Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअमेरिकाले नेपालको शिक्षामा गरेको लगानी थप गर्न सक्ने

अमेरिकाले नेपालको शिक्षामा गरेको लगानी थप गर्न सक्ने


काठमाडौं ।
नेपालका लागि अमेरिकी राजदूत -यान्डी बेरीले अमेरिकाले नेपालको प्राथमिकदेखि दूर शिक्षामा गरेको लगानीमा थप सहयोग गर्नसक्ने बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठसँग सोमबार भेट गर्दै राजदूत बेरीले अमेरिकामा नयाँ सरकार आए पनि सम्बन्ध विकास र साझेदारीमा कुनै परिवर्तन नहुने स्पष्ट पारेका छन् ।

अमेरिकी सरकारले नेपाललाई बहुपक्षीय ढंगबाट सहयोग गर्ने उनले जानकारी दिए । उनले भने, ‘नेपालप्रति अमेरिकी सरकारको कुनै नीति परिवर्तन भएको छैन, सहयोगका कार्यक्रमलाई निरन्तरता दिनेछौँ ।’ राजदूत बेरीले विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ नियन्त्रणमा अमेरिकाले नेपाललाई थप सहयोग गर्ने पनि बताए ।

भेटमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले अमेरिका सरकारले नेपालको शिक्षा क्षेत्रमा गरेको योगदान प्रशंसनीय रहेको बताए । उनले भने, ‘विशेषगरी शिक्षा विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसडीपी) दूर र प्राथमिक शिक्षाको विकासमा अमेरिकी सरकारले गरेको सहयोग महत्वपूर्ण रहेको छ ।’ साथै उनले नेपाल र अमेरिकाबीचको वर्षौंसम्मको सम्बन्ध अझै सुमधुर रहने बताए ।

विपत्को समय होस् वा कोरोना संक्रमण नियन्त्रण गर्न अमेरिकी सरकारले उपलब्ध गराएको सहयोगले दुई देशको सम्बन्ध अझै सुमधुर बन्न पुगेको उनको भनाइ थियो । उनले हालै निर्वाचित अमेरिकी राष्ट्रपति जो वाइडन र उपराष्ट्रपति कमला ह्यारिसको कार्यकाल सफलताको शुभकामना दिएका थिए । भेटमा सहभागी शिक्षा सचिव गोपीनाथ मैनालीले अमेरिकाले नेपालको शिक्षा अनुसन्धानमा गरेको लगानी महत्वपूर्ण रहेको बताए ।

उनले विद्यालय क्षेत्र सुधार परियोजना, दूर र विद्यालय शिक्षामा अमेरिकी सहयोग नियोग यूएस आईडीले महत्वपूर्ण सहयोग गरेको उनको भनाइ थियो । सचिव मैनालीले लिंकन स्कुलको विषयमा देखिएको समस्या समाधान गर्न मन्त्रालय तयार रहेको पनि बताए । उनले भने, ‘गृह, परराष्ट्र, अर्थ र शिक्षा मन्त्रालयबीचको समन्यमा मात्र समस्या समाधान हुने स्पष्ट पार्दै त्यसको लागि शिक्षा मन्त्रालयको तर्फबाट तत्काल प्रक्रिया अघि बढाइनेछ ।’

मन्त्री श्रेष्ठले लिंकल स्कुलको विषयमा चासो राख्दै सरकारी तवरबाट समस्या समाधान गर्ने बताए । अमेरिकी विकास सहयोग नियोग यूएसईआईडीका निर्देशक सेपेड केभ्यानसडले विगत वर्षमा काम गर्न केही अप्ठ्यारो महसुस भएको उल्लेख गर्दै फरक परिस्थितिको कारण अहिले केही सहज हुने अपेक्षा राखेका थिए । उनले सन २०२० देखि २०२२ सम्म ३२ मिलेनियम डलर सहयोग भइरहेको बताए । साथै उनले २०२१–२०२५ सम्म निरन्तर सहयोग गरिरहने बचनबद्धता व्यक्त गरे । मन्त्री श्रेष्ठले आफ्नो कार्यकालमा दुई देशबीचको सहयोग र सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया