Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘पीडित’ नै ठग निस्किएपछि …एउटै घर दुई जनालाई बैना, करोडौँ ठगी

‘पीडित’ नै ठग निस्किएपछि …एउटै घर दुई जनालाई बैना, करोडौँ ठगी


काठमाडौं ।
राजधानीको माछापोखरीमा काजिराम पियाको नाममा १५ करोड मूल्य पर्ने भव्य घर थियो । सोही घर धितो राखेर उनले प्राइम बैंकबाट पटक–पटक गरी आठ करोड निकाले । तर, नियमित किस्ता तिर्न नसकेपछि उनले घर बेच्ने निधो गरे । ग्राहक खोज्दै जाँदा धादिङका चक्रबहादुर भण्डारी भेटिए । भण्डारीसँग पियाले छ करोड ४० लाख रुपैयाँमा घर बिक्री गर्ने बैनापट्टा गरे । बैनापट्टा भएको सात दिनमा घर पास गर्ने उल्लेख थियो । तर, सातौँ दिनमा उनी आएनन् ।

बैनाबापतको ५० लाख उनले बुझिसकेका थिए । केही दिनपछि काजिराम भण्डारीको सम्पर्कमा आए र भने, ‘छोरीको विवाह यही घरबाट गर्न चाहेको छु । छोरीको विवाहका लागि ३० लाख रुपैयाँ दिनुहोस् ।’ उनको अनुनयपछि भण्डारीले काजिरामलाई फेरि ३० लाख रुपैयाँ दिए । तर, पैसा पाएपछि काजिराम फेरि सम्पर्कविहीन भए । यसरी सम्पर्कविहीन भएपछि भण्डारी परिवारले खोजबिन गर्न थाल्यो । खोजबिन गर्दै जाँदा खुल्यो– उनीहरुले बैना गरेको घर त यसअघि नै अरु कसैलाई बैना गरिसकेको रहेछ ।

आफूलाई पीडित भन्दै विभिन्न मिडियामा धाइरहेका काजिरामले एउटै घर अर्घाखाँची घर भएका सविन खड्कालाई समेत बैना गरेको भेटियो । सविन खड्काबाट उनले ७० लाख ठगी गरिसकेपछि धादिङका भण्डारी बाबुछोरालाई समेत पीडित बनाएको पाइएको छ । २०७५ मंसिर १७ गते उनले बैना कागज गरेर चक्रबहादुरका छोरा गोविन्द भण्डारीलाई घर बेच्ने नाटक गरेका थिए ।

‘पहिले ५० लाख बैना गर्न दियौँ । फेरि पछि समस्या प-यो छोरीको बिहे गर्नुप-यो भनेपछि ३० लाख दियौँ’, चक्रबहादुरले आर्थिक दैनिकसँग भने, ‘बैना रकम लिएपछि काजिराम हामीबाट सम्पर्कविहीन भए । पछि बुझ्दै जाँदा हामीलाई उक्त घर बैना गर्नुअघि अर्को एक व्यक्तिलाई पनि बैना गरेको रहेछ । उसले उक्त घर पास नगर्न वडासम्मै चलखेल गरेको रहेछ ।’

ऋण तिर्नै नसकेपछि पियाको घर लिलाम गर्न बैंकले २०७६ जेठ ७ गते ३५ दिने सूचना निकालेको थियो । बैंकले लिलाम गर्ने भएपछि आफूहरुले नै लिलाम सकारेको भण्डारीको भनाइ छ । ‘म बैंकले घर लिलाम गर्दा विदेशमा थिएँ । यहाँ छोराहरुले लिलाम सकारेका हुन् । त्यस्तो कुनै सेटिङ र मिलेमतो छैन । बैंकका अध्यक्षलाई पनि मैले चिनेको छैन’, भण्डारीको दाबी छ ।

यता काजिरामले भने आफ्नो घर बैंकले नै मूल्यांकन गरेभन्दा थोरैमा सेटिङमा लिलाम बिक्री गरिएको आरोप लगाउँदै आएका छन् । बजार मूल्यअनुसार १५ करोड रुपैयाँ पर्ने घर बैंकले पाँच करोड ११ लाखमै लिलाम बिक्री गरेको उनको आरोप छ । बैंकले लिलाम गरेको घर जिल्ला अदालतमा मुद्दा परेपछि यतिबेला अदालतले रोक्का गरिदिएको छ । तर, यता भण्डारी परिवार भने बैंकलाई नियमित किस्ता बुझाउँदै आएको बताउँछ ।

‘अदालतले घर रोक्का राखेको छ । न घर प्रयोग गर्न पाइएको छ । न घरबाट कुनै आम्दानी भएको छ । तर, नियमित किस्ता बुझाइरहेका छौँ’, उनले भने, ‘हामी झनै समस्यामा छौँ । घरको संरचना परिवर्तन गरेर अलि राम्रो बनाउन पनि सकेका छैनौँ ।’ काजिरामले बालाजुस्थित रहेको हाल रोक्का रहेको घर भण्डारीलाई बैना गर्नुअघि नै २०७५ साउन २८ गते अर्घाखाँची घर भएका सविन खड्कालाई छ करोड २५ लाखमा बिक्री गर्न बैना गरेका थिए । खड्काबाट बैनाबापत ७० लाख रुपैयाँ लएर पियाले उक्त रकम नतिरी फरार रहेको कागजातमा देखिन्छ ।

पियाबाट पीडित बनेका खड्काले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका थिए । उनको मुद्दामा जिल्ला अदालत काठमाडौंले घरधनी भनिएका काजिराम पियाबाट ब्याजसहित ७५ लाख रुपैयाँ रकम तिराउने फैसला गरेको पाइएको छ । भण्डारीको समेत ८० लाख रुपैयाँ बैना रकम लिएर बेपत्ता भएका काजिरामविरुद्ध उनले महानगरीय अपराध महाशाखामा जाहेरी दिएका थिए ।

जाहेरीपछि पक्राउ परेका पिया केही दिन हिरासत बसेर छुटेका थिए । उनलाई ठगी मुद्दामा प्रहरीले पटक–पटक पक्राउ गरेको पाइएको छ । पीडित हुँ भन्दै आएका काजिरामले आफ्नो काठमाण्डु ट्रेडर्सको नाममा दर्जनौँ व्यक्तिलाई ठगी गरेको स्रोतले जनाएको छ । लकडाउनको समयमा उनलाई प्रहरीले २१ दिनसम्म थुनामा राखेको थियो । तर, उनीबाट पीडित भएकाहरु लकडाउन भएका कारण प्रहरीमा उजुरी गर्न जान नपाएको एक पीडितले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया