Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकारको वित्त १२ अर्ब ७२ करोड रुपैयाँले घाटामा

सरकारको वित्त १२ अर्ब ७२ करोड रुपैयाँले घाटामा


काठमाडौं ।
बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाको अवधिमा यस्तो वित्त स्थिति १२ अर्ब ७२ करोड रुपैयाँले घाटामा देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति ६२ अर्ब २३ करोडले बचतमा थियो । राष्ट्र बैंकका अनुसार चालू आवको पाँच महिनामा बैंकिङ कारोबारमा आधारित अर्थात् सोझै भुक्तानी र भुक्तानी हुन बाँकी चेकबाहेकको संघीय सरकारको कुल खर्च तीन खर्ब छ अर्ब ६६ करोड रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च दुई खर्ब ८७ अर्ब ८४ करोड रहेको थियो । चालू आवको पाँच महिनामा बैंकिङ कारोबारमा आधारित राजस्व संकलन अर्थात् प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत तीन खर्ब एक अर्ब २३ करोड रुपैयाँ रहेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन तीन खर्ब ३७ अर्ब ७१ करोड रहेको थियो ।

चालू आवको पाँच महिनामा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा दुई खर्ब ४५ अर्ब ७० करोड रुपैयाँ नगद रहेको छ । यसमा प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत समावेश गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । चालू आवको पाँच महिनामा प्रदेश सरकारको स्रोत प्राप्ति ६१ अर्ब २७ करोड रहेको छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी ३७ अर्ब ४३ करोड हस्तान्तरण गरेको राष्ट्र बैंकले जनाएको छ । यस अवधिमा प्रदेश सरकारहरुले राजस्व र अन्य स्रोतबाट २३ अर्ब ८४ करोड परिचालन गरेका छन् । यसैगरी, यस अवधिमा प्रदेश सरकारहरुको खर्च ३२ अर्ब १७ करोड रहेको छ ।

चालू आवको पाँच महिनामा विस्तृत मुद्राप्रदाय सात दशमलव चार प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय तीन दशमलव छ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा २०७७ मंसिर मसान्तमा विस्तृत मुद्राप्रदाय २२ दशमलव पाँच प्रतिशतले बढेको छ ।

चालू आवको पाँच महिनामा खुद वैदेशिक सम्पत्ति एक खर्ब छ अर्ब ४८ करोड अर्थात् आठ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति २३ अर्ब ३० करोड दुुई दशमलव चार प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा सञ्चित मुद्रा पाँच दशमलव पाँच प्रतिशतले घटेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा दुुई दशमलव सात प्रतिशतले घटेकोे थियो । वार्षिक विन्दुगत आधारमा २०७७ मंसिर मसान्तमा सञ्चित मुद्रा २३ दशमलव एक प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार चालू आवको पाँच महिनामा कुल आन्तरिक कर्जा छ प्रतिशतले बढेको छ । अघिल्लो वर्र्षको सोही अवधिमा उक्त कर्जा तीन दशमलव पाँच प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७७ मंसिर मसान्तमा यस्तो कर्जा १६ दशमलव तीन प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी सात दशमलव नौ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी सात दशमलव तीन प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७७ मंसिर मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १३ दशमलव एक प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया