काठमाडौं, पुस २३
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नयाँ शैक्षिक सत्र सुरु भएसंगै सबै विद्याथीको हातमा पाठ्यपुस्तक पुग्ने बताएका छन् । भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मंगलबार पुगेर पाठ्यपुस्तक छपाइको अनुगमन गर्दै उनले फागुन र वैशाखबाट नयाँ शैक्षिकसत्र सुरु हुने भएकाले पाठ्यपुस्तक समयमै पु-याउन सकिने आधार पाएको बताए । शिक्षा सचिव महेश दाहाल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम भट्टराई लगायतको टोलीले केन्द्रले आगामी शैक्षिक सत्र २०७७ का लागि आवश्यक रङ्गीन पाठ्यपुस्तक छपाइको अनुगमन गरेको हो ।
अनुगमनपछि मन्त्री पोखरेलले अब सातवटै प्रदेशमा केन्द्रको कार्यालय विस्तार गर्दै प्रदेशबाटै पुस्तक छपाइ र वितरणको काम सुरु गर्ने गृहकार्यमा लागेको जानकारी दिए । उनले ७ सय ५३ वटै तहमा कार्यालय स्थापना गर्न नसकिने भन्दै प्रदेशमै केन्द्रको कार्यालय खोलेर अगाडि बढाउनुपर्ने बताए । आफू २०७२ सालमा शिक्षामन्त्री हुँदा गरेको रङ्गीन पुस्तक छपाउने निर्णय अहिले पूरा भएको बताए । “मेरो २०७२ को सपना अहिले आएर साकार हुँदै आएको छ, २०७२ मा नेपालको झण्डा पनि कालो छापिन्थ्यो, त्यसैले रङ्गीन पुस्तक छाप्ने निर्णय ग-यौं, अहिले कक्षा ८ सम्म पुस्तक रङ्गीनमा छाप्दैछौँ, त्यो सपना पूरा हुँदै छ”, उनले भने ।
समयमै पुस्तक छपाइ गरेर समयमै विद्यालयहरुमा पु-याउन केन्द्रले आफैँलाई परिवर्तन गर्दैै लैजानु जरुरी रहेको बताउँदै उनले केन्द्र अब आफैँ पनि आत्मनिर्भरतर्फ जानुपर्ने बताए । सार्वजनिक संस्था जसरी पनि सफल हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताउँदै उनले केन्द्रमा नयाँ प्रविधि र नयाँ मेशिन आएकाले पुस्तक छपाइसँगै संस्थालाई आत्मनिर्भर बनाउन नयाँ योजना र नयाँ काम ल्याउनुपर्नेमा जोड दिए । मन्त्रालयका सचिव महेश दाहालले कामदारको क्षमता अभिवृद्धि गर्नुपर्ने, संस्थागत प्रबन्ध गर्दै समयानुकूल यसको संरचना र कर्मचारीलाई नयाँ ढङ्गले लैजानुपर्ने बताए । केन्द्रले अब पुस्तकमात्रै छाप्ने नभई सबै मेशिनलाई पूर्ण उपयोग गर्ने गरी बाहिरबाट काम ल्याएर सञ्चालन गर्दै संस्थाको आम्दानी बढाउनेतिर लाग्नुपर्ने उनको भनाइ थियो ।
केन्द्रका प्रबन्ध सञ्चालक महेश तिमिल्सिनाले विगत दुई वर्षदेखि समयमै पुस्तक छपाइ सकेर डिलरमा पु-याउने गरेको बताए । “पुस्तकको पैसा नगरपालिकामा गएको हुन्छ, त्यहाँबाट विद्यालयमा जान ढिला भयो र नगरपालिका तथा विद्यालय बीचको संयोजन मिलेन भने पनि पुस्तक समयमै पुग्दैन, समयमै पुस्तक छपाइ सकेर सबै पुस्तक क्षेत्रीय कार्यालयमा पु-याउने र एक हजार एक सय डिलरबाट मार्फत वितरण गर्ने गरेका छौं”, उनले भने ।
स्कुलमा समयमै बजेट पुगेन भने पनि किताब नउठाइदिने गरेको बताउँदै कतिपय अवस्थामा नगरपालिकाले रकम निकासा नगरिदिँदा विद्यार्थीको हातमा समयमै पुस्तक नपुग्ने गरेको उनको भनाइ थियो । यो वर्ष १० कक्षासम्म दुई करोड पुस्तक छपाइ गर्ने बताउँदै सञ्चालक तिमिल्सिनाले कक्षा ५, ९ र १० का लागि आवश्यक एक करोड १० लाख पुस्तक छापिसकेको बताए । उनले कक्षा ६, ७ र ८ को नयाँ कागज र नयाँ प्रिन्ट चार कलरमा छाप्ने भएकाले छपाइ प्रक्रिया सुरु भइसकेकाले अब तीन महिनाभित्र सबै पुस्तक छपाइ सकेर वितरण गर्ने बताए ।
उनले दुई चरणमा चालु पुस्तक छपाइ प्रक्रिया अब तीन चरणमा सञ्चालन गर्ने बताउँदै पुस्तक अभाव हुन नदिने बताए । अनुगमनमा मन्त्रीसहितको टोलीले रङ्गीन पुस्तक छपाइ, नयाँ उच्च प्रविधिको मेशिन, सुरक्षण मुद्रणालयको छपाइलगायत केन्द्रको भौतिक संरचनाको अनुगमन र जानकारी लिएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया