Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकृषि बजारलाई व्यवस्थापन गर्न सरकार तयार

कृषि बजारलाई व्यवस्थापन गर्न सरकार तयार


काठमाडौं ।
कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि बजारलाई व्यवस्थापन गर्न सरकार तयार रहेको बताएकी छिन् । किसानले बजारमा ल्याएको तरकारीको डोको फर्काएर लैजानुपर्ने अवस्थाको अन्त्य अहिलेको सरकारले गर्ने उनले बताइन् । कृषि मन्त्रालयले कृषकलाई उत्पादन गर, बजारको व्यवस्था हामी गर्छौँ भन्ने तर किसानहरूले बजारमा ल्याएको वस्तु फर्काएर लैजाने बर्तमान स्थिति रहेको भन्दै उनले आगामी दिनमा उक्त समस्या नदोहोरिने बताइन् । कृषकले बजार नपाएर आफ्ना उत्पादन सडकमा फाल्नुपर्ने अवस्थाको अन्त्य आफूले गर्ने उनको दाबी थियो ।

मन्त्रालयअन्तर्गत रहेका संस्थान तथा समितिहरूको छलफल कार्यक्रममा उनले बजारको ग्यारेन्टी गर्नेगरी नयाँ ढंगले जाने बताइन् । परम्परावादी योजना, सोचले अब अगाडि बढ्न नसकिने उनको भनाइ थियो । उनले भनिन्– ‘आजको आवश्यकताहरू पूर्ति गर्नेगरी जानुप-यो । आजका समस्या के हुन् ? यी समस्या समाधान गर्न के गर्ने भन्ने हिसाबले गहन अध्ययन गरेर जाऔँ ।’ सरकारले संघीय, प्रादेशिक र स्थानीय गरी तीन खालको बजारको परिकल्पना गरेको बताउँदै उनले कुन बजार कहाँ राख्ने भन्ने मापदण्ड बनाउन सम्बन्धित निकायहरूलाई आग्रह गरिन् ।

उनले भनिन्– ‘हाम्रो बजार हाम्रो हातमा छैन । कोभिडको बेला किसानहरूले तरकारी, फलफूल उत्पादन गरे । काठमाडौँ आइपुग्दा हाम्रो बजार त अर्कैले कब्जा गरिसकेको छ । अनि किसानहरू फर्केर जाने स्थिति बन्यो । हाम्रो बजार हाम्रो हातमा नलिई किसानहरूको हित हुँदै हुँदैन ।’ कालिमाटी, फलफूल तथा तरकारी बजारका सन्दर्भमा कर्मचारीहरूले नै बजार कब्जा गरेर बसेको भन्ने गुनासो आइरहेको भन्दै मन्त्री अर्यालले त्यसको रिपोर्ट ल्याउन समेत कर्मचारीलाई निर्देशन दिइन् । यसैगरी उनले सरकारका तर्फबाट बिक्री भएका बेर्नाबाट उत्पादन नभएको भन्ने गुनासो आएको बताउँदै यसका बारेमा छानबिन गर्न पनि निर्देशन दिइन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया