Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा

तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा


दोलखा।
दोलखाको तामाकोशी गाउँपालिका १ का लक्षुमण माझीलाई ठग समूहको एक गिरोहले करोडौँको राजस्व छली मुद्दामा फसाइदिएको छ ।उक्त गिरोहले तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीको नाममा पीआरके ट्रेड इन्टरनेशनल नामक कम्पनी दर्ता गरी राजस्व छली गर्ने गरेको पाइएको हो ।

राजस्व अनुसन्धान विभागले माझीको नामबाट दर्ता भएको स्थायी लेखा नम्बर ६०५४२८२७२ बाट पाँच करोड २० लाख राजस्व छली गरेको अभियोगमा माझीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले उच्च अदालतमा मुद्दा दायर गरेपछि अदालतले गत पुस १६ गते माझीलाई अदालतमा हाजिर हुन पत्र पठाएको छ । अदालतले करोडौँ राजस्व छलीको मुद्दामा उपस्थित हुन माझीलाई पत्र आएपछि उनीलगायत सिंगो बस्ती नै त्रसित भएका छन् । गाउँमा माछा मारेर जेनतेन परिवार पाल्दै आएका माझी अहिले करोडौँ रुपैयाँ राजस्व छली गर्ने अभियुक्त बनेका छन् ।

कसरी फसे माझी ?
२०७२ सालको भूकम्पपछि जिल्लाको अधिकांश बस्ती ध्वस्त बने । माझी गाउँ पनि अछूतो रहेन । भूकम्पपछि पीडितहरूका लागि खाद्यान्न, लत्ताकपडा, जस्तापातासहितका राहत लिएर आउनेहरूको गाउँमा ओइरो लाग्यो । त्यसमा पनि दलित, जनजाति र माझीजस्ता पिछडिएका बस्ती र समुदाय यसको निशानामा परे । भूकम्प गएको एक वर्षपछि गाउँमा कपडा बेच्न हिँडिराख्ने महेन्द्र यादवले लक्षुमणलाई नयाँ घर बनाइदिने र राहत दिने मान्छे भेटाइदिने भन्दै काठमाडौं बोलाए । लक्षुमण पनि नयाँ घर पाउने आशामा तीन पटकसम्म काठमाडौं आएर महेन्द्रले भनेको व्यक्तिलाई भेटे ।

लक्षुमणका अनुसार ३ पटकसम्म काठमाडौं आउँदा ती व्यक्तिले उनलाई ३६ हजार ५ सय रुपैयाँ पनि दिए । पैसा दिएपछि माझीसँग पहिलोपटक ती व्यक्तिले नागरिकताको फोटोकपी र फोटो खिचेर लगे । पीडित माझीले आर्थिक दैनिकसँग भने, ‘दोस्रो र तेस्रो पटक विभिन्न कागज बनाएर ल्याएछन्, सबैमा सही गर्न लगाए ।’ राहत पाउने आशामा पढलेख गर्न नजानेका लक्षुमणले उनीहरुले भनेकै ठाउँमा सही र ल्याप्चे लगाइदिए । उनलाई काठमाडौंमा लाने काम भने नरेन्द्र राय यादव र धीरेन्द्र राय यादवले गरेका थिए ।

माझीको सम्पूर्ण कागजपत्र जम्मा गरेपछि उनीहरु टाढिएका थिए । उनीहरुले नै माझीको नाममा कम्पनी दर्ता गरेर राजस्व छली गरेको हुनसक्ने स्थानीय जनप्रतिनिधिको आशंका छ । राहत दिनेको व्यक्तिको नाम, ठेगाना केही जानकारी नभए पनि देखे अनुहार चिन्नसक्ने उनी बताउँछन् । राहतका नाममा लक्षुमणजस्तै माझीगाउँका अधिकाँश गाउँले यसरी नै नागरिकता र फोटो बुझाएर कागजमा सही गरेका छन् । दिनेश माझी, देवेन्द्र माझी, नारायण माझी, मोहन खत्री काफ्ले र शरण माझी पनि एउटै व्यक्तिलाई नागरिकता दिएर राहत लिनेमा पर्छन् । लक्षुमणजस्तै आफूलाई पनि यस्तै पत्र आउने हो कि भन्ने चिन्ता यी स्थानीयबासीलाई परेको छ ।

स्थानीय वीरबहादुर माझीलाई पनि सोही समूहले सर्लाहीको मलंगवा बोलाएर होटलमा तीन दिनसम्म राखेका थिए । फर्किने बेला ११ हजारका दरले दुई जनालाई खर्च दिएको उनले बताए । त्यसपछि उनीहरु सम्पर्कमा आएका छैनन् । अर्का स्थानीय मोहन काफ्लेले पनि काठमाडौं पुगेर १५ हजार राहत लिएर आएको बताए । लक्षुमणकै छोरा दिनेश माझीले जनकपुर पुगेर १५ हजार रुपैयाँ लिएका थिए । उनीहरु सबैले नागरिकताको फोटोकपी दिएर सही गरेर राहत लिएका थिए ।

लक्षुमणको नाममा अदालतबाट तामेली आएपछि आफूहरू पनि ठगिएको अरुले महसुस गर्न थालेका छन् । हरेक व्यक्तिलाई छुट्टाछुट्टै ठाउँमा बोलाएर नागरिकता लिएर विभिन्न कागजातमा सही गराएको उनीहरू बताउँछन् । आफ्नो नागरिकता र फोटो लिएर गिरोहले नक्कली कम्पनी खडा गरी राजस्व छली गरेको हुनसक्ने उनीहरूको अनुमान छ । सोझा र विपन्न बस्तीमा पसेर गरिबी र अशिक्षाको फाइदा उक्त गिरोहले उठाएको हुनसक्ने वडाअध्यक्ष महेश काफ्लेले बताए । उक्त गिरोहका समूहले लक्षुमणलाई सम्पर्क गर्ने मोबाइलको सिमकार्ड समेत लक्षुमणको नामबाट नै निकालिएको पाइएकोले सोही गिरोहले माझीलाई फसाएको उनी बताउँछन् ।

करोडौं राजस्व ठगीको मुद्दामा फसेपछि लक्षुमण माझी अहिले न्यायको लागि हारगुहार गरिरहेका छन् । तीन वर्षदेखि नयाँ घर पाउने आशामा बसेका माझीको हातमा राजस्व छलीको मुद्दाको म्याद तामेली पत्र परेको छ । अदालतको तामेली पत्र बुझेका लक्षुमण अदालतमा कसरी जाने भन्नेमा अहिले चिन्तित छन् । लक्षुमणसँगै अन्य गाउँले पनि आफ्नो नाममा तामेली आउने हो कि भनेर अहिले चिन्तित बनेका छन् । बुबाको नाममा जिन्दगीमा कल्पना नै नगरेको रकमको मुद्दा चल्ने भएपछि उनका ३२ वर्षीय छोरा दिनेश माझी समेत आफ्नो नाममा यस्तै मुद्दा आउनसक्नेमा चिन्तित छन् । दैनिक तामाकोशी नदीमा माछा मारेर गुजारा गर्दै आएका माझी अहिले न्यायको लागि चारैतिर गुनासो पोखिरहेका छन् ।

छिमेकीको जग्गामा घर बनाएर रात काट्दै आएका लक्षुमण माझीलाई हिजोआज परिवारको छाक टार्न समेत समस्या छ । अदालतमा करोडौंको मुद्दाको म्याद तामेली आएपछि महेन्द्रलाई बुझ्दा पो आफूहरु ठगिएको पत्तो पाइएको लक्षुमणले आर्थिक दैनिकलाई बताए । उनका अनुसार महेन्द्रले आफ्नो स्थायी ठेगाना भने डुमरिया बताएका थिए । उनी अहिले पनि फोन सम्पर्कमा रहेको लक्षुमणको भनाइ छ । उक्त समूहले भीरकोटका छ जना माझी, जफेका एक जना काफ्ले र थप एक जना थापालाई नयाँ घरको लोभ देखाएर नेपालका विभिन्न सहरमा बोलाएर १०÷१५ हजार रुपैयाँ राहत दिएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया