Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविराटनगर भन्सारको अनुगमन

विराटनगर भन्सारको अनुगमन


विराटनगर, पुस २०
विराटनगर भन्सारमा भन्सार विभागले अनुगमन गरेको छ । गत हप्ता भन्सार विभागबाट खटिएको टोलीले तीन दिन लगाएर विराटनगर भन्सार नाका भएर आयात हुँदै आएका तेस्रो मुलुक तथा भारतीय बजारबाट नेपाल भित्रिने मालसामानबाट भन्सार राजस्वमा कमी आउनुको कारणबारे स्थलगत अध्ययन गरेको हो ।

पछिल्लो समय भन्सार प्रमुख शिव भण्डारीको कार्यसम्पादन शैलीमाथि नै प्रश्न गर्दै व्यवसायीहरुले भन्सार नाका नै परिवर्तन गर्न थालेपछि विराटनगर भन्सारमा देखिएको कठिनाइका सम्बन्धमा अध्ययन गर्न भन्सार विभागले भन्सार निर्देशकको नेतृत्वमा टोली पठाएको हो । स्रोतका अनुसार मुख्यतया विराटनगर भन्सारले अहिले गर्दै आएको भन्सार मूल्यांकन प्रक्रियामा नै गलत रहेको अनुगमन टोलीले बताएको छ । विराटनगर भन्सारबाट सामान आयात गर्ने व्यवसायी तथा उद्योगीहरुले वीरगञ्ज भन्सार र मेची भन्सारतर्फ आकर्षित हुनथालेका छन् ।

विराटनगर भन्सार गम्भीर नहुँदा व्यवसायीले अनाहकमा डिटेन्सन चार्ज तिर्न बाध्य भएपछि व्यवसायीहरुले भन्सार नाका नै परिवर्तन गर्न थालेका हुन् । भन्सार विभागबाट खटिएको निर्देशक समूहको अनुगमन टोलीले भन्सार प्रमुख शिव भण्डारीलाई भन्सार राजस्व घट्नुका कारणबारे प्रश्न गरेका थिए । जवाफमा भण्डारीले विगतमा कार्यरत भन्सार प्रमुखहरुले सेटिगंमा काम गर्ने गरेको र अहिले नाकामा कडाइ गरेका कारण राजस्वमा केही कमी देखिएपछि विस्तारै बढ्दै जाने बताएका थिए । उद्योगी तथा व्यवसायीका अनुसार विराटनगर भन्सारको भन्सार मूल्यांकन उद्योगी व्यवसायीको मुख हेरेर गर्ने गरिएको छ ।

विराटनगर भन्सारमा रहेको भन्सार मूल्यांकन शाखाले भारत तथा तेस्रो मुलुकबाट आयात भएका माल वस्तुको परीक्षण र अन्य आयातित वस्तुको नमूना समेत भन्सारमा राख्ने निर्देशन भएको छ भन्दै आवश्यकताभन्दा ठूलो परिमाणमा मालसामान झिक्ने गरेको छ । यसैबीच विराटनगर भन्सारमा बढ्दै गएको बेथितिका उजुरी पर्न थालेपछि राजस्व अनुसन्धान सुनसरी, राष्ट्रिय अनुसन्धान र अख्तियारको संयुक्त टोलीले समेत एकैसाथ भन्सार कार्यालयमा अनुगमन गरेको छ ।

गत बिहीबार विराटनगर आएको उक्त टोलीले अचानक विराटनगर भन्सारको अनुगमन गर्दा उक्त दिन विराटनगर भन्सारको काम कारबाही नै प्रभावित बन्न पुगेको थियो । संयुक्त टोलीबाट अनुगमन सकिएलगत्तै भन्सार प्रमुख शिव भण्डारीले भन्सारमा कर्मचारीको आकस्मिक बैठक गरी सचेत भएर काम गर्न निर्देशन दिएको कर्मचारी स्रोतले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया