Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचार हजार परीक्षण गर्दा ५ सय २२ सङ्क्रमित

चार हजार परीक्षण गर्दा ५ सय २२ सङ्क्रमित


काठमाडौं ।
चार हजार पाँच सय ५१ जनाको परीक्षण गर्दा पाँच सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त तथ्यांकले नेपालमा कम मात्रामा परीक्षण गर्दा थोरै संक्रमित फेला परेका र धेरै परीक्षण गर्ने हो भने पहिलाको जस्तै संक्रमित फेला पर्ने देखिएको छ । लक्षण देखिएका व्यक्ति र सङ्क्रमित सँगसँगै बस्ने व्यक्तिको मात्र नमूना सङ्कलन गर्ने पछिल्लो पटकको मापदण्डका कारण नमूना सङ्कलनमा पहिलेभन्दा कमी आएको हो । कोरोनाजस्तो लक्षण देखिने कतिपय व्यक्तिले नमूना जाँच गराउन आनाकानी गर्ने गरेकाले पनि नमूना सङ्कलनमा कमी आएको जनाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मंगलबार तीन सय ३८ पुरुष र १ सय ८४ महिला गरी ५ सय २२ मा कोरोना पुष्टि भएको हो । काठमाडौँ उपत्यकामा मात्रै एक सय ३९ पुरुष र ९३ महिला गरी दुई सय ३२ सङ्क्रमित भेटिएका छन् । हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ६२ हजार सात सय ८४ पुगेको छ । अहिले देशभार पाँच हजार दुई सय २५ कोरोना सङ्क्रमित छन् ।

पछिल्लो २४ घण्टामा पाँच सय ७८ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ५५ हजार छ सय ६६ पुगेको छ । निको भएको दर ९७ दशमलव तीन प्रतिशत रहेको छ । गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप आठ जनाको मृत्यु भएसँगै कुल मृतक सङ्ख्या एक हजार आठ सय ९३ पुगेको छ । अहिले २ सय ३ आईसीयू र ४४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यस्तै, प्रदेश नं १ मा मंगलबार एक सय तीन जना सङ्क्रमित निको भएका छन् । निको हुनेहरू सबै होम आइसोलेसनका रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको सङ्ख्या २८ हजार आठ सय ४२ पुगेको छ । प्रदेशमा सोही अवधिमा गरिएको तीन सय ८२ जनाको पीसीआर परीक्षणमा आठ महिला र २० पुरुष गरी २८ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

थप हुनेहरूमा मोरङमा आठमध्ये विराटनगरमा पाँच, सुनसरीमा आठ, झापामा पाँच, सङ्खुवासभामा दुई, धनकुटा, उदयपुर र पाँचथरमा एक/एक र प्रदेशबाहिरका दुई जना रहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या २९ हजार नौ सय १३ पुगेको छ । यस प्रदेशमा हालसम्म दुई लाख १० हजार ३ सय ३१ जनाको पीसीआर परीक्षण गर्ने कार्य सम्पन्न गरिएको छ ।

यसैबीच, सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसका शङ्कास्पद व्यक्तिको नमूना सङ्कलन र परीक्षण सुस्त भएको छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्क विश्लेषण गर्दा पछिल्लो हप्तामा कोभिड—१९ का शङ्कास्पद एक हजार नौ सय २१ जनाको नमूना सङ्कलन भएको छ । सङ्कलित नमूनामध्ये यो अवधिमा दुई हजार ७४ जनाको नमूना परीक्षण हुँदा २ सय ७६ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

एक महिनाअघि सम्म शङ्कास्पदको नमूना सङ्कलन गर्ने र परीक्षण हुने दर योभन्दा बढी थियो । दुई हजार चार सय ९५ जना सक्रिय सङ्क्रमित पुगेकामा एक हप्तामा यो सङ्ख्या बढेर दुई हजार ६ सय १ पुगेको छ । विगतको तुलनामा निको हुने दर बढ्नसकेको छैन । सङ्क्रमण भई उपचार व्यवस्थापनमा रहेकामध्ये पछिल्लो हप्तामा १ सय ६ जना मात्र उपचार व्यवस्थापनपछि घर फर्किएका छन् । उक्त प्रदेशमा मंगलबार कैलाली, अछाम, बैतडी, डोटी र डडेल्धुराका गरी थप ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ थपिएका समेत आजसम्म जम्मा १३ हजार ७ सय २८ जना सङ्क्रमित पुग्दा ११ हजार ७६ जना उपचार व्यवस्थापनपछि डिस्चार्ज भएका छन् ।

गएको एक हप्तामा सङ्क्रमणका कारण हुने मृत्यु दर भने घटेको देखिएको छ । यो अवधिमा एक जनाको मात्र मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । उक्त प्रदेशमा ५१ जनाको मृत्यु भएको छ । होम आइसोलेसन र प्रदेशबाहिरका जिल्लामा मृत्यु हुने कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन । सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमणको जटिल अवस्थाका सातजनाको सघन उपचार कक्ष (आईसीयू)मा उपचार व्यवस्थापन भइरहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया