवं व्यवस्थापन समिति पहिलो दायित्व नै बैंकलाई सबल, प्रतिस्पर्धी र जनताको आफ्नो बैंक बनाउने हो ।’ सांग्रिला डेभलपमेन्ट बैंकको लक्ष्मी खड्कासँग सम्बन्धित कर्जामा कुुनै पनि किसिमको समस्या नरहेको राष्ट्र बैंकका उच्च अधिकारीले बताए । ‘बैंकले उक्त कर्जा हाल सेटल पनि गरिसकेको छ, यसमा कुनै समस्या छैन’, ती अधिकारीले भने ।
ताजा अपडेट
- श्रीलंकामा चीनले ‘ऋण दिएर फसाउने कूटनीतिक चाल’ चालेकै हो त ?
- कुमारी बैंकको अगुवाइमा माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको सहवित्तीयकरण सम्झौता
- महासंघ र बैंकर्स संघबीच ऋण सहजीकरणमा सहकार्य गर्ने सम्झौता
- त्रिवेणी व्यापारको आयोजनामा रिटेलर्स मिट कार्यक्रम
- सातै प्रदेशमा आधुनिक कृषि प्रविधि
- भुइँचालोपछि खोसिएको बारपाकको सांस्कृतिक सौन्दर्य
- आममाफीले आपराधिक घटना बढ्ने डर
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया