Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकद्वारा चार महिनामा १३ अर्ब ९० करोड रुपैयाँ  पुनर्कर्जा प्रदान

राष्ट्र बैंकद्वारा चार महिनामा १३ अर्ब ९० करोड रुपैयाँ  पुनर्कर्जा प्रदान


काठमाडौं, पुस २२
नेपाल राष्ट्र बैंकले उत्पादनशील गतिविधि तथा निर्यातलाई प्रोत्साहित गर्ने उद्देश्यले सहुलियतदरमा प्रदान गरिँदै आएको पुनर्कर्जा २०७६ कात्तिक मसान्तमा १३ अर्ब ९० करोड रुपैयाँ पुुगेको जानकारी दिएको छ । यसअन्तर्गत साधारण पुनर्कर्जा ११ अर्ब ३५ करोड र निर्यात पुनर्कर्जा ६८ करोड २५ लाख रुपैयाँ उपयोग भएको राष्ट्र बैंकले जनाएको छ ।

भूकम्पपीडितलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनर्कर्जाको बक्यौता २०७६ कात्तिक मसान्तमा एक अर्ब ९१ करोड रहेको छ । यस्तो कर्जा एक हजार पाँच सय ७८ जना ऋणीले उपयोग गरेका छन् । यसैगरी राष्ट्र बैंकले कात्तिक मसान्तसम्ममा कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत १८ हजार सात सय ४३ जना ऋणीको ३९ अर्ब ८० करोड कर्जा बक्यौता रहेको छ । त्यसैगरी, सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुुई हजार एक सय २६ जना ऋणीको एक अर्ब २६ करोड कर्जा बक्यौता रहेको छ ।

यसैगरी राष्ट्र बैंकले बैंक तथा फाइनान्स कम्पनीहरुले चालू आवको पछिल्लो चार महिनामा झण्डै सात खर्ब ५० अर्ब रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेको जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार सो अवधिमा वाणिज्य बैंकहरुले छ खर्ब ९७ अर्ब दुुई करोड र विकास बैंक र फाइनान्स कम्पनीहरुले ५८ अर्ब २३ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले चार खर्ब २१ अर्ब ९१ करोड र विकास बैंक तथा फाइनान्स कम्पनीहरुले ४८ अर्ब ६९ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए ।

राष्ट्र बैंकका अनुुसार २०७५ कात्तिकमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर दुुई दशमलव २० प्रतिशत रहेकोमा २०७६ कात्तिकमा तीन दशमलव ८३ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०७५ को एक दशमलव ६८ प्रतिशतको तुलनामा २०७६ कात्तिकमा दुुई दशमलव ५९ प्रतिशत कायम भएको छ ।

वाणिज्य बैंकहरुको औसत आधार दर २०७५ कात्तिकको १० दशमलव २१ प्रतिशतको तुलनामा २०७६ कात्तिकमा नौ दशमलव ५० प्रतिशत कायम भएको छ । २०७६ कात्तिकमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर छ दशमलव ८१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२ दशमलव सात प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुुसार अघिल्लो वर्षको सोही अवधिमा यी दरहरु क्रमशः छ दशमलव ६१ प्रतिशत र १२ दशमलव २६ प्रतिशत रहेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया