Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रिय किताबखाना (शिक्षक) ताहाचलका शाखा अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दायर

राष्ट्रिय किताबखाना (शिक्षक) ताहाचलका शाखा अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दायर


काठमाडौं ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय किताबखाना (शिक्षक) ताहाचलका शाखा अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । किताबखानाका अधिकृत धनेश्वर प्रसाई, सवारी चालक सुरेशप्रसाद नेपाल र उक्त किताबखानामा क्यान्टिन सञ्चालन गर्ने सुदर्शन न्यौपाने ५२ हजार रूपैयाँ घुस लिएको भन्दै सोही रकमबराबरको बिगो कायम गरी बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूले अवकासपश्चात् पेन्सन कागजात बनाउन आएका सेवाग्राहीसँग काम छिटो गरिदिने भनी अतिरिक्त रकम माग गरिरहेका थिए । उनीहरूले घुस रकम मागेको सूचनाका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले सेवाग्राहीबाट ५२ हजार रूपैयाँ लिई सवारी चालक सुरेश नेपालको क्वाटरमा राखेको अवस्थामा रकमसहित नियन्त्रणमा लिइएको थियो ।

अख्तियारका अनुसार राष्ट्रिय किताबखाना (शिक्षक) ताहाचलका शाखा अधिकृत धनेश्वर प्रसाईले सेवाग्राहीको काममा आलटाल गरी क्यान्टिन सञ्चालक सुदर्शन न्यौपानेलाई सेवाग्राहीसँग ५२ रुपैयाँ रकम माग गर्न लगाएका थिए । न्यौपानेले भने प्रसाईले भनेअनुरूप सवारी चालक सुरेशप्रसाद नेपालमार्फत घुस रकम लिएका थिए । प्रसाईले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर गरेकोले उनलाई ५२ हजार रूपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदाबी लिइएको अख्तियारले जनाएको छ ।

यस्तै क्यान्टिन सञ्चालक सुदर्शन न्यौपानेले शाखा अधिकृत धनेश्वर प्रसाईले लिन लगाएबमोजिम धनेश्वर प्रसाई र आफ्नो लागि घुस लिन मञ्जुर गरी सेवाग्राहीबाट सोही कार्यालयका हलुका सवारी चालक सुरेशप्रसाद नेपालमार्फत घुस रकम लिएको पुष्टि भएकोले उनीविरुद्ध पनि सोही ऐनअनुसार सोही रकमबराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको छ । साथै हलुका सवारी चालक सुरेशप्रसाद नेपालले शाखा अधिकृत प्रसाई र क्यान्टिन सञ्चालक न्यौपानेबीचको सहमतिपश्चात् उनीहरूले माग गरेको रकम सेवाग्राहीसँग लिएको पुष्टि हुनआएको उनविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया