Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१० प्रतिशत कमिसन नपाएपछि गैरकानुनी रुपमा निगमको टेण्डर रद्द भएको खुलासा

१० प्रतिशत कमिसन नपाएपछि गैरकानुनी रुपमा निगमको टेण्डर रद्द भएको खुलासा


काठमाडौँ ।

नेपाल वायुसेवा निगमको ए३३०–२०० विमानको पीबीएच (पावर बाई आवर)को आधारमा कम्पोनेन्ट सपोर्ट लिनको लागि गरिएको टेण्डरमा कम्पनीको छनौटमै र एयरबस ३२० विमानको मर्मतको टेण्डरमा सम्झौता गर्ने बेलामा छनौटमा परेको कम्पनीसँग कमिसनको रकम नमिलेको कारण गैरकानुनी तरिकाले टेण्डर रद्द गरेको खुलासा भएको छ ।

निगमका तत्कालीन महाप्रबन्धक मदन खरेलले ती दुई टेण्डरमा मुख नै खोलेर अग्रिम दश प्रतिशत कमिसन माग गरेको र उक्त रकम दिन टेण्डरमा भाग लिएका कम्पनीहरुले अस्वीकार गरेपछि त्यसको रिसको झोकमा उनले गैरकानुनी तरिकाले टेण्डर नै रद्द गरिदिएको खुलासाभएको हो ।

निगम स्रोतका अनुसार निगमको ए३३० का लागि आह्वान गरेको टेण्डरमा न्यूनतम रकम कबोल गर्ने कम्पनीको प्रस्ताव मूल्यांकनमा समावेश नै नगरी ठूलो आर्थिक चलखेल भएको थियो । न्यूनतम रकम कबोल गर्ने कम्पनीसँग पत्राचार गर्ने नाममा लेनदेनको वार्ता गरेको तर नमिलेपछि उक्त विषयलाई पत्राचारमा मात्र सीमित बनाएर खरेलले महंगोमा काम गर्ने कम्पनी छनौट गरेको स्रोतको दाबी छ ।

हचुवाको भरमा न्यूनतम कबोल गर्ने कम्पनीको प्रस्ताव निगम व्यवस्थापनले अस्वीकृत गरे पनि उसको प्राविधिक प्रस्ताव अत्यन्त राम्रो भएको देखिएको स्रोतको दाबी छ । संघीय संसद्को तत्कालीन प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले २०७५ साल चैतमै गरेको अध्ययनमा पनि निगम व्यवस्थापनले बदमासी गरेको फेला पारेको थियो । प्राविधिक रुपमा योग्य र कम आर्थिक प्रस्ताव गर्ने कम्पनीको टेण्डरमा नेपालबाट नजिकको स्टेसनमा सेवा प्राप्त हुने थियो भने जहाज ल्याउन र लैजान अतिरिक्त खर्च नलाग्ने थियो ।

उक्त स्थान निगमको उडान रुटमा पर्ने, गुणस्तरीय सेवा प्राप्त हुने सुनिश्चित रहेको र समय तथा खर्चमा समेत बचत हुने थियो । साथै कम रकम पेश गर्ने कम्पनीले निगमलाई पत्राचार गरेर प्रस्ताव गरिएको मूल्यमा थप १० प्रतिशत मूल्य घटाई काम गर्न तयार रहेको समेत जनाएको स्रोतको दाबी छ । निगमको मागअनुसारको सबै इन्जिन स्पेयर्स (रोटेबल) समावेश गर्ने प्रस्तावलाई हटाएर निगम व्यवस्थापनले ठूलो आर्थिक चलखेल गरेको संसद्को लेखा समितिले पनि ठहर गरेको थियो ।

लेखा समितिले निगमको व्यवस्थापनले त्यसरी प्रस्ताव अस्वीकृत गर्नुलाई भ्रष्टाचारजन्य काम भन्दै निगमलाई प्राप्त चारवटै प्रस्ताव र प्राप्त थप प्रस्तावसमेतलाई समावेश गरी सार्वजनिक खरिद ऐन, २०६३, नियमावली २०६४ र निगमको आर्थिक विनियमावलीअनुरुप नै न्यूनतम कबुल गर्ने प्रभावग्राही रहेको कम्पनीको प्रस्ताव स्वीकृत गर्न निगम व्यस्थापनलाई निर्देशन दिए पनि त्यसको कार्यान्वयन हुनसकेको छैन ।

यस्तै, निगमको ए३२० को लागि भएको टेण्डर निगम सञ्चालक समितिले सहमति दिएको तर उक्त टेण्डर रद्द गर्दा सञ्चालक समितिबाट अनुमति नलिई गैरकानुनी रुपमा गरेको पनि देखिएको छ । यसलाई पनि संसद्को लेखा समितिले गैरकानुनी काम भन्दै निगमको व्यवस्थापनमाथि प्रश्न गरेको थियो । उक्त टेण्डरको प्रस्तावमध्ये कुनैमा ४५ प्रतिशतसम्म छुट भएको थियो । ४५ प्रतिशत छुट दिने प्रस्ताव प्राविधिक रुपमा प्रभावग्राही देखिए पनि टेण्डर रद्द गरेको थियो । उक्त कार्य पनि प्रस्ताव गर्ने कम्पनीसँग निगम व्यवस्थापनले लेनदेनको बार्गेनिङ गरेका तर नमिलेको कारण रद्द गरेको स्रोतको दाबी छ ।

लेखा समितिले गरेको अध्ययनमा उक्त टेण्डर रद्द गर्नुमा निगम व्यवस्थापनले निगमको आर्थिक विनियमावलीका २१८ र २२३ का प्रावधानहरुलाई देखाए पनि विनियमावलीमा दुवै प्रावधानहरु एकै टेण्डरबाट गर्न नमिल्ने उल्लेख नभएको र विनियमावली २२३ विशेष परिस्थितिमा लागू हुने सोही विनियमावलीको विवरणमा देखिएकोले रद्द गर्नुको मनासिव कारण नपाइएको भन्दै टेण्डर रद्द गर्दा निगमलाई ठूलो आर्थिक नोक्सानी भएको जनाएको छ ।

निगम व्यवस्थापनको उक्त गैरकानुनी निर्णयले इन्जिन लिजमा लिन दुविधा पैदा हुने, ढिलासुस्तीले निगमलाई थप ठूलो आर्थिक नोक्सानी र नियमित कार्य सञ्चालमा बाधा उत्पन्न भएको छ । निगमको ए३२० को लागि भएको टेण्डर रद्द गर्ने काममा बदनियत देखिए पनि निगमले त्यसलाई सुधार गर्ने काम गरेको छैन । खरेलले अन्य विषयमा पनि त्यसैगरी बार्गेनिङ्ग गरेको कुरा खुलेपछि प्रधानमन्त्री केपी शर्मा ओलीकै दबाबमा उनले राजीनामा दिएका थिए । खरेल झापाको भएको कारण निगममा नियुक्ति पाएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया