Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसञ्चार उद्यमी सञ्जय अधिकारीलाई गुपचुपमै किन सडाइयो जेलमा ?

सञ्चार उद्यमी सञ्जय अधिकारीलाई गुपचुपमै किन सडाइयो जेलमा ?


काठमाडौं ।
झण्डै तीन महिनादेखि एक जना सञ्चार उद्यमी जेलको चिसो सिँढीमा नारकीय जीवन बिताइरहँदा सञ्चार क्षेत्रको हकहितका नाममा खुलेका संघसंस्था एउटा वक्तव्य समेत नदिई रहस्यमय ढंगले मौनता साँधेर बसेका छन् । त्यसरी गुपचुपमै जेलमा सडाइएका सञ्चार उद्यमी सञ्जय अधिकारी हुन् । उनी राजधानी एफएमका सञ्चालक हुन् र यसअघि उनी एबीसी टेलिभिजनको सञ्चालक थिए ।

सञ्चार उद्यमी अधिकारीले सञ्चार क्षेत्रबाहेक अन्य व्यावसायिक क्षेत्रमा पनि लगानी गरेका छन् । उनी रेस्टुरेण्ट व्यवसायी पनि हुन् । उनले दरबारमार्गमा विम्पी नामक रेष्टुरेण्ट खोलेका छन् र उनी दरबारमार्ग विकास बोर्डको कोषाध्यक्ष पनि हुन् । यसका अलावा उनी रेमण्ड ब्राण्डको कपडाको पुतलीसडकका खुद्रा पसले पनि हुन् । तर उनी पक्राउ पर्दा उनीसँग व्यावसायिक नाता जोडिएका कुनै पनि संघ संस्थाले एउटा वक्तव्य समेत ननिकालेर बेइमानीको नमूना प्रदर्शन गरेका छन् । सञ्चार उद्यमी अधिकारीले जस्तै अन्य सञ्चार उद्यमीले पनि सञ्चारबाहेकका विभिन्न क्षेत्रमा लगानी गरेका छन् तर बूढी मरी भन्नेभन्दा पनि चोर पल्कियो भन्ने ठान्नुपर्ने सञ्चार उद्यमीहरु किन ‘तैँ चुप मै चुप’ भएर बसेका छन् भन्नेचाहिँ बुझ्न सकिएको छैन ।

एउटा सञ्चार उद्यमीलाई सरकारले पक्राउ गर्दा किन बोलेको भनी प्रश्न गर्दा रेडियो ब्रोडकास्टर फोरमका अध्यक्ष आरके श्रेष्ठले उनलाई प्रहरीले पक्राउ गरेको आपूmलाई थाहै नभएको बताए । उनले भने, ‘सञ्जयको एफएम राजधानीको स्टेसन मेनेजर सागर प्रधानले केही दिनअघि मात्र मलाई फोन गरेर सञ्जय सर फिलिपिन्स जानुभएको छ, मन्त्रालयले काम गरेन, भनिदिनुप-यो भनेको थियो’, उनले भने, ‘कहिले के कुरामा पक्राउ परेको हो र?’

यही विषयमा मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलसँग सम्पर्क गर्दा उनले पनि सञ्जय दाइ कहिले पक्राउ परेको हो र भनी अनभिज्ञता प्रकट गरे । उनले भने, ‘उहाँको परिवार कसैले पनि कतै भन्न चाहेको पाइएन । हामीसँग मात्र होइन अर्थमन्त्री विष्णु पौडेल, उपाध्यक्ष वामदेव गौतमसँग उहाँको पारिवारिक सम्बन्ध छ । उहाँले सेनाको ठेक्कामा कीर्ते गरेको भन्ने भर्खरै मात्र बाहिर बाहिरै थाहा पाएको हुँ । ठोस कुरो थाहै नभई कसरी के बोल्नु र ?’

त्यसैगरी ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालका अध्यक्ष चन्द्र न्यौपानेसँग सम्पर्क गर्दा अधिकारी पक्राउ परेको आपूmलाई थाहै नभएको बताए । उनले भने, ‘पहिला उनको पक्राउको कारण खुल्नुप¥यो, केही थाहै नभई कसरी त्यसको विरोध गर्नु ?’
यही विषयमा मिडिया एलाइन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारसँग पनि सम्पर्क गरिएको थियो । उनले पनि उहाँ पक्राउ परेको र छुटिसकेको भन्ने हल्ला मात्र सुनेको तर ठोस कुरा थाहै नभएको बताए । उनले भने, ‘उहाँ हाम्रो मिडिया एलाइन्समा हुनुहुन्न, त्यसो भनेर पन्छिन खोजेको पनि होइन, फेरि उहाँ सञ्चार उद्यमी मात्र पनि होइन तर उहाँले जे–जे गर्ने गरेको भए पनि के भएको हो भन्ने ठोस जानकारी नै नभएकाले पक्राउको विरोध नगरिएको हो ।’

त्यसैगरी एकताका रेडियो राजधानीमा साझेदार रहेका नेपाल पत्रकार महासंघका पूर्वमहासचिव ओम शर्मासँग सम्पर्क गर्दा उनले पनि आपूmलाई ठोस जानकारी नभएको बताए । उनले भने, ‘पहिला राजधानी एफएममा हाम्रो पनि थोरै लगानी थियो, त्यस हिसाबले म उहाँलाई राम्रोसँग चिन्छु पनि । सञ्जयजी दुई तीन महिनाअघि ठगी र कीर्ते गरेको आरोपमा पक्राउ परेको भन्ने सुनेको थिएँ तर अहिले छुटिसके भन्ने सुनेको छु ।’

यसै सम्बन्धमा एक जना सञ्चार उद्यमी अधिकारीलाई सरकारले पक्राउ गरेर जेलमा गुपचुप राखेको विषयमा तपाईं अध्यक्ष रहेको संस्थाले त्यो घटनाको अहिलेसम्म किन विरोध गरेन भनी प्रश्न गर्दा सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडाले पनि घटनाका बारेमा केही थाहा नभएको बताए । उनले भने, ‘मलाई थाहै छैन, तपाईंले जानकारी दिनुभयो, अब म मिडियासँग सम्बद्ध सबै संघ/संस्थासँग समन्वय गरेर त्यसको विरोध गर्छु ।’

प्रहरीले सञ्जय अधिकारीलाई गत मंसिर २८ गते पक्राउ गरेको थियो । उनीसँग उनका छोरा समिर अधिकारी, सञ्जयको कम्पनीका एकाउण्टेण्ट कृष्ण भट्टराई र सुवर्ण केसी पक्राउ परेका थिए । नेपाली सेनालाई ३५ हजार थान छालाको बुट सप्लाई गर्ने टेण्डरमा फुट केयर इन्डष्ट्रिज प्रालिले टेण्डर हालेको थियो । त्यस कम्पनीका सञ्चालक शिल बहादुर केसी र नोख बहादुर थापा थिए । ती ठेकेदारसँग अधिकारीको पहिलेदेखि नै लेनदेनको व्यवहार थियो । सेनाको बुटको टेण्डर परेपछि पुरानो लेनदेन उठाउन सजिलो हुने देखेर अधिकारी पनि मौखिक रुपमा समझदारीको साझेदार बनेका थिए । उक्त कम्पनीलाई टेण्डर परेपछि कम्पनीको प्रभु बैंकमा रहेको खातामा सेनाले पेस्की रकम हालिदियो । तर खाता सञ्चालन गर्ने अधिकार उनलाई थिएन ।

खाता सञ्चालक शिल बहादुर केसी र नोखबहादुर थापा थिए । तर खातामा रकम आएको थाहा पाएपछि सञ्जय अधिकारीले छोरा समिर अधिकारी, लेखापाल कृष्ण भट्टराई र सुवर्ण केसीको मिलेमतोमा नक्कली माइन्यूट खडा गरी बैंक खाता सञ्चालक परिवर्तन गरेको माइन्यूट प्रभु बैंकलाई बुझाएर फुट केयर इन्डष्ट्रिज प्रालिको खाताबाट ४ करोड ८७ लाख रुपैयाँ निकालेका थिए । सो काण्डमा पक्राउ परेका सुवर्ण केसी सो कम्पनीका सक्कली सञ्चालक शिल बहादुर केसीका छोरा हुन् । सञ्चालक शिल बहादुरको छोरा सुवर्णलाई हात लिएर अधिकारीले कीर्ते गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

सो काण्डमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश इन्द्र कुमार चोङ्टेन्लीको गत पुस २६ गते आइतबार भएको एकल इजलासले उनीहरु चारै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशपछि सञ्चार उद्यमी सञ्जय अधिकारी, उनका छोरा समिर अधिकारी उनका लेखापाल कृष्ण भट्टराई र ठेकेदार शिल बहादुर केसीको छोरा सुवर्ण केसीलाई डिल्लीबजार सदरखोरमा थुनेको थाहा भएको छ ।

जिल्ला अदालतको उक्त आदेशविरुद्ध सञ्जय अधिकारी उच्च अदालतमा गएका थिए र उच्च अदालत पाटनले पनि उक्त आदेशलाई सदर गरेको छ । उच्च अदालत पाटनले यही फागुन ६ गते सन्ध्या अधिकारी र उनका लेखापाल कृष्ण भट्टराईको हकमा धरौटी खोल्ने आदेश दिएको छ भने उनका छोरा समिर अधिकारी र ठेकेदारका छोरा सुवर्ण केसीको हकमा जिल्ला अदालतकै आदेश सदर गरेको छ । उच्च अदालत पाटनका मुख्य न्यायधीश डा. श्रीकुमार चुँडाल र न्यायाधीश रेखा थापा पाण्डेको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया