Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसवारी कर पनि ‘नागरिक एप्स’बाट संकलनको तयारी

सवारी कर पनि ‘नागरिक एप्स’बाट संकलनको तयारी


काठमाडौं ।
सरकारले सुशासन वृद्धि गर्ने भन्दै सरकारी सेवा सरल र सहजरूपमा दिन अघि बढाउन ‘नागरिक एप्स’को सञ्चालन गरेको छ । उक्त ‘नागरिक एप्स’को प्रयोग शुक्रबारबाट परीक्षणको रुपमा सञ्चालनमा ल्याइएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सो एप्स सार्वजनिक कार्यक्रममा भिडियो सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दिनमा एप्समा सवारी कर, अनुमतिपत्र, लोकसेवालगायत सेवालाई पनि जोडिने जनाए । उक्त एप्स बढीभन्दा बढी प्रयोेग गरी लाभ लिन सबैमा आग्रह गर्दै प्रधानमन्त्रीले युवापुस्ताले यसको प्रयोगको अगुवाइ गर्ने दाबी गरेका छन् । नेपालमा सवारी कर बुझाउन लामो लाइन लाग्ने गरेको छ । यस्तै लाइन केही वर्ष अगाडिसम्म टेलिकममा पनि लाग्ने गरेको थियो ।

‘परीक्षणका रूपमा नागरिक एप्स प्रक्षेपण भएकामा खुसी लागेको छ । हरेक सरकारी सेवालाई सूचना तथा सञ्चार प्रविधिसँग जोडेर सेवा दिनु सरकारको कर्तव्य हो’, प्रधानमन्त्री ओलीले भने, ‘सरकार नागरिकलाई सबै सेवा सरल र सहजरूपमा दिन तत्पर रहँदै आएको छ । यसको प्रयोगले भ्रष्टाचार अन्त्य हुने विश्वास पनि लिएको छु ।’

सरकारले २०७६ कात्तिक ५ गते मुलुकको आर्थिक रूपान्तरण र समृद्धिमा सूचना प्रविधिका माध्यमबाट सघाउन ल्याएको ‘डिजिटल नेपाल, फ्रेमवर्क, २०७६ स्वीकृत गरी कार्यान्वयनमा ल्याएपछि यो एप्स यस क्षेत्रमा एक महत्वपूर्ण कडी मानिएको छ । समयसापेक्ष सूचना प्रविधिको प्रयोगमार्फत विभिन्न सेवा क्षेत्र र निकायका कार्यान्वयनको कार्ययोजना समेटिएको उक्त फ्रेमवर्क (कार्यढाँचा) मन्त्रिपरिषद्को २०७६ कात्तिक ५ गतेको बैठकले पारित गरेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा ‘नागरिक एप्स’को शुभारम्भका क्रममा मन्त्री पार्वत गुरुङ्गले डिजिटल नेपाल बनाउने सरकारी लक्ष्य पूरा गर्न उक्त एप्स महत्वपूर्ण हुने दाबी गरे ।

कसरी प्रयोग गर्ने : यो एप्स प्रयोग गर्न निक्कै सजिलो छ । स्मार्ट मोबाइलामा नागरिक एप्स डाउनलोड गरेपछि त्यसभित्र गएर प्रयोग गर्न सकिने राससले जनाएको छ । आफ्नो नाममा रहेको मोबाइल नम्बरबाट यो एप्स र यसमा रहेको सुविधा लिन सकिन्छ । मोबाइल नम्बर राखेपछि कसको नाममा दर्ता छ भनेर एप्सले स्वचालितरूपमा पत्ता लगाउँछ । नागरिकता नम्बरबाट नै एप्सले सम्बन्धित निकायको प्रणालीमा पहुँच बनाउन सक्छ । उदाहरणका लागि कुनै कार्यालयले दिने सेवामा तपाईंको प्यान विवरण चाहिने भयो, प्यान नम्बर राखेकै भरमा एप्सले राजस्व विभागको प्रणालीबाट सोझै विवरण प्राप्त गर्न सक्छ, जसका कारण तपाईंले नागरिकता र प्यानको फोटोकपी बुझाइरहनुपर्दैन ।

केन्द्रदेखि स्थानीय सरकारले नागरिकलाई उपलब्ध गराउने सबै सेवा सुविधा क्रमशः यो एप्सबाट प्राप्त गर्न सकिन्छ । स्थानीय सरकारले प्रदान गर्ने ६४ मध्ये ४० बढी सेवा यही एप्सबाट प्राप्त गर्न सकिनेछ । कुनै पनि विवरण भर्नु र अपलोड गर्नु नपर्ने भएकाले पनि नागरिकलाई सजिलो हुनेछ । नागरिक एप्स चलाउन यति सजिलो छ कि एक क्लिक गरेकै भरमा सम्बन्धित सरकारी सेवाका लागि आफैँ आवेदन भरिन्छ ।

सरकारका विभिन्न निकायमा भएका नागरिकका प्रमाणित विवरण यसले स्वचालितरूपमा रुजु गर्छ । यसलाई कसैबाट पनि फेरबदल वा किर्ते गर्ने सम्भावना नै हुँदैन । एप्समार्फत पहिलो चरणमा सरकारी सेवा र दोस्रो चरणमा अर्धसरकारी सेवा प्रदान हुनेछ । यसको प्रयोगले नागरिकको सहजताका साथै सुशासन, भ्रष्टाचार न्यूनीकरण र सरकारको सञ्चालन खर्च कटौतीमा ठूलो सहयोग गर्ने विश्वास लिइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया