Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारधौवादी फलाम खानीमा ३६ प्रतिशत शुद्ध फलाम

धौवादी फलाम खानीमा ३६ प्रतिशत शुद्ध फलाम

फलामको मात्रा प्रचुर मात्रामा भेटियो : प्रतिवेदन


काठमाडौं ।
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नम्बर ५ को धौवादी डाँडामा भेटिएको फलाम खानीबाट ३६ प्रतिशत फलाम अर्थात् शतप्रतिशत फलामको धाउ (कच्चा पदार्थ) निकाल्दा ३६ प्रतिशत शुद्ध फलाम प्राप्त हुने अध्ययन प्रतिवेदनले निष्कर्ष निकालेको छ । खानीमा फलामको धाउ २० देखि ५६ प्रतिशत रहे पनि शतप्रतिशत फलाम धाउ निकाल्दा शुद्ध फलाम ३५ देखि ३६ प्रतिशत प्राप्त हुने खानी तथा भूगर्भ विभागले जानकारी दिएको हो ।

विभागका उप–महानिर्देशक जयराज घिमिरले खानीबाट निकाल्ने १०० टन फलाम धाउमा ३६ टन फलाम प्राप्त गर्न सकिने बताए । ‘एकपटक फलामको धाउ निकाल्दा करिब ६४ प्रतिशत कच्चा पदार्थ खेर जान्छ तर त्यो खेर जाने कच्चा पदार्थ भने विभिन्न प्रयोजनको लागि प्रयोग गर्न सकिन्छ’, उपमहानिर्देशक घिमिरले आर्थिक दैनिकसँग भने, ‘के–केमा प्रयोग गर्न सकिन्छ भन्ने कुरा भने सम्भाव्यता अध्ययन गरेपछि मात्र भन्न सकिन्छ ।’

धौवादी डाँडामा भेटिएको धौवादी फलाम खानीमा फलामको मात्रा कति छ भनेर परीक्षणको लागि कच्चा पदार्थ चीनको सिचुआन इन्स्टिच्युट अफ मेटालजिकल जिओलोजी एण्ड एक्स्प्लोरेसन छेन्दुमा पठाइएको थियो । चीनमा गरिएको पाइलट परीक्षणको क्रममा फलामको मात्रात्मक स्थिति थाहा भएसँगै सोही रिपोर्टको आधारमा विभागले शुद्ध फलामको मात्रा सार्वजनिक गरेको हो ।

यस्तै खानीबाट उत्पादित फलाममार्फत स्टिलको समेत उत्पादन गर्न सकिनेछ । ‘फलाम उत्पादन गरेपछि स्टिल उत्पादन भनेको एक प्रकारको प्रक्रिया हो’, निर्देशक घिमिरेले भने, ‘स्टिल उत्पादन गर्दा फलामलाई पोलिस गर्ने हो यसका लागि आयोजनास्थलमा छुटै एकाइ आवश्यक पर्छ ।’

यस्तै सरकारले हजारदेखि १५ सय टन प्रतिदिन उत्पादन गर्ने योजना बनाएको छ भने यसका लागि एक हजार क्षमताको प्लान्ट आवश्यक पर्ने विभागले जानकारी दिएको छ । सरकारको उत्पादन योजनालाई अघि बढाउन भूमिगत लाइनिङबाट सम्भव रहेको उनले बताए । खानी रहेका विभिन्न स्थामा डिलिङ गरेर फलामको धाउ निकाल्न सकिन्छ ।

३६ प्रतिशत फलाम प्राप्त हुने भएसँगै त्यसको उत्खननको लागि कस्तो योजना तथा प्रविधि आवश्यक पर्छ भन्ने विषयमा समेत चिनियाँ प्रतिवेदनमा उल्लेख गरिएको जानकारी गराइएको बताउँदै उपमहानिर्देशक घिमिरेले भने, ‘त्यसैले गर्दा अब हामी सो मात्रामा फलाम उत्खननको लागि कस्तो योजना आवश्यक छ भनी अध्ययन गरी अघि बढ्ने छौँ ।’

नेपालका भूगर्भविद्हरुले गरेको अध्ययनमा समेत यहाँको कच्चा पदार्थमा ५० प्रतिशतभन्दा बढी फलाम निकाल्ने तत्व भेटेका थिए । उनीहरुले गरेको अध्ययनअनुरुप विभिन्न क्षेत्रको कच्चा पदार्थमा ५८ प्रतिशतसम्म फलाम निकाल्ने तत्व भेटिएको छ भने फलाम खानीका लागि ६० प्रतिशत हेमटाइडेवर उत्तम र ३० देखि ६० प्रतिशत मुनि मध्यम खालको मानिएको छ । उनीहरुले सरकारलाई बुझाएको प्रतिवेदनमा धौवादी क्षेत्रमा भेटिएको फलाम खानीमा च्यानल ग्याप कम रहेकोले फलामको मात्रा प्रचुर मात्रामा रहेको निष्कर्ष निकालेका थिए । सरकारले गत वर्षको बजेटमा नै सो स्थानबाट फलाम निकाल्नको लागि धौवादी फलाम कम्पनी लिमिटेड बजेटमा गठन गरेको थियो ।

हुम्सीकोट र बौदीकाली गाउँपालिकाको १० किलोमिटरमा फैलिएको सो फलाम खानीबाट सरकारले चालू आर्थिक वर्ष (०७७/७८) देखि व्यावसायिक उत्पादन गर्ने बताउँदै आफ्नो नीति तथा कार्यक्रममा उक्त कार्यक्रम राखेको थियो । गत शुक्रबार काठमाडौंमा आयोजित आमसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उक्त फलामखानीबाट चाँडै नै उत्पादन सुरु गरिने दाबी गरेका थिए । प्रधानमन्त्रीले देशका अन्य भागमा देखिएको पेट्रोल, ग्यासलगायतका खानी पनि चाँडै सञ्चालन गर्ने दाबी गरेका थिए ।

हुप्सेकोट गाउँपालिकाले भने खानी सञ्चालनमा आएसँगै सो स्थानमा रहेका चार सय घर परिवारका करिब २८ सय बासिन्दा विस्थापित हुने बताएको छ । फलाम खानीका कारण हुप्सेकोट गाउँपालिकाका वडा नं ४, ५, ६ का चार सयभन्दा बढी र बौदीकाली गाउँपालिका विशेष गरी वडा नं ५ का करिब दुई सय घर परिवार विस्थापित हुने बताइएको छ । विभागले २०६८ सालबाट धौवादी खानीको अध्ययन सुरु गरेको थियो भने यसको कार्यालय विभाग परिसरमै रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया