Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसिमसार र चुरे संरक्षण गर्न बजेट अपुग

सिमसार र चुरे संरक्षण गर्न बजेट अपुग


काठमाडौं ।
नेपालमा रहेका सिमसार तथा चुरे क्षेत्र संरक्षण गर्न सरकारले पर्याप्त बजेटको व्यवस्था नभएको सरोकारवालाहरूले बताएका छन् । सिमसार र चुरे क्षेत्र दिनानुदिन अतिक्रमण हुने तथा नासिँदै गएको तर त्यसलाई रोक्न सरकारले कुनै चासो नदेखाएको उनीहरूको भनाइ छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व सिमसार दिवसका अवसरमा मंगलबार आयोजना गरेको कार्यक्रममा उनीहरूले सिमसार र चुरे क्षेत्र जोगाउन नागरिक नै अग्रसर हुनुपर्ने बताए । कार्यक्रममा वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपालमा रहेका सिमसार र चुरे क्षेत्र अतिक्रमण हुने तथा नासिँदै गएको स्वीकार्दै त्यसको संरक्षण गर्न सबै लाग्नुपर्ने बताए ।

जैविक विविधताको संरक्षणका लागि सबै तह र तप्काबाट सिमसार र चुरे क्षेत्र जोगाउनुपर्नेमा उनले जोड दिए । सिमसार क्षेत्र तथा तराई चुरे संरक्षणका लागि मन्त्रालयले अहम् भूमिका खेलिरहेको उनको दाबी थियो । सिमसार तथा चुरे क्षेत्रको संरक्षणका लागि मन्त्रालयले थप बजेटको समेत व्यवस्थापन गर्ने तयारी गरेको उनले जानकारी दिए ।

कार्यक्रममा वन सचिव डा. विश्वकान्त ओलीले सिमसार क्षेत्रको संरक्षणका लागि मन्त्रालयबाट विभिन्न प्रयास भइरहेको जानकारी दिए । राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीले सिमसारसँगसँगै पानीको पनि संरक्षण हुनुपर्ने बताए । उनले भने, ‘नेपालमा पानीको बढी खपत छ, पानी र सिमसारलाई संँगसंँगै राखेर संरक्षण गर्नु जरुरी देखिन्छ ।’ वन तथा भूसंरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले सिमसार क्षेत्रको संरक्षणका लागि मन्त्रालयबाट थप बजेट विनियोजन गरी कर्मचारी खटिनुपर्ने धारणा राखे ।

यस वर्ष ‘पानी, सिमसार र जीवन’ भन्ने मूल नारासहित विश्व सिमसार दिवस मनाइएको छ । सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर भएको दिनलाई आधार मानेर नेपालले हरेक वर्ष फेबु्रअरी २ मा दिवस मनाउँदै आएको छ । सिमसारको विश्वस्तरमै संरक्षण गर्न सन् १९७१ मा जलपक्षीको वासस्थानसम्बन्धी सिमसार (रामसार) महासन्धि भएको थियो । सो महासन्धिमा १६९ देश सामेल भएका थिए । नेपाल भने औपचारिकरूपमा सन् १९७१ मा महासन्धिको सदस्य बनेको हो ।

विश्वसूचीमा नेपालका १० सिमसार दर्ता भएका छन् । पानी र जमीन मिश्रित दलदल भएका, ओसिला र धापिला घोडाघोडी ताल, रारा ताल, कोशीटप्पु वन्यजन्तु आरक्ष, बीसहजारी ताल, जगदीशपुर जलाशय, शेफोक्सुन्डो ताल, माइपोखरी तथा पोखराका नौ ताल सिमसार क्षेत्रअन्तर्गत पर्छन् । पुराना अध्ययनहरूले नेपालमा सानाठूला गरी करिब चार हजार सिमसार क्षेत्र छन् ।

नेपालले पनि सिमसार क्षेत्रको महत्व आत्मसात् गर्दै विसं २०५९ मा जारी गरेको सिमसार संरक्षण नीतिलाई विसं २०६९ मा परिमार्जन र स्वीकृति दिएको थियो । त्यसमा सिमसार र त्यसको वरपर स्रोत संरक्षण गर्न ‘सिमसार कोष’ स्थापना गर्ने नीति अघि सारिएको थियो । यस्तै राष्ट्रिय सिमसार नीति, २०५९ मा उल्लेख भएअनुसार नेपालको तराईका सिमसार क्षेत्रमा मात्रै ३२ प्रजातिका स्तनधारी जनावर, ४६१ प्रजातिका चरा (तीमध्ये १५ प्रजाति दुर्लभ ), नौ प्रजातिका कछुवा, २० प्रजातिका सर्प र २८ प्रजातिका माछा पाइन्छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया