Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपटक–पटक कारबाही गर्दा पनि रोकिएन बीकेएम मसलाको राजस्व छली

पटक–पटक कारबाही गर्दा पनि रोकिएन बीकेएम मसलाको राजस्व छली


विराटनगर ।
विराटनगरमा रहेको बीकेएम मसला उद्योग राजस्व छली गरेको अभियोगमा आन्तरिक राजस्व कार्यालयबाट पटक–पटक कारबाहीमा परिरहेको छ । तर कम्पनीले राजस्व छल्न भने छाडेको छैन । स्रोतका अनुसार विवेक अग्रवालको बीकेएम मसला उद्योगले एक लाख ३७ हजार नौ सय ५३ रूपैयाँको बिलबिजक बनाउनुपर्ने थियो । तर उक्त फर्मबाट बिलबिजक नै जारी नगरी करिब ८४ हजार रूपैयाँको मूल्य अभिवृद्धि कर छली गर्ने प्रयास गरेको पाइएको छ ।

फर्मका सञ्चालक बिवेक अग्रवाललाई तीन वर्षदेखि नै राजस्व चुहावट गरेको भन्दै राजस्व अनुसन्धान सुनसरी र आन्तरिक राजस्व कार्यालय विराटनगरले पटक–पटक कारबाही गर्दै सचेत समेत गराउँदै आएको छ । पटक–पटक कारबाहीमा पर्दा पनि उनले अझै सुध्रिने छाँट देखाएका छैनन् ।

यसअघि अग्रवालको परिवार विराटनगरमा केही वर्षदेखि फरार मङतुराम समूहको अन्नपूर्ण सोप एण्ड केमीकल्स उद्योगमा समान्य जागिरेका रूपमा काम गर्दै आएको थिए । जागीरबाट खासै उपलब्धि हात नपरेपछि विवेकले बीकेएम मसाला उद्योग सञ्चालन गरी छोटो समयमा राम्रो कारोबार गर्दै आएको जानकारहरू बताउँछन् ।

साथै हाल अग्रवालले ठूलो–ठूलो रकममा समेत व्यापक मूल्य अभिवृद्धि कर ठगी गरी राजस्व चुहावट गर्नेगरेका छन् । न्यून राजस्व बुझाएर चोरी गर्न सञ्चालक सफल हुँदै आएको भए पनि यसपटक आन्तरिक राजस्व कार्यालयले बीकेएम मसला उद्योगबाट कागजात नियन्त्रणमा लिई कारबाही गर्नुपर्ने अवस्था आएको आराका कर्मचारीहरू बताँउछन् ।

बीकेएम मसला उद्योगले बिलबिजक जारी गर्दा सक्कली बिलमा कम मूल्य कायम गर्ने र नक्कली बिलमा बढी मूल्य कायम गरी आफ्ना बिक्रेतासँग असुली गर्ने नयाँ फर्मुला अपनाएको छ । अग्रवालले विशेष गरी चारवी सप्लायर्सका नाममा गरेको व्यावसायिक कारोबार पछिल्लो समय विवादमा आएको हो ।

यसै विषयमा नै विगतमा समेत पटक पटक बीकेएम मसला उद्योगलाई राजस्व अनुसन्धान इटहरीबाट छापा मारी ठूलो रकम जरिवाना गरेको थियो । यसरी पटक–पटक कारबाहीमा पर्दा र सरकारलाई राजस्व ठग्ने गर्दा समेत बीकेएम मसला उद्योग र सञ्चालक विवेक अग्रवाललाई कुन निकायबाट संरक्षण रहेको छ भन्ने विषय अहिलेसम्म पत्ता नलागेको यहाँका व्यवसायीहरू बताउँछन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया