Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारछ महिनामा २७ सय ६४ ले पाए रोजगारी

छ महिनामा २७ सय ६४ ले पाए रोजगारी


काठमाडौं ।
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा करिब तीन हजार जना युवालाई रोजगारी प्रदान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको पुस महिनासम्ममा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुई हजार सात सय ६४ जना युवाहरुले रोजगारी दिइएको छ । कार्यक्रमका निर्देशक सुमन घिमिरेले करिब छ महिनाको समयमा सो संख्यामा युवाहरुलाई रोजगारी दिएको बताए । रोजगारी दिएको अनुपातमा रोजगारी माग गर्नेको संख्या भनेको शतप्रतिशतभन्दा बढी रहेको उनको भनाइ छ ।

मन्त्रालयका अनुसार रोजगारी माग गर्नेको संख्या सात लाख ४३ हजार जनाएको छ । सात लाखले रोजागारी माग गर्दा सरकारले करिब तीन हजार जनालाई मात्र रोजगारी दिनसकेको छ । देशमा रोजगारीको माग अत्यधिक हुँदा समेत सरकारले सीमित रोजगारी प्रदान गर्दा युवाहरु बाध्य भएर वैदेशिक रोजगारीमा जान बाध्य छन् । श्रम तथा आप्रवासन विज्ञ डा.गणेश गुरुङले मुलुकमा पर्याप्त रोजगारी नहुँदा युवाहरुले बाध्यात्मक रुपमा काम खोज्न विदेश जानुपरेको बताए ।

श्रम बजारमा वर्षेनी पाँच लाख युवा प्रवेश गर्ने गरेका छन् । अहिले कोरोनाको कारण विदेश गएकाहरु समेत स्वदेश फर्किएका छन् । यहीँ भएकालाई रोजगारी दिन नसकेको बेला विदेशबाट फर्किएका युवाहरुलाई समेत रोजगारी दिनुपर्ने बाध्यता छ । कोरोना महामारीकै कारण हालसम्म डेढ लाख युवाहरु वैदेशिक रोजगारीबाट फर्किएको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले जानकारी दिएको छ ।

केन्द्रका अनुसार पुससम्ममा एक लाख ५२ हजार जना युवाहरु वैदेशिक रोजगारीबाट फर्किएका छन् । यसरी कोरोना महामारीका कारण विदेशबाट फर्किने र श्रम बजारमा प्रवेश गरेका युवाहरुलाई रोजगारीमार्फत सम्बोधन गर्ने गरी भने हालसम्म सरकारले कुनै ठोस योजना अघि बढाउन सकेको छैन ।

मन्त्रालयले श्रमिक बैंकको अवधारणा अघि ल्याएर बेरोजगार युवाहरुलाई रोजगारी दिने बताए पनि त्यसको फितलो कार्यान्वयनको कारण युवाहरु प्रभावित बनेका छन् । यस्तै रोजगारीमा रहेका युवाहरुले आफू कार्यरत संस्थाप्रति उजुरी समेत गर्ने गरेका छन् । चालू आवको पुससम्ममा प्रतिष्ठान तथा रोजगारदाताप्रति गुनासो गर्दै हजार वटाभन्दा बढी उजुरी श्रम तथा सुरक्षाजन्य विभागसमक्ष दर्ता गरेका छन् । विभागका अधिकारीहरुले पुससम्ममा एक हजार एक सय ७६ वटा उजुरी प्राप्त भएको जानकारी गराएका छन् । जसमध्ये दुई सय ६५ वटा उजुरीको समाधान भएको छ भने तीन सय २८ वटा उजुरी प्रक्रियामा रहेको बताएका छन् ।

यस्तै चालू आवको पुस मसान्तसम्ममा विभिन्न प्रतिष्ठानमा कार्यरत आठ जना युवाहरुको मृत्यु भएको छ भने छ जना घाइते र १६ वटा दुर्घटना हुनपुगेको छ । यस्तै दुर्घटनामा परेकामध्ये हाल दुई जनाको उपचार भइरहेको विभागको भनाइ छ । यस्तै विभाग तथा कार्यालयले रोजगारदाता र श्रमिकबीचको सम्बन्ध राम्रो होस् भन्ने उद्देश्यका साथ छ सय ३५ वटा प्रतिष्ठानको निरीक्षण गरेको छ भने बाल श्रम न्यूनीकरण गर्नका लागि ५ सय ९४ वटा प्रतिष्ठानको समेत निरीक्षण गरेको छ । कोरोना महामारीपछि भने विना कारण श्रमिकहरुलाई प्रतिष्ठानबाट बाहिर राख्दा श्रमिकहरुमा मारमा परेको देखिन्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया