Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभारतीय कम्पनी सीजी इन्फ्राटाले निजगढ विमानस्थलको गुरुयोजना बनाउने सम्झौता

भारतीय कम्पनी सीजी इन्फ्राटाले निजगढ विमानस्थलको गुरुयोजना बनाउने सम्झौता


काठमाडौं ।
राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माण भारतीय कम्पनी सीजी इन्फ्राटा–बीडीए (जेभी)ले गर्ने भएको छ । विमानस्थल गुरुयोजना निर्माणको लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय कम्पनी सीजी इन्फ्राटा बीडीएबीच सम्झौता भएको हो ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले गुरुयोजना निर्माणको लागि छवटा कम्पनीहरु सूचीकरण गरेकोमा त्यसमध्ये भारतीय कम्पनी छनौट भएको जानकारी दिए । ‘छवटा कम्पनीमध्ये तीनवटा कम्पनीले मात्र गुरुयोजना निर्माणको विस्तृत प्रस्ताव पेश गरेका थिए जसमध्ये इन्फ्राटाले गुरुयोजना निर्माण गर्न कम मूल्य प्रस्तावको आशयपत्र राखेको थियो’, उनले भने, ‘इन्फ्राटाले कम मूल्यमा प्रस्ताव राखेका कारण छनोट हुनसकेको हो । सम्झौताअनुरुप १३ महिनाभित्र उसले काम सम्पन्न गर्नुपर्नेछ ।’

इन्फ्राटाले गुरुयोजना निर्माणको क्रममा वातावरणीय मूल्यांकन प्रभाव (ईआईई) को समेत अध्ययन गर्ने प्राधिकरणले जानकारी दिएको छ । यस्तै गुरुयोजना निर्माणको लागि २९ करोड ८९ लाख रुपैयाँ लाग्नेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वातावरणीय प्रभाव अर्थात् रुख कटानको विषयलाई लिएर विमानस्थल निर्माण कार्य अघि बढाउन सकेको छैन । रुख कटानको विषय सर्वोच्चमा विचारधीन छ भने मुआब्जा विवाद पनि कायमै छ । सोही कारण विमानस्थल निर्माण प्रक्रिया अघि बढ्नसकेको छैन ।

रुख कटानको जिम्मेवारी नेपाली सेनाले पाए पनि विवादका कारण सेनाले समेत काम अघि बढाउनसकेको छैन । विवादकै बीच रुख बुट्यानहरुको गणना कार्य भने जारी छ । विमानस्थलका लागि आवश्यक पर्ने २ हजार ५ सय ५६ हेक्टर जग्गाभित्र रुख तथा बुट्यानहरु छन् ।
निवर्तमान पर्यटनमन्त्री योगेश भट्टराईले भने मुआब्जा विवाद नरहेको बताउँदै आएका थिए । आयोजनामा पर्ने स्थानीय बासिन्दालाई मुआब्जा ८० प्रतिशत प्रदान गरेको तथा स्थानान्तरण गर्ने काम अघि बढेको बताउँदै उनले रुख कटानका लागि गणना भएको जानकारी गराएका थिए ।

निवर्तमान मन्त्री भट्टराईले विमानस्थल निर्माणको लागि लगानी बोर्डमार्फत लगानी जुटाउने काम समेत भइरहेको बताउँदै आएका थिए । लगानी बोर्डले भने स्विस कम्पनी जुरिच इन्टरनेशनल एजी (जेआईएजी) लाई लगानीकर्ताको रुपमा छनौट गरेको थियो । विमानस्थल निर्माण हुने विषयमा नेता, सर्वसाधारणदेखि स्थानीयसम्म अझै पनि ढुक्क हुनसकेका छैनन् । लामो समयदेखि निर्माण प्रक्रिया अघि बढ्न नसकेको विमानस्थलको विभिन्न विवाद तथा लगानीकर्ताको निक्र्योल समेत नहुनुले आयोजना अघि बढ्नेमा अन्योल कायम छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया