Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेशमा कारोना संक्रमणमुक्त हुने नेपालीको दर ९७ प्रतिशत

विदेशमा कारोना संक्रमणमुक्त हुने नेपालीको दर ९७ प्रतिशत


काठमाडौं ।
विदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट संक्रमणमुक्त हुने नेपालीको दर ९७ प्रतिशत रहेको छ । गैरआवासीय नेपाली संघका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार छ सय ३० जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५९ हजार एक सय २० जना कोरोना संक्रमणमुक्त भएका छन् । यो संक्रमणमुक्त हुने दर ९७ प्रतिशत हो ।

साथै विदेशमा यो साता थप एक जना नेपालीको निधन भएको छ । संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा एक जनाको संक्रमणबाट निधन भएको हो । योसहित २१ देशमा कोरोना संक्रमणले निधन हुने नेपालीको संख्या तीन सय ३६ जना पुगेको छ । संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार यो साता स्वीडेन, स्पेन, पोल्याण्ड, सेसल्स, बेलायत, यूएई, साउदी अरबमा रहेका थप नेपालीहरूमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै संघले स्वास्थ्य विशेषज्ञहरूले हाल प्रयोगमा आएका खोपहरू सुरक्षित रहेको बताएकोले खोप लगाउन गैरआवासीय नेपालीहरूलाई आग्रह समेत गरेको छ । स्वास्थ्य समितिमा आबद्ध चिकित्सकहरूका अनुसार लामो समयको अध्ययन र परीक्षणपश्चात् खोपहरू प्रयोगमा ल्याइएकोले ती प्रयोगका लागि सुरक्षित छन् । हाल कोरोनाको विभिन्न चार नयाँ भेरियन्ट देखापरेको बताउँदै उनीहरूले अहिले प्रयोगका ल्याइएका खोपहरू नयाँ भेरियन्टका लागि पनि प्रभावकारी हुने बताएका छन् ।

संघका अनुसार बेलायत, क्यालिफोर्निया, एसिया र दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखा परेको हो । प्रारम्भिक अनुसन्धानअनुसार नयाँ भेरियन्ट पुरानो भाइरसका तुलनामा बढी संक्रामक छन् । स्वास्थ्य समितिले नयाँ भेरियन्टविरुद्ध पनि खोप प्रयोग गर्न सकिने भन्दै खोप अभियानमा सहभागी हुन अपिल गरेको छ ।

विभिन्न दीर्घरोगको औषधि सेवन गरिरहेका व्यक्तिले पनि खोप लिन सक्ने समितिले जनाएको छ । तर गर्भवती महिला, स्तनपान गराउने महिला र तुरुन्त गर्भवती हुन योजना बनाइरहेकाहरूलाई खोप नलगाउन भनिएको छ । यस्तै १८ वर्षमुनिकालाई पनि खोप सिफारिस गरिएको छैन । खोप लगाउनुपूर्व आफ्नो स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग सल्लाह गर्न समेत समितिले सुझाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया