Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रधानमन्त्रीद्वारा लुम्बिनी केबुलकारको शिलान्यास

प्रधानमन्त्रीद्वारा लुम्बिनी केबुलकारको शिलान्यास


काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी केबलकारको शिलान्यास गरेका छन् । बुटवलमा शनिबार आयोजित एक कार्यक्रमका बीच उनले केबुलकारको शिलान्यास गरेका हुन् । बुटवल उपमहानगरपालिका— ३, बमघाटमा तल्लो स्टेसन रहने लुम्बिनी केबुलकार पाल्ला जिल्लाको तिनाउ गाउँपालिकास्थित बसन्तपुर डाँडासम्म गरी कुल तीन किलो मिटर लामो हुनेछ । यसबाट १० मिनेटको यात्रामा तराई, पहाड तथा हिमाली भू–भागको दृश्यावलोकन गर्न सकिनेछ ।

लुम्बिनी प्रदेशकै आर्थिक केन्द्र तथा बुद्ध जन्मथल निकट रहने यो केबलकारले नेपालको आन्तरिक तथा बाह्य पर्यटनको विकास र विस्तारका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले कोभिड–१९ महाव्याधिका कारण सर्वाधिक प्रभावित पर्यटन क्षेत्रलाई उकास्न लुम्बनी केबुलकार महत्वपूर्ण योजना बन्ने बताए ।

लुम्बिनी भ्रमणका लागि आउने जो कोहीका लागि पनि केबुलकार एउटा पुग्नै पर्ने गन्तव्य बन्ने उनको भनाइ थियो । लुम्बिनी क्षेत्र आदि मानव रामापिथेकसको अवशेष फेला परेको र कपिल मनु, गौतम बुद्ध, योगका प्रवर्तक पतञ्जली, संस्कृत व्याकरण निर्माता पाणिनिजस्ता ऋषिहरुको थलो भएको पनि उनले बताए ।

भौगोलिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले अब्बल भए पनि यो क्षेत्र विभिन्न कारणले पछिपरेको बताउँदै प्रधानमन्त्रीले अब सरकारसहित सबै क्षेत्र मिलेर अघि बढाउनुपर्ने बताए । यसका लागि सरकारले पूर्वाधारमा लगानी गरिदिने उनको भनाइ थियो । साथै प्रधानमन्त्रीले अबको एक वर्षसम्ममा केबुलकार सञ्चालनमा आउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुिम्बनी क्षेत्रको पर्यटन उकास्न केबुलकार सफल परियोजना बन्ने बताए । यसैगरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केबुलकार व्यावसायिक दृष्टिले समेत उपयोगी परियोजना बन्ने देखिएको भन्दै यसले समृद्धि प्राप्तिमा बहुआयामिक योगदान गर्नसक्ने बताए ।

मोनेकेवल डाटाकेवल गनडोला प्रणालीको लुम्बिनी केबुलकारमा बटम स्टेसनदेखि टप स्टेसनसम्म पुग्न १० मिनेट लाग्नेछ । यो केबुलकारले प्रतिदिन छ हजार यात्रुलाई समुद्री सतहबाट नौ सय ४० मिटर उचाइमा बसन्तपुर डाँडामा पु-याउनेछ ।

कुल अनुमानित लागत तीन सय ५० करोड रुपैयाँ रहेको यो केबुलकारले देशको आर्थिक तथा पर्यटकीय क्षेत्रलाई महत्वपूर्ण योगदान पु-याउन सक्ने अपेक्षा गरिएको छ । यससँगै बसन्तपुरमा रहेको दुर्गामाताको मन्दिरलाई पुनरोत्थान गरी एउटा नयाँ धार्मिक गन्तव्य बनाइने जानकारी पनि कार्यक्रममा दिइएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया