Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेश रहेका श्रमिकको हकहितबारे छलफल

विदेश रहेका श्रमिकको हकहितबारे छलफल


काठमाडौं ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको हकहितका विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीसँग गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलले छलफल गरेको छ । छलफलमा संघका अध्यक्ष कुमार पन्तले संघको तर्फबाट तीनवटा प्रस्ताव श्रममन्त्रीसँग पेश गरेका छन् । उनले वैदेशिक रोजगार बोर्डमा श्रमिकहरुले जम्मा गरेका रकम उनीहरुका बृहत्तर हितमा प्रयोग गर्नुपर्ने, रोजगार सम्मेलनको आयोजना गर्ने र रोजगारबाट प्राप्त विप्रेषणको वित्तीय संस्थाहरुले प्राप्त गर्ने रकममध्ये एक पैसा वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्ने प्रस्ताव पेश गरेका हुन् ।

अध्यक्ष पन्तले वैदेशिक रोजगारीमा गएकाहरुलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न संघले अघि सारेको न्यूनतम दश अर्बको सामूहिक लगानी र श्रमिक बैंकको अवधारणामाथि समेत प्रकाश पारेका थिए । छलफलमा संघका उपाध्यक्ष डा. बद्री केसीले कोभिड–१९ का कारण नेपालमा झण्डै दुई लाख श्रमिकहरु फिर्ता आएका र उनीहरुलाई रोजगारी दिन प्रस्तावित श्रमिक सम्मेलनले सहयोग गर्ने विश्वास व्यक्त गर्दै वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार बोर्डका प्रमुखहरुसँग संयुक्त रुपमा बैठक आयोजना गर्नको लागि समेत अनुरोध गरे ।

उनले सम्मेलनलाई सार्थक बनाउन संघ तथा अन्य निकायहरुसँग वैदेशिक रोजगारीबाट फर्केकाहरुको सीपको तथ्यांक समेत रहेको औँल्याउँदै वैदेशिक रोजगारीमा रहेकाहरुका लागि सामाजिक सुरक्षाको अवधारणा समेत कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव दिए । वैदेशिक रोजगारीमा रहेका र कोभिड–१९ का कारण समस्यामा परेका व्यक्तिहरुको राहत तथा उद्धारमा संघले गरेका कामका बारेमा परियोजना प्रबन्धक राजेन्द्र राउतले अवगत गराएका थिए ।

श्रममन्त्री चौधरीले आफू यस क्षेत्रमा नयाँ भएकोले धेरै विषयहरुमा जानकारी लिँदै गरेको र वैदेशिक रोजगारीका क्षेत्रमा संघका सुझावहरु दिनका लागि अनुरोध गरेका थिए । वैदेशिक रोजगारीमा रहेकाहरुका लागि सहयोग गर्न रकामान्तर गर्ने प्रक्रिया झन्झटिलो रहेकोले प्रक्रिया सरलीकृत गर्न मन्त्रालय लागेको उनले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया