Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारखप्तडमा हेली टुर प्याकेज सुरु भएसँगै आन्तरिक पर्यटकको आगमन बढ्यो

खप्तडमा हेली टुर प्याकेज सुरु भएसँगै आन्तरिक पर्यटकको आगमन बढ्यो


बझाङ ।
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय एवं धार्मिकस्थल खप्तड घुम्न जानेहरुका लागि पाँचदिने ‘हेली टुर प्याकेज’ सुरु भएपछि खप्तड पुग्ने आन्तरिक पर्यटक बढ्नथालेका छन् । खप्तडको प्रवेशद्वार झिंग्रानामा रहेको ‘खप्तड होमस्टे’ आयोजना तथा माउण्टेन हेलिकप्टरको सहकार्यमा उक्त ‘हेली टुर प्याकेज’ सुरु गरिएको हो ।

अहिले खप्तड घुम्न आउने आन्तरिक पर्यटक बढेको खप्तड होमस्टेका सञ्चालक दीपकबहादुर खड्काले बताए । उनले भने, ‘कोरोनाका कारण खप्तडमा पर्यटक आउनसकेका थिएनन्, अहिले कोरोनाको संक्रमण कम छ र हामीले ‘हेलि टुर’ प्याकेज पनि सुरु गरेपछि पर्यटकहरु आउनथालेका छन्, यहाँको वातावरण नै रमाइलो देखिएको छ ।’

यस प्याकेजअन्तर्गत खप्तड पुग्नका लागि दिपायलबाट प्रतिव्यक्ति १० हजार, झिंग्रानाबाट आठ हजार, अछामको साँफेगर र बझाङको चैनपुरबाट १२ हजार तथा कैलालीबाट ३० हजार लाग्ने सो आयोजनाका अधिकारीले जनाएका छन् । यस आयोजनाको बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका थिए । मुख्यमन्त्री भट्टले खप्तड क्षेत्रको पर्यटकीय विकासका लागि प्रदेश सरकारले ठोस योजना बनाई अगाडि बढेको बताए । प्रदेशको प्रमुख धार्मिक पर्यटकीय स्थलसमेत रहेको खप्तड घुम्न ‘हेली टुर’ सुरु भएपछि स्थानीयबासीमा खुसियाली छाएको छ ।

प्याकेज सुरु भएको पहिलो दिन सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री माया भट्टसहित २० जना खप्तड पुगेका थिए । हिउँदे यामको दृश्य कैद गर्न इच्छुक पर्यटकहरूका लागि अहिले खप्तड क्षेत्र निकै मनमोहक भएको खप्तड पर्यटन विकास समितिका अध्यक्ष हर्कबहादुर सिंहले बताए । उनले भने, ‘खप्तड आफैँमा सुन्दर क्षेत्र हो, अहिलेको याम (पुसदेखि जेठसम्म) निकै मनमोहक हुन्छ । त्यसमा पनि ‘हेली टुर’ प्याकेज सुरु भएकाले पर्यटकलाई झनै राम्रो भएको छ ।’

हेलिकोप्टरमार्फत खप्तड घुम्नका लागि पाँच किसिमका प्याकेज रहेको बताइएको छ । मनोरम दृश्य अवलोकनसहितको आनन्ददायी यात्रा रहेकोले पर्यटक बढ्ने आयोजकको दाबी रहेको छ । सुदूरपश्चिम प्रदेशको मुख्य पर्यटकीय चिनारी रहेको खप्तडको जगेर्ना र प्रचारप्रसार गर्नसके प्रदेशको गरिमा बढ्ने र आयआर्जनको वातावरण सिर्जना हुने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बताइन् ।

खप्तड राष्ट्रिय निकुञ्जलाई प्राकृतिक सौन्दर्यताको खानी मानिन्छ । यतिमात्र नभइ खप्तडलाई धर्तीको स्वर्गको उपमा पनि दिइएको छ । सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, अछाम तथा डोटी जिल्लाको संगमस्थलका रुपमा रहेको खप्तडमा २२ वटा घाँसे मैदान अर्थात् पाटन रहेका छन् । सुन्दर घाँसे मैदानमा पुग्नेबित्तिकै यात्रीको थकान मेटिन्छ । यसको वरिपरि ५३ वटा थुम्का छन्, जसलाई स्थानीय भाषामा झोती भन्ने गरिएको खप्तडसँग सीमा जोडिएको डोटीको पुर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए । उनका अनुसार खप्तडको मुख्य आर्कषण भनेको त्यहाँका घाँसै मैदान, खप्तड दह, नाग ढुंगा, केदार ढुंगा, खप्तड बाबा आश्रम, शिव मन्दिर हुन् ।

यो ५० वर्ष पहिले खप्तड बाबाले तपस्या गरेको एक पवित्र ठाउँ पनि हो । खप्तड प्रकृति प्रेमीलाई मात्र नभई, धार्मिक पर्यटकलाई समेत उपयुक्त गन्तव्यका रुपमा चिनिँदै आएको स्थानीयबासीहरु बताउँछन् । सुदूरपश्चिम प्रदेशको सबैभन्दा प्रसिद्ध गन्तव्यस्थल खप्तड घुम्नका लागि जेठ, असारदेखि मंसिरसम्मको समय उपयुक्त मानिन्छ । चैत वैशाखमा खप्तड घुम्न गएमा रंगीविरंगी लालीगुराँस फुलेको देख्न पाइन्छ भने अहिलेको समयमा हिउँदे यामको दृश्य अवलोकन गर्न सकिन्छ ।

खप्तडको सबैभन्दा आकर्षक पक्ष हो गंगा दशहरा मेला । प्रत्येक वर्षको जेठ महिनामा यहाँ भव्य मेला लाग्ने गर्छ । सुदूरपश्चिमका नौवटै जिल्लासहित देशभर तथा छिमेकी मुलुक भारतबाट पनि यहाँ भक्तजनको भीड लाग्ने गर्दछ । आध्यात्मिक र असाधारण तपस्वीका रुपमा चिनिने खप्तड बाबाले ५० वर्षको तपस्यापछि सुदूरपश्चिमका चार पहाडी जिल्लाको सिमानामा पर्ने खप्तड क्षेत्रलाई ‘भू–स्वर्ग’ को उपनाम दिँदै संसारभर प्रचार गरेका थिए । प्रकृतिले त खप्तड धनी छ नै । धार्मिक रुपले पनि त्यत्तिकै प्रसिद्ध छ । खप्तडको त्रिवेणी मन्दिर धार्मिक रुपले महत्वपूर्ण मानिन्छ ।

गंगादशहराका दिन पूजा गरिने त्रिवेणी मन्दिरमा दर्शनार्थीहरुको ओइरो लाग्ने गर्छ । त्योसँगै खप्तड बाबाको कुटीको पनि विशेष महत्व रहेको छ । पर्यटकीय दृष्टिले खप्तड अत्यन्त उर्वर क्षेत्र हो । यहाँ पर्यटक ल्याउन सक्ने हो भने खप्तडको सिमाना जोडिएका बझाङ, बाजुरा, अछाम र डोटीका चार जिल्लाको आन्तरिक आयस्रोतमा ठूलो परिवर्तन आउने खप्तड मध्यवर्ती क्षेत्र विकास समितिका पूर्वअध्यक्ष लालबहादुर बोगटीले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया