Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअन्नपूर्ण मार्बलद्वारा स्टीमेट बिल भरमा व्यापक राजस्व छली

अन्नपूर्ण मार्बलद्वारा स्टीमेट बिल भरमा व्यापक राजस्व छली


विराटनगर ।
अन्नपूर्ण मार्बल एण्ड सेनिटरीले स्टीमेट बिल जारी गरी व्यापक राजस्व छली गरेको पाइएको छ । आर्थिक वर्ष २०७७/७८ को पुस मसान्तसम्मको राजस्व बुझाउँदा कम्पनीले एक लाख ३७ हजार नौ सय ५३ रूपैयाँको बिल बिजक जारी नगरेकोे पाइएको छ ।

विराटनगरको भृकुटी चोकमा सञ्चालन हुँदै आएको अन्नपूर्ण मार्बल एण्ड सेनिटरीले ५३ हजार दुई सय ४४ रुपैयाँ ५० पैसाको मात्र बिल बिजक जारी गरी करिब ८४ हजार रूपैयाँको मूल्य अभिवृद्धि कर छली गर्ने प्रयास गरेको पाइएको हो । लामो समयदेखि मार्बल, टायलसलगायत सेनिटरीको काम गर्दै आएको अन्नपूर्ण मार्बल एण्ड सेनिटरीका सञ्चालकले ठूलो–ठूलो रकममा मूल्य अभिवृद्धि कर ठगी गरी राजस्व चुहावट गर्ने गरेको तथ्य खुलेसँगै मार्बल र टायल्समा हुने अनधिकृत व्यापारको रहस्य खुल्न पुगेको छ ।

उक्त फर्मलाई आन्त्रिक राजस्व कार्यालयदेखि राजस्व अनुसन्धान कार्यालय सुनसरीले पटक–पटक कारबाही गर्दा पनि सञ्चालक नसुध्रिएको पनि बताइने गरेको छ । अन्नपूर्ण मार्बल एण्ड सेनेटरीबाट मिस्त्रीमार्फत मार्बल र टायल्सको बिक्री गर्दा मिस्त्री कमिसन भनी रकम कट्टा गरी दिने फर्म सञ्चालकको नियतका कारण सरकारले सोचे भन्दा न्युन राजस्व बुझाएर चोरी गर्न सञ्चालक सफल भएको स्रोतको दाबी छ ।

यसबाहेक अन्नपूर्ण मार्बलका भन्सार भन्सार एजेन्टमार्फत भन्सारबाट समेत ठूलो परिमाणमा भन्सार ठगी गर्न सफल हुँदै आएको अन्नपूर्ण मार्बल एण्ड सेनिटरीका सञ्चालकले पछिल्लो समय जीएसटी प्रणाली लागू भएपछि पनि विराटनगर भन्सार नाका भएर न्यूनरूपमा सामान आयात गर्न थालेपछि यसको रहस्य खुल्न पुगेको हो । अहिले विराटनगर भन्सारमा समेत भन्सार एजेन्टको पहलमा अन्नपूर्णका सञ्चालकले पटक–पटक प्रयास गरेपछि मार्बल र टायल्समा हुने अनियमितता सार्वजनिक भएको हो ।

अन्नपूर्णका सञ्चालकको विराटनगर भन्सारमा सेटिङको प्रयास असफल भएपछि चालू आवको छ महिनामा विराटनगर भन्सार नाका भएर अन्नपूर्णले न्यून परिमाणमा मार्बल र टायल्सको आयात गरेको छ । तर सञ्चालक मुलुकभर चलेको कोभिड १९ को माहामारीबाट व्यवसायी नै चौपट भएको अवस्थामा मार्बल र टायल्सको आयात नै घटेको बहाना बनाएर राजस्व छलीबाट उम्कने प्रयास गरेपछि भ्याट छली गरेको रहस्य खुलेको हो ।

आन्तरिक राजस्व कार्यालय विराटनगरको करदाता नम्बर ३०३३२१००६ कायम रहेको अन्नपूर्णा मार्बल एण्ड सेनिटरी फर्मको सञ्चालकमा सुनिता अग्रवालको नाममा दर्ता रहेको छ । उक्त मार्बल एण्ड सेनिटरीबाट निकै ठूलो परिमाणमा राजस्व चुहावट भएको फेला परेपछि पछिल्लो समयमा आन्तरिक राजस्व कार्यालयबाट १० लाखभन्दा बढी नै जरिवाना गरी सञ्चालकलाई सचेत गरिएको थाहा भएको छ ।

फर्म सञ्चालकमा सुनिता अग्रवालको नाम कानुनीरूपमा रहेको देखिए पनि मुख्य सञ्चालकमा कमल अग्रवालले अन्नपूर्ण मार्बल एण्ड सेनेटरीको काम गर्नेगरेको दाबी समाचार स्रोतको छ । श्रीमतीलाई सञ्चालक बनाएर कमल अग्रवालले करोडौँको राजस्व चोरी गर्न सफल भएको कुरा बताइएको छ ।

साथै अन्नपूर्ण मार्बल एण्ड सेनेटरीले बिल बिजक जारी गर्दा सक्कली विलमा कम मूल्य कायम गर्ने र नक्कली विलमा बढी मूल्य कायमगरी उपभोक्तासँग असुली गर्ने गरेको रहस्य पनि खुलेको छ । जसले गर्दा पछिल्लो समय अन्नपूर्ण मार्बल एण्ड सेनेटरीको व्यवसायी कारोबार नै विवादास्पद बन्न पुगेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया