Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकरोडौ ठगी गरेको खुलासा

करोडौ ठगी गरेको खुलासा

बैंकिङ कसुरमा संलग्न तीन जना पक्राउ


काठमाडौं ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले करोडौँ रुपैयाँ ठगी गर्ने तीन जना फरार अभियुुक्तहरुलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार दुई करोड ३२ लाख रकमसहित करोडौं ठगी गर्ने तीन जना फरक फरक मितिमा बैंकिङ कसुरजन्य अपराधमा पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा काठमाडौं चन्द्रागिरि नगरपालिका चिसापानी बस्ने ३१ वर्षीय सुवास थापा, चितवनको भरतपुर हनुमाननगर घर भएका ५१ वर्षीय राम बहादुर अधिकारी र गोरखाको गण्डकी गाउँपालिका घर भएका २९ वर्षीय विष्णु अंंगाई रहेका छन् ।

प्रवक्ता पन्तका अनुसार पक्राउ परेकामध्ये अधिकारीलाई यही माघ ४ गते अर्थात् आइतबार चितवनबाट, थापालाई यही माघ ३ गते अर्थात् शनिबार काठमाडौंबाट र अंगलाई यही माघ १ गते बिहीबार गोरखाबाट पक्राउ गरिएको हो । फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित प्रहरी टोलीले बैंकिङ कसुर (चेक बाउन्स) मुद्दाहरुमा तीन जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको प्रवक्ता पन्तले जानकारी दिइन् ।

उच्च अदालत पाटनबाट कसुरदार ठहर भई फरार रहेका तीन जना व्यक्तिहरुलाई विभिन्न स्थानहरुबाट लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित चितवन जिल्ला अदालतमा पेश गरिएको उनको भनाइ छ । प्रतिवादीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालाहरुलाई झुक्यानमा पारी नबिल बैंक, सनराइज बैंक, लक्ष्मी बैंक र राष्ट्रिय वाणिज्य बैंकका विभिन्न रकमका चेकहरु काटी दिई बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी सम्मानित उच्च अदालत पाटनबाट विभिन्न मितिमा प्रतिवादीहरुको हकमा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसुरमा दफा १५(१) बमोजिम सजाय हुने गरी फैसला गरिएको थियो ।

प्रवक्ता पन्तका अनुसार प्रमोद ढुंगेल, दण्डराज ढकाल र ब्रम्हनारायण चौधरीको जाहेरीले वादी नेपाल सरकार भएको बैंकिङ कसुर तीन थान मुद्दाहरुमा सम्मानित उच्च अदालत पाटनको २०७६ पुस २५ गतेको फैसलाले जिल्ला चितवन साबिक शिवनगर गा.वि.स. वडा नं. ८, हाल भरतपुर म.न.पा. वडा नं. १४ हनुमाननगर घर भई जिल्ला काठमाडौं का.म.न.पा. २६ स्थित रानीबारी अटो प्रालिका सञ्चालक ५१ वर्षका राम बहादुर अधिकारीलाई क्रमशः २१ दिन कैद तथा दुई करोड २१ लाख २४ हजार एक सय रुपैयाँ जरिवाना, १८ दिन कैद तथा छ लाख ५० हजार रुपैयाँ जरिवाना र १६ दिन कैद र नौ लाख ५० हजार रुपैयाँ जरिवाना गरी कुल ५५ दिन कैद तथा दुई करोड ३२ लाख २४ हजार एक सय रुपैयाँ जरिवाना हुने ठहर भएको थियो । उक्त सजाय बेरुजु रही फरार रहेका अधिकारीलाई लुकीछिपी बसिरहेको अवस्थामा माघ ४ गते आइतबार खैरेनी ८, चितवनबाट पक्राउ गरी सोही दिन सम्मानित चितवन जिल्ला अदालतमा पेश गरेको प्रवक्ता पन्तले जानकारी दिइन् ।

यसैगरी वुना महत र गीतादेवी अधिकारीको जाहेरीले वादी नेपाल सरकार भएको बैंकिङ कसुरका दुई थान मुद्दाहरुमा उच्च अदालत पाटनबाट वि.सं. २०७७ जेठ ३२ गते र २०७६ फागुुन १० गते भएको फैसलाले जिल्ला काठमाडौं साबिक बाडभञ्ज्याङ्ग गा.वि.स. वडा नं. ४, हालको चन्द्रागिरि न.पा. वडा नं. २, चिसापानी बस्ने वर्ष ३१ का थापालाई क्रमशः १० दिन कैद तथा २७ लाख ७९ हजार रुपैयाँ जरिवाना र सात दिन कैद र ३० लाख रुपैयाँ जरिवाना गरी कुल १७ दिन कैद र ५९ लाख ७९ हजार रुपैयाँ जरिवाना भएको थियो ।

सजाय बेरुजु रही भागी फरार रहेका थापालाई सीआईबीले पुल्चोक, चितवनबाट लुकीछिपी बसिरहेको अवस्थामा यही माघ ३ गते शनिबार फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनको आइतबार सम्मानित चितवन जिल्ला अदालतमा पेश गरिएको जानकारी पनि प्रवक्ता पन्तले दिएकी छन् ।

यसैगरी सीआईबीले मिना कुमारी अंगाईको जाहेरीले वादी नेपाल सरकार भएको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको वि.सं. २०७५ असार २४ गतेको फैसलाले जिल्ला गोरखा गण्डकी गा.पा. वडा नं. २ बस्ने वर्ष २९ का विष्णु अंगाईलाई एक महिना कैद र १० लाख रुपैयाँ जरिवाना हुने ठहर भएकोमा उक्त सजाय बेरुजु रही फरार रहेका अंगाईलाई ब्यूरोबाट परिचालित टोलीले लुकीछिपी बसिरहेको अवस्थामा यही माघ १ गते भरतपुर चितवनमा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका अंगाईलाई फैसला कार्यान्वयनको लागि यही माघ २ गते सम्मानित चितवन जिल्ला अदालतमा पेश गरिएको जानकारी पनि प्रवक्ता पन्तले दिइन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया