Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसम्पादक रिजाल वासु रोटरी सुशासन अवार्डबाट पुरस्कृत

सम्पादक रिजाल वासु रोटरी सुशासन अवार्डबाट पुरस्कृत


काठमाडौँ ।
रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाललाई ‘वासु रोटरी भोकेसनल अवार्ड अन गुड गभर्नेन्स’ अवार्डबाट पुरस्कृत गरेको छ । रोटरी डिष्ट्रिक्ट ३२९२ नेपालले शुक्रबार होटल सोल्टीमा आयोजना गरेको विशेष समारोहमा कार्यक्रमका प्रमुख अतिथि आरआई प्रेसिडेन्ट–इलेक्ट शेखर मेहताले सम्पादक रिजाललाई सम्मान तथा पुरस्कृत गरेका हुन् ।

यस वर्षदेखि सुरु गरिएको १० लाख रुपैयाँ राशीको उक्त पुरस्कार आर्थिक दैनिकका सम्पादक रिजाल र हाम्राकुरा डटकमका सम्पादक अजयबाबु शिवाकोटीलाई संयुक्त रुपमा प्रदान गरिएको थियो । स्वतन्त्र पत्रकारिताको माध्यमबाट खोजमूलक, अनुसन्धानात्मक सूचना, समाचार प्रकाशित तथा प्रसारण गरी देश र जनतालाई सुसूचित बनाउनुका साथै सुशासन स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले रिजाल र शिवाकोटीलाई उक्त अवार्ड प्रदान गरिएको हो । आर्थिक दैनिकका सम्पादक रिजालले बालुवाटारस्थित ललिता निवास जग्गा अनियमितताबारे पहिलोपटक समाचार सार्वजनिक गरेका थिए ।

दर्जनौँ नेताहरु र प्रतिष्ठित व्यक्ति विवादमा तानिएको उक्त प्रकरणमाथि अहिले अदालतमा मुद्दा चलिरहेको छ । त्यस्तै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तयारी भइरहँदा तत्कालीन सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ७० करोड कमिसन मागेको अडिओ पहिलो पटक सार्वजनिक गरेका शिवाकोटीले तत्कालीन सभामुख महराको यौन प्रकरणको घटना समेत उजागर गरेका थिए । चर्चित उक्त काण्डपछि बाँस्कोटा र महरालाई पदबाट राजीनामा दिनुपरेको थियो ।

यसै वर्षदेखि प्रदान गर्न सुरु गरिएको वासु रोटरी भोकेसनल सुशासन अवार्ड प्रत्येक दुई÷दुई वर्षमा प्रदान गरिने अवार्डका संस्थापक सुरेन्द्र गोविन्द जोशीले जानकारी दिए । उनले उक्त पुरस्कार आफ्नो र आफ्नो श्रीमती बद्रीलक्ष्मी जोशीको नाममा स्थापना गरेका हुन् । ई. जोशी रोटरी क्लब अफ एल पाटन ललितपुरका संस्थापक सदस्य तथा पूर्वअध्यक्ष समेत हुन् ।

सुशासनविना देशको आर्थिक विकास अवरुद्ध हुने भएकाले सुशासनका लागि निरन्तर कलम चलाउँदै आएका पत्रकारलाई हौसला होस् भन्ने उद्देश्यले उक्त पुरस्कार स्थापना गरेको उनले बताए । पुरस्कार ग्रहणपछि समारोहलाई सम्बोधन गर्दै सम्पादक रिजालले रोटरी इन्टरनेशनलले जुन आशा र विश्वास गरेर आफूलाई पुरस्कृत गरेको छ, त्यसलाई कहिल्यै टुट्न नदिने बताए । साथै उनले जस्तोसुकै परिस्थितिमा पनि विचलित नहुने विश्वास दिलाएका थिए । सो अवसरमा प्रमुख अतिथि मेहताले समाज परिवर्तनमा पत्रकारिताले ठूलो भूमिका खेल्ने हुँदा रोटरी इन्टरनेशनलले चौथो अंगका रुपमा स्थापित पत्रकारहरुलाई सम्मान गर्न पाउँदा आफू गौरवान्वित भएको बताएका थिए ।

यस्तै शुक्रबार नै थप १३ पत्रकारलाई ‘जर्नो’ अवार्डबाट पुरस्कृत गरिएको छ । प्रत्येक प्रदेशका एक÷एक जना गरी सात जना उत्कृष्ट र शिक्षा, स्वास्थ्य, आर्थिक, वातावरण तथा महिला बालबालिकालगायत छ विधामा निरन्तर कलम चलाउने छ पत्रकारलाई जनही २५ हजार राशीको उक्त पुरस्कार प्रदान गरिएको हो । विधागत रुपमा आर्थिक विधाबाट इकागज डटकमका पुष्पराज आचार्य, वातावरणबाट अन्नपूर्ण पोष्टका टिका बन्धन, शिक्षातर्फबाट न्यूज कारोबार डटकमका दिपेन्द्र प्रसाद सिंह, स्वास्थ्यतर्फ रेडियो सगरमाथाकी सम्झना महर्जन, नेपाल टेलिभिजनकी विनिता रिजाललाई अवार्ड प्रदान गरिएको हो ।

त्यस्तैगरी प्रदेश नम्बर १ बाट विनु तिमल्सिना, प्रदेश २ का श्याम बन्जरा, वाग्मती प्रदेशकी कमला हमाल, गण्डकीबाट दीपेन्द्र श्रेष्ठ, लुम्बिनीबाट लक्ष्मी आचार्य, कर्णालीबाट भीम बहादुर सिंह र सुदूरपश्चिमबाट उन्नति सिंहलाई अवार्ड प्रदान गरिएको थियो ।

त्यस्तैगरी रोटरी गतिविधि प्रवद्र्धन गरेबापत दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई सम्मान गरिएको थियो । रोटरी डिष्ट्रिक्ट ३२९२ नेपालले शिक्षा, स्वास्थ्य, वातावरण, महिला तथा बालबालिका बिटमा काम गर्ने उत्कृष्ट पत्रकारहरुलाई हरेक वर्ष ‘जर्नो’ अवार्डबाट सम्मान गर्दै आएको छ । रोटरी डिष्ट्रिक्ट ३२९२ नेपालका पास्ट प्रिसिडेन्ट किरणलाल श्रेष्ठले नेपालको विकासमा पत्रकारिता क्षेत्रले उल्लेख्य भूमिका खेलेकाले यस क्षेत्रमा संलग्न पत्रकारहरुलाई प्रोत्साहन गर्न ‘जर्नो’ अवार्ड स्थापना गरेको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया