Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपूर्वाधार क्षेत्रमा लगानी गर्न १० अर्बको कोष सञ्चालनमा ल्याउने तयारी

पूर्वाधार क्षेत्रमा लगानी गर्न १० अर्बको कोष सञ्चालनमा ल्याउने तयारी


काठमाडौं ।
सरकारको पाँच प्रतिशत लगानी रहनेगरी पूर्वाधार क्षेत्रमा लगानी गर्नेगरी १० अर्ब रुपैयाँको कोष सञ्चालनमा ल्याउने तयारी थालिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्नेगरी उक्त कोष स्थापना गरी सञ्चालनमा ल्याउने तयारी थालिएको हो । त्यसका लागि संघले नेपालमा छुट्टै कम्पनी दर्ताको कार्य अघि बढाएको छ ।

अर्थ मन्त्रालयमा बसेको बैठकमा उक्त कोषमा नेपाल सरकारको तर्फबाट पूर्वसहमतिबमोजिम पाँच प्रतिशत लगानी गर्ने निर्णय भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल उक्त कोष सञ्चालन गर्न रकमसहित आवश्यक अन्य सहयोग गर्ने बताउँदै एक हप्ताभित्र कम्पनीको दर्ता प्रक्रिया टुंगो लगाएर काम सुरु गर्न गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तलाई आग्रह गरे ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले अहिले कम्पनी दर्ताको प्रक्रिया रहेको बताउँदै छिटै दर्ता भई काम सुरु हुने जानकारी दिए । पन्तका अनुसार कम्पनीमा गैरआवासीय नेपाली संघको १० प्रतिशत सेयर रहनेछ भने ८५ प्रतिशत विदेशमा रहेका नेपालीहरूको सेयर हुनेछ । गैरआवासीय नेपालीहरूको लगानीका लागि आईपीओ जारी गरिनेछ । अध्यक्ष पन्तले लगानीका क्षेत्रहरूबारे पनि प्रस्तावहरू आइसकेको जानकारी दिए । उनले विदेशमा रहेका नेपालीहरू नेपालमा पूर्वाधारको क्षेत्रमा लगानी गर्न उत्सुक रहेको बताए ।

बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, अर्थसचिव शिशिरकुमार ढुंगाना, राजस्व सचिव रामशरण पुडासैनी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलगायत सहभागी थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया