Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारब्याजदर करिडोरसम्बन्धी कार्यविधिको तेस्रो संशोधन

ब्याजदर करिडोरसम्बन्धी कार्यविधिको तेस्रो संशोधन


काठमाडौं ।
नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरसम्बन्धी कार्यविधि २०७६ को तेस्रो संशोधन सार्वजनिक गरेको छ । अल्पकालीन ब्याजदरमा आउने उतारचढावलाई न्यूनीकरण गर्दे ब्याजदर स्थायित्व कायम गर्ने र मौद्रिक व्यवस्थापनलाई आधुनिकीकरण गर्ने उद्देश्यले आर्थिक वर्ष २०७३/०७४ को मौद्रिक नीतिमा गरिएको व्यवस्थाबमोजिम ब्याजदर करिडोर पद्धतिको सुरूवात भई ब्याजदर करिडोरसम्बन्धी कार्यविधि, २०७४ कार्यान्वयन गरी समयसापेक्षरूपमा परिमार्जन गर्दै आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीतिका व्यवस्थाहरूलाई समावेश गरी नयाँ ब्याजदर करिडोरसम्बन्धी कार्यविधि, २०७६ कार्यान्वयन गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यो कार्यविधिमा विभिन्न समयमा समयसापेक्ष परिमार्जन गर्दै आएकोमा आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिमार्फत गरिएका नीतिगत व्यवस्थाहरूलाई समावेश गरी दोस्रो संशोधन कार्यान्वयनमा रहेको र समयसापेक्ष विषयवस्तुहरू समावेश गर्दै पुनः परिमार्जन गर्न आवश्यक देखिएको हुँदा नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन, २०७३) को दफा ११० को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी ब्याजदर करिडोरसम्बन्धी कार्यविधि, २०७६ (तेस्रो संशोधन, २०७७) जारी गरी लागू गरिएको राष्ट्र बैकले जनाएको छ । मौद्रिक नीतिका उद्देश्य तथा वित्तीय बजारको अवस्थालाई मध्यनजर गर्दै तरलता अनुगमन तथा प्रक्षेपण संरचनाले इंगित गर्ने तरलताको आधारमा ब्याजदर करिडोरमार्पmत तरलता प्रवाह तथा प्रशोचन गरिने कार्यविधिमा उल्लेख छ ।

कार्यविधिअनुसार ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा स्थायी तरलता सुविधाको दर पाँच प्रतिशत रहेको छ भने ब्याजदर करिडोरअन्तर्गत ओभर नाइट रिपोे दर नीतिगत दरको रूपमा तीन प्रतिशत रहेको छ । ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा एक हप्ता अवधिको निक्षेप संकलनको दर एक प्रतिशत रहेको छ भने ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा प्रदान गर्नको निमित्त स्थायी तरलता सुविधासम्बन्धी कार्यविधि, २०७३ अनुसारका प्रक्रियाहरू अवलम्बन गरिने कार्यविधिमा उल्लेख छ ।

ब्याजदर करिडोरअन्तर्गत तरलता प्रवाह गर्नका लागि ओभरनाइट रिपो उपकरण कार्यविधि अवलम्बन गरी जारी गरिएको पनि राष्ट्र बैंकले जनाएको छ । कार्यविधिअनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले अघिल्लो दिनकोे आफ्नो स्वदेशी निक्षेप दायित्वको शुन्य दशमलव २५ प्रतिशतसम्म हप्तामा एकपटक ओभरनाइट रिपो सुविधा वार्षिक तीन प्रतिशत ब्याजदरमा उपयोग गर्न पाउनेछन् ।

यो सुविधाका लागि निवेदन दिँदा निवेदन दिनुभन्दा अघिल्लो दिन वा सो दिन विदा भएमा सोभन्दा अघिल्लो दिनको उपलब्ध अन्तर बैंक ब्याजदर (वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको भारित औसत अन्तर बैंकदर) तीन प्रतिशतभन्दा माथि रहेको हुनुपर्नेछ । कार्यविधिअनुसार ओभरनाइट रिपो सुविधा प्रदान गर्दा बोलकबोल प्रक्रिया अपनाइनेछैन । यो सुविधा उपयोग गर्न राष्ट्र बैंकसँग माष्टर रिपर्चेज एग्रिमेण्ट गरेका तोकिएबमोजिमका संस्थाले निवेदन दिनुुपर्नेछ  । निवेदनमा सम्बन्धित संस्थाका कम्तीमा दुई जना आधिकारिक व्यक्तिको दस्तखत र संस्थाको छाप लागेको हुनुपर्नेछ ।

रिपो माग गर्नको लागि पेश गर्नुपर्ने निवेदन, धितोको विवरण एवं धितो राखिने सुरक्षणपत्रहरूको सक्कल प्रति कार्यालय समय सकिनुभन्दा कम्तीमा एक घण्टाअगावै यस विभागमा पेश गर्नुुपर्नेछ । रीतपूर्वकको निवेदन प्राप्त भएपश्चात् आवश्यक प्रक्रिया पु-याई सम्बन्धित संस्थाको राष्ट्र बैंकमा रहेको खातामा स्वीकृत रकम जम्मा गरिनेछ । धितोकोरूपमा सुरक्षण राख्र्ने सुरक्षणपत्रहरू (ट्रेजरी बिल, विकास ऋणपत्र वा नेपाल राष्ट्र बैंक ऋणपत्रको ब्याज भुक्तानी पुर्जा संलग्न भएकोमा ब्याज भुक्तानी पुर्जा समेत) निवेदनसाथ स्वीकृत रकमको एक सय १० प्रतिशत रकमबराबरको सक्कलै प्रति धितोस्वरूप यस विभागमा पेश गर्नुपर्नेछ ।

उपत्यकाबाहिरका संस्थाले धितो राख्नुपर्ने सुरक्षणपत्रहरूको सक्कलै प्रति नजिकको राष्ट्र बैंकको कार्यालयमा पेश गर्नुपर्नेछ । संशोधित कार्यविधिअनुसार उपत्यकाबाहिरका संस्थाहरूले धितो राख्नुपर्ने तोकिएबमोजिमका सुरक्षणपत्रको सक्कल प्रति नजिकको यस बैंकको कार्यालयमा पेश गरेको प्रमाणित भएपश्चात् मात्र स्वीकृत रकम जम्मा गरिनेछ । ओभरनाइट रिपो लिएको रकम ननिखनिएसम्म धितोमा रहेका सुरक्षणपत्रहरू बैंकको अभिलेखमा समेत रोक्का रहनेछन् । सावाँ र सोको ब्याज रकम बैंकले फिर्ता भुक्तानी प्राप्त गरेपश्चात् धितोको रूपमा रहेका सुरक्षणपत्र फिर्ता गरिनेछ ।

कार्यविधिअनुसार ओभरनाइट रिपो सुविधाबापत प्रदान गरिएको सावाँ तथा ब्याज रकम सम्बन्धित संस्थाको यस बैंकमा रहेको खातामा खर्च गरी बैंकले फिर्ता लिनेछ । निखन्ने दिनमा सुविधाबापत लिएको सावाँ–ब्याज रकम बैंकलाई फिर्ता भुक्तानी गर्नको लागि उक्त संस्थाको यस बैंकमा रहेको खातामा पर्याप्त मौज्दात कायम हुनुपर्नेछ । निखन्ने दिन सार्वजनिक विदा परेमा त्यसपछिको कार्यालय खुलेको दिनमा निखन्नुपर्नेछ । यसो गर्दा निखन्ने दिनभन्दा अघिल्लो दिनसम्मको ब्याज रकम समेत असुल गरिनेछ । यो उपकरणको भुक्तानी मितिमा सम्बन्धित काउण्टरपार्टीको खातामा पर्याप्त मौज्दात नभएमा माष्टर रिपर्चेज एग्रिमेण्टमा भएको व्यवस्थाअनुरूप हुनेछ । योे सुविधा प्रदान गर्ने निर्णय विभागीय प्रमुखबाट हुनेछ ।

ब्याजदर करिडोरअन्तर्गत तरलता प्रशोचन गर्नका लागि एक हप्ता अवधिको निक्षेप संकलन उपकरण कार्यविधि अवलम्बन गरी जारी गर्ने राष्ट्र बैंकले जनाएको छ । यसअन्तर्गत एक प्रतिशत ब्याजदरमा आवश्यकताअनुसारको परिमाणमा बोलकबोलको माध्यमबाट निक्षेप संकलन गर्नसक्ने लगायतका व्यवस्थाहरू छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया