Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसमुुदाय प्रहरी साझेदारी कार्यक्रम नमूना बन्दै

समुुदाय प्रहरी साझेदारी कार्यक्रम नमूना बन्दै


सुरेश राउत
काठमाडौं, पुस २०
अपराध न्यूनीकरणमा समुुदाय प्रहरी साझेदारी कार्यक्रम नमूना बन्दै गएको छ । साझेदारी कार्यक्रमअन्तर्गत ७७ वटै जिल्लाका सात सय ५३ स्थानीय तहमा २४ पालिका, वडा, टोल र विद्यालयमा समेत गरी हालसम्म कुुल २४ हजार चार सय ८४ वटा समिति निर्माण भएका छन् । यी समितिले अपराध नियन्त्रण, रोकथामलगायतका विभिन्न विषयहरुमा जनचेतना विस्तार गर्दै आफ्नो गतिविधिलाई प्रभावकारी रुपमा लगेको र यसबाट अपराधजन्य गतिविधिमा पनि कमी आएका कारण यसको प्रभावकारिता बढ्दै गएको नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता एसएसपी उमेशराज जोशीले बताए ।

जोशीका अनुुसार समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत हालसम्म ९८ लाख १० हजार पाँच सय ६७ जनसंख्या प्रत्यक्षरुपमा समेटिएका छन् । ‘२०७५ कात्तिक ११ गतेदेखि कार्यक्रम सुरु भएपश्चात् सञ्चालन गरिएको सामुुदायिक गस्तीमार्फत ६४ लाख ८८ हजार तीन सय ५३, सामुुदायिक कार्यक्रममार्फत ११ लाख ३३ हजार आठ सय ४३, विद्यालय कार्यक्रममार्फत पाँच लाख ४१ हजार ७६ र श्रव्यदृश्यमार्फत १६ लाख ४७ हजार दुई सय ९५ जना समेत गरी कुुल ९८ लाख जनता प्रत्यक्षरुपमा समेटिएको हो’, सहप्रवक्ता जोशीले भने ।

यसअन्तर्गत छ हजार सात सय ८५ वटा प्रहरी विद्यालय कार्यक्रमहरु भएका छन् । यसमा चार लाख ९६ हजार ८९ जना विद्यार्थी, २६ हजार पाँच सय एक जना शिक्षक र १८ हजार चार सय ८६ जना अभिभावक समेत गरी कुुल पाँच लाख ४१ हजार ७६ जना सहभागी थिए । यसैगरी प्रहरीले समुुदाय साझेदारी कार्यक्रमअन्तर्गत हालसम्म पाँच लाख १३ हजार तीन सय ९७ पटक गस्ती गरेको छ । गस्तीकै क्रममा एक लाख ७० हजार तीन सय ९५ जनाको उद्धार तथा सहायता गरिएको र एक लाख २० हजार चार सय आठ जनालाई विभिन्न अपराधमा पक्राउ तथा नियन्त्रण गरिएको छ । ‘यी कार्य गर्नुुको एउटै उद्देश्य प्रत्येक घर, प्रत्येक परिवार, प्रत्येक समुुदाय, प्रत्येक विद्यालय हुुँदै सिंगो राष्ट्रलाई नै शान्त, समुन्नत र भयरहित बनाउनुु हो’, उनले भने ।

प्रहरीको यो कार्यमा आम सर्वसाधारण, सिंगो सरकारी संयन्त्र एवं सरोकारवाला सबैको साथ र सहयोग रहेको छ । यही कारण पनि समुदाय साझेदारी कार्यक्रम सुरु भएको पछिल्लो एक वर्षमा यसको प्रभावकारिता सबै क्षेत्रमा पुुगेको देखिएको छ । यो अभियानलाई अझ प्रभावकारीरुपमा अगाडि लैजान नेपाल प्रहरी सदैव क्रियाशील रहेको उनको भनाइ छ ।

स्थानीय तहमा निहित सामाजिक न्याय, सुरक्षा, मेलमिलाप, सामाजिक शिक्षा र जनचेतनाको दायित्व तथा सामुदायिक साझेदारीको माध्यमबाट अपराध नियन्त्रण र रोकथाम गर्नको लागि नेपाल प्रहरी र स्थानीय तहबीच समझदारी कायम गरी साझा संयन्त्रको माध्यमद्वारा सामुुदायिक सुरक्षालाई अभिवृद्धि गर्न समुुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु गरिएको हो । यसबाट सिंगो समुदायले सुरक्षाको प्रत्याभूति गरेको पनि उनले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया