Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल–भारत व्यापार सहजीकरण र लगानी विस्तारबारे छलफल

नेपाल–भारत व्यापार सहजीकरण र लगानी विस्तारबारे छलफल


काठमाडौं ।
नेपाल र भारतबीच व्यापार सहजीकरण र नेपालमा लगानी विस्तारका बारेमा नेपाल उद्योग परिसंघ र भारतीय दूतावासका प्रतिनिधिबीच छलफल भएको छ । छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा लगानी गरे राम्रो मुनाफा आर्जन गर्नसक्ने बताउँदै लगानी विस्तार गर्नको लागि आग्रह गरे ।

नेपाल उद्योग परिसंघमा धेरै लगानीकर्ताहरु आबद्ध रहेकोले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्नको लागि सहज वातावरण बनाउन परिसंघ तयार रहेको उनको भनाइ थियो । राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन प्रतिस्पर्धी उद्योग व्यवसायको वातावरण तयार गरेर मात्र देशको प्रगति हुनसक्ने उनले बताए । नेपाल–भारतबीच देखिएको व्यापार घाटालाई कसरी कम गर्दै जाने सम्बन्धमा समेत परिसंघले चासो व्यक्त गरेको छ ।

नेपाल र भारतबीचमा भएका कतिपय व्यापार सन्धिहरुले अहिलेको समयमा दुई देशबीचको व्यापारमा असहज भइरहेको उल्लेख गर्दै उनले त्यसलाई सहज बनाउँदै जानुपर्ने बताए । नेपालमा उत्पादन हुने वस्तुहरु भारत निर्यात गर्दा ननटेरिफ बेरियरको समस्या रहेकोले त्यसलाई सहजीकरण गर्नको लागि परिसंघले आग्रह गरेको छ । त्यसैगरी अतिरिक्त ड्युटिज र चार्जहरु भएकोले दुई देशबीचको व्यापारमा समस्या आएको बताउँदै यसलाई सहज गर्नुपर्ने परिसंघको भनाइ छ ।

छलफलमा दूतावासका प्रथम सेक्रेटरी अभिशेक उपाध्यायले कुनै पनि उत्पादनको स्ट्याण्डर्डमा दुवै देशबीच समस्या देखिने गरेकोले यसलाई कसरी सहजीकरण गर्न सकिन्छ त्यसर्फ ध्यान दिने बताए । यस्ता विषयमा नेपाल र भारतका गुणस्तर निर्धारण गर्ने निकायबीच पनि छलफल गरी समस्यालाई समाधान गर्नुपर्ने उनको भनाइ थियो । नेपालमा भारतीय लगानी विस्तार गर्नको लागि दूतावासको तर्फबाट सम्बन्धित पक्षसँग परामर्श गरी परिसंघसँग आगामी दिनमा सहकार्य गरी अघि बढ्दै जाने उनले बताए ।

लगानीको वातावरण तयार गर्नको लागि आगामी दिनमा परिसंघ र दूतावासबीच छलफल गरी विभिन्न क्षेत्रका अवसरहरुलाई उजागर गरी लगानीकर्ताले चाहेको क्षेत्रमा लगानी विस्तार गर्न परिसंघले सहजीकरण गर्ने बताएको छ । उच्च प्राथमिकतामा लगानी गर्न चाहेका क्षेत्रहरुको पहिचान गरी सोहीअनुसार लगानीको आगामी मार्गचित्र तयार गर्नुपर्ने धारणा परिसंघको रहेको छ । नेपालमा वैदेशिक लगानीका क्षेत्रहरु धेरै रहेकोले आईटी, गार्मेन्ट, शिक्षा, औषधि उत्पादनलगायतका क्षेत्रमा नेपालमा लगानीको सम्भावना भएकोले त्यसतर्फ पनि लगानी भित्र्याउन सकिने सम्बन्धमा छलफल भएको छ ।

परिसंघले नेपाल सरकारबाट भारतलगायत सार्क मुलुकमा समेत उत्पत्तिको प्रमाणपत्र जारी गर्न अनुमति पाएकोले आगामी दिनमा नेपालको निर्यात प्रवद्र्धनमा थप सहज हुने छलफलमा बताइएको छ । छलफलमा परिसंघको तर्फबाट उपाध्यक्षहरु क्रमशः अनुज अगरवाल, सुलभ अग्रवाल र वीरेन्द्रराज पाण्डेको उपस्थिति थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया