Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकरिब १७ वर्षसम्म उठाइएन एयरलाइन्स कम्पनीको बक्यौता रकम

करिब १७ वर्षसम्म उठाइएन एयरलाइन्स कम्पनीको बक्यौता रकम

रकम नउठ्नु कर्मचारीको चरम लापरबाही : प्राधिकरण


काठमाडौँ ।
एयरलाइन्स कम्पनीहरुले नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट सेवा सुविधा लिएबापत प्राधिकरणलाई दिनुपर्ने रकम करिब १७ वर्षसम्म नतिरेको पाइएको छ ।एयरलाइन्स कम्पनीहरुले प्राधिकरणसँग विमानस्थलको प्रयोग अर्थात् ल्यान्डिङ, पार्किङ र ‘एयर नेभिगेसन’ सेवा (एएनएसपी) र ‘एयरड्रोमा’का सुविधाहरु लिने गर्छन् भने सो सुविधा लिएबापत उनीहरुले सेवा शुल्क तिर्नुपर्ने हुन्छ । तर, प्राधिकरणको हकमा भने यसरी सेवा सुविधा लिएका ११ वटा एयरलाइन्स कम्पनीहरुले सुविधा लिएबापत बक्यौता रकम हालसम्म तिरेका छैनन् ।

११ वटा एयरलाइन्स कम्पनी वा एयरलाइन्समा नेकोन एयर, शिवानी एयर, अल्पाइन एयर, गोरखा एयर, कर्णाली एयर, माउण्टेन एयर, सांग्रिला एयर, स्काइलाइन एयरवेज, एयर काष्ठमाण्डप र नेपाल एयरेवज रहेका छन् ।प्राधिकरणले सूचना नै प्रकाशित गरी ती एयरलाइन्स कम्पनीहरुले बक्यौता रकम नतिरेको बताएको छ भने ती कम्पनीहरु बन्द समेत रहेको छ ।

यसैबीच प्राधिकरणले करिब २०६० सालदेखि ती एयरलाइन्स कम्पनीहरुले विमानस्थलमा सुविधा लिए पनि बक्यौता रकम नतिरेको बताएको छ । यति लामो समयसम्म रकम नतिर्दा प्राधिकरण भने मूकदर्शकबनेर बसेको छ ।हामीले सुविधा दिएबापत एयरलाइन्स कम्पनीबाट लिनुपर्ने रकम नलिएर गल्ती गरेको प्राधिकरणका एक अधिकारीको भनाइ छ ।

‘म अहिले प्राधिकरणमा कार्यरत छु तर यसभन्दा अघिका कर्मचारीले समेत बक्यौता रकम उठाउनलाई ध्यान नदिनु भनेको हाम्रो लापरबाही हो’, ती कर्मचारीले आर्थिक दैनिकसँग भने, ‘अहिले भने हामीले प्रयास गरिरहेका छौँ, यसअघि पनि प्रयास भएको छ तर त्यो पर्याप्त भने नभएकै हो ।’

सूचना प्रकाशित गरेपछि भने बन्द ११ वटा कम्पनीमध्ये केही कम्पनीहरु प्राधिकरणको सम्पर्कमा आएको प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले बताए । विमानस्थल प्रयोग गरेबापत नेकोन एयर, शिवानी एयर, अल्पाइन एयरसहित ११ वटा कम्पनीले प्राधिकरणलाई बक्यौतास्वरुप करिब १० करोड रुपैयाँ तिर्न बाँकी रहेको छ । बन्द रहेका ११ वटा एयरलाइन्स कम्पनीहरुले नौ करोड ६८ लाख ७४ हजार बक्यौता रकम रहेको छ । जसमध्ये सबैभन्दा बढी नेकोन एयरको चार करोड ७० लाख ६० हजार रहेको छ भने शिवानी एयरको ५५ लाख, अल्पाइन एयरको ७२ हजार, गोरखा एयरको २० लाख ३५ हजार, कर्णाली एयरको १७ लाख ४६ हजार बक्यौतारकम रहेको छ ।

यस्तै माउण्टेन एयरको एक लाख २७ हजार, कस्मिक एयरको तीन करोड ४७ लाख ५८ हजार, सांग्रिला एयरको १५ लाख ३७ हजार, स्काइलाइन एयरवेजको १५ लाख ५० हजार, काष्ठमण्डप एयरलाइन्सको सात लाख ३८ हजार र नेपाल एयरवेजको पाँच लाख ५० हजार बक्यौता रकम रहेको छ ।

‘तीमध्ये अल्पाइन एयर, सांग्रिला एयर र शिवानी एयरले बक्यौता तिर्ने बताएका छन्’, उनले भने, ‘बक्यौता रकम तिर्न नआएको खण्डमा भने कानुनअनुरुप कारबाहीको लागि प्राधिकरण अघि बढ्नेछ ।’प्राधिकरणका अनुसार प्राधिकरणसँग सेवा सुविधा लिई रकम नतिर्ने एयरलाइन्स सञ्चालकहरुको सम्पत्ति जफत गरेर भए पनि बक्यौता उठाउने तयारीमा रहेको छ । यसैबीच प्राधिकरणले पछिल्लो समय फागुनको अन्तिम सातासम्म बक्यौता रकम तिर्नको लागि समय निर्धारण गरेको छ ।

‘हामीले पुनः बक्यौता रकम तिर्नको लागि एयरलाइन्स कम्पनीहरुलाई आग्रह गरेका छौँ, समयसीमाभित्रमा रकम नतिरेमा कम्पनी तथा संस्थापकलाई कालोसूचीमा राख्ने काम गर्नेछौँ’, उपमहानिर्देशक क्षेत्रीले भने ।प्राधिकरणका अनुसार तोकिएको समयभित्र पनि हिसाबमिलान वा रकम बुझाउन नआएमा सम्बन्धित संस्थाका सञ्चालकलाई नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवाशुल्क नियमावली २०७६ को नियम ३० को उपनियम (३) बमोजिम भविष्यमा हवाइ सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको काम कारबाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने गरी कालोसूचीमा राख्न तथा अन्य प्रचलित ऐन कानुनअनुसार सञ्चालक, निज एकाघरका परिवारको एवं जमानी बस्नेहरुको जायजेथाबाट सरकारी बाँकीसरह असुलउपर गरिनेछ ।

प्राधिकरणले बक्यौता रकम सम्बन्धमा कुनै फरक परेको आधार र प्रमाण भएमा पुष्ट्याइँसहित पेश गरी हिसाबमिलान गर्न समेत एयरलाइन्स कम्पनीहरुलाई आग्रह गरेको छ । एउटै एयरलाइन्स कम्पनीका संस्थापकहरुको संख्या धेरै हुँदा समेत बक्यौता रकम तिर्न समस्या भएको प्राधिकरणका अधिकारीहरुको भनाइ छ । यसअघि पनि ती एयरलाइन्स कम्पनीहरुलाई बक्यौता रकम तिर्नको लागि प्राधिकरणले गरेको आग्रहलाई बेवास्ता गर्दै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया