नेपालबाट भारततिर पेट्रोलियम पदार्थको तस्करी बढ्यो

काठमाडौं ।
पछिल्लो समयमा नेपालबाट भारततर्फ अधिक मात्रामा पेट्रोलियम पदार्थको तस्करी बढेको छ । नेपालमा सस्तो र भारतमा महंगो हुँदा बेलाबेलामा यस्तो तस्करी हुने गरे पनि स्थानीय प्रशासनले नियन्त्रण गर्ने गरेको थियो । तर, पछिल्लो समयमा भने नेपालको प्रशासनले पनि त्यसलाई नियन्त्रण गर्न सकेको छैन । भारतबाट नेपालमा प्रवेश गर्ने मालवाहक गाडीहरुले नेपालबाट फर्कँदा फुलट्यांकी तेल हाल्ने कुरालाई सामान्य तस्करीको रुपमा लिइए पनि अहिले भने त्यसको अतिरिक्त ड्रममै नेपालमा तेल किनेर भारतीय बजारमा बिक्री हुन थालेको छ ।
भारतमा मूल्य अधिक हुँदा भारतबाटै नेपाल निर्यात भएको डिजेल र ग्यासको तस्करी भएको भारतीय मिडियाले बताएका छन् । नवभारत टाइम्सका अनुसार नेपाल निर्यात भएको पेट्रोलियम पदार्थ सीमावर्ती राज्यमा तस्करी भएको पाइएको छ । भारतीय प्रहरीलाई उद्धृत गर्दै तयार गरिएको रिपोर्टअनुसार १३ सय ६० लिटर डिजल बोकेको एक ट्यांकर तस्करीको लागि पठाइएको थियो ।
यो ट्यांकर गत हप्ता नेपालमा पक्राउ परेको समाचारमा दाबी गरिएको छ । भारततर्फका कतिपय पेट्रोल पम्पहरुमा पेट्रोलको मूल्य एक सय भारु प्रतिलिटर नाघेको छ । ग्लोबल पेट्रोल प्राइस डटकमका अनुसार यो मूल्य दक्षिण एसियाली क्षेत्रकै सबैभन्दा महंगो हो । नेपालले भारतबाटै सबैजसो पेट्रोलियम पदार्थ आयात गर्छ भने बंगलादेश र श्रीलंकामा समेत भारतले नै निर्यात गर्छ ।
बिहार राज्यको अदापुर स्थानका एक पेट्रोल पम्पका सञ्चालक रवि भारतीले नेपालमा कर कम हुँदा पेट्रोलियम पदार्थको मूल्य कम भएको कारण नेपालबाट भारततिर तस्करी सुरु भएको बताए । अदापुरबाट नेपालसम्मको सीमा करिब २ माइल मात्रै टाढा पर्छ । उनका अनुसार तस्करीका कारण अदापुरका पेट्रोलपम्पलाई समेत बिक्रीमा असर परेको छ । ती सञ्चालकका अनुसार अदापुरका पम्पहरुको बिक्रीमा ह्वात्तै गिरावट आएको छ । तस्करी गरिएको इन्धन पम्पमा भन्दा सस्तोमा बिक्री हुने हुँदा यसो भएको उनी बताउँछन् । उनका अनुसार प्रत्येक दिन १८ सय लिटरसम्म बिक्री हुने गरेको उनको पम्पबाट अहिले बिक्री घटेर १२ सय लिटरमा झरेको छ ।
त्यसो त माघ पहिलो साता नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाटै डिजेल चोरी हुने गरेको भेटिएको थियो । पटना–सिवान–मोतीहारी हुँदै नेपाल आउने पाइपलाइन फुटाएर डिजेल चोरी भएको भन्दै भारतीय आयल कर्पोरेसन (आईओसी)ले प्रहरीलाई उजुरी गरेको थियो । बिहार राज्यमा पर्ने सिवानमा व्यवस्थित रुपमा पाइप प्वाल पारी डिजेल चोरी भएको थियो । नेपाललाई इन्धन आयात सहज होस् भनेर अमलेखगन्ज डिपोसम्म पाइपलाइन निर्माण गरिएको थियो । यसबाट नेपालको इन्धन ढुवानी लागत कम हुने र बीच बाटोमा हुने चोरी तस्करी पनि केही हदसम्म कम हुने आकलन गरिए पनि यो घटनाले नेपाली र भारतीय अधिकारीलाई चकित पारेको थियो ।
भारतमा आकाशियो इन्धनको मूल्य : यसैबीच, भारतमा अहिले इन्धनको मूल्य लगातारजसो बढिरहेको छ । सोमबार भारतीय राजधानी नयाँ दिल्लीमा पेट्रोल प्रतिलिटर ९०.५८ भारु पुगेको छ भने डिजल प्रतिलिटर ८०.९७ भारुमा कारोबार भएको छ । भारतको आर्थिक राजधानी मुम्बईमा सोमबार पेट्रोलको भाउ ९७ भारु प्रतिलिटर र डिजेल प्रतिलिटर ८८.०६ भारु पुगेको थियो । त्यस्तै, कोलकातामा पेट्रोल प्रतिलिटर ९१.७८ भारु र डिजेल ८४.५६ भारु प्रतिलिटर हुँदा चेन्नईमा भने पेट्रोल ९२.५९ भारु प्रतिलिटर र डिजेल ८५.९८ भारु प्रतिलिटर रहेको थियो ।
गत शनिबारसम्म लगातार १२ पटकसम्म इन्धनको मूल्य आकाशिएको भारतीय मिडियाले जनाएका छन् । भारतका कतिपय स्थानमा त पेट्रोलको मूल्य प्रतिलिटर १०० भारुभन्दा बढीले नाघेको छ । राजस्थान र मध्यप्रदेशमा इन्धनको मूल्य १०० भारु प्रतिलिटर नाघेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पछिल्लो समय महामारीयता बढिरहेको छ । सोमबार अमेरिकी कच्चा तेल वेस्ट टेक्सास इन्टरमेडिएट (डब्लुटीआई) ५९.५३ अमेरिकी डलर प्रतिब्यारेल मूल्य पुगेको थियो भने बेन्चमार्क क्रुड ६३.३७ अमेरिकी डलर प्रतिब्यारेल पुगेको थियो ।
भारतमा अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य घटबढ हुँदा पेट्रोल र डिजेलको मूल्यमा दैनिक फेरबदल पर्छ । भारतमा इन्धनको मूल्यमा दिनहुँ फेरबदल हुने गरेको छ । यसको आधार भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटबढ हो । यसबाहेक यातायात तथा ढुवानी खर्च, केन्द्र सरकारको कर, राज्य सरकारको कर, लेभी र अन्य करको आधारमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण हुने गरेको छ । भारतमा राज्यअनुसार इन्धनको मूल्य फरक हुने गरेको छ ।
नेपालमा असर : कच्चा तेलको मूल्यवृद्धिले भारतीय बजारमा असर पार्दा इन्धनमा पूर्णतः भारतनिर्भर नेपालमा पनि असर देखिएको छ । नेपाल आयल निगमले गत ४ गते एकै हप्तामा दोस्रोपटक पेट्रोल र डिजेलको मूल्य बढाएको थियो । यसअनुसार नेपालमा पछिल्लो मूल्यवृद्धिअनुसार एक लिटर पेट्रोलको लागि उपभोक्ताले १ सय १४ रुपैयाँ तिर्नुपर्ने भएको छ । त्यस्तै डिजेल पनि ९७ रुपैयाँ प्रतिलिटर मूल्य पुगेको छ भने हवाइ इन्धन प्रतिलिटर ६७ रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजार भाउ वृद्धि भएको, इन्डियन आयल कर्पोरेसनले मूल्यवृद्धि गरेर मूल्यसूची पठाएको कारण मूल्यवृद्धि गर्नुपरेको दाबी गरेको छ । निगमलाई अझै पेट्रोलमा ५ रुपैयाँ ८२ पैसा, डिजेलमा ४ रुपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय ९५ रुपैयाँ घाटा रहेको दाबी गरिएको छ । निगमले यसअघि माघ २८ गते पनि मूल्य बढाउँदै पेट्रोल १ सय १२ रुपैयाँ प्रतिलिटर, डिजेल ९५ रुपैयाँ प्रतिलिटर र खाना पकाउने ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ पु-याएको थियो । भारतीय आयल कर्पोरेसनले हरेक १५ दिनमा नेपाललाई नयाँ मूल्यसूची पठाउने गर्छ । सोहीअनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा घटबढ हुने गरेको छ ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- सेयर बजार परिसुचक २४ सय १६ अंकमा सिमित
- लक्ष्मी बैंकको अगुवगाइमा माथिल्लो पिलुवा खोला–३ जलविद्युत् आयोजनामा ६५ करोड कर्जा
- राष्ट्रिय बीमा संस्थानको शाखा चाबहिल र सूर्यविनायकमा
- कुमारी बैंक र केजीएच ग्रुपबीच सहकार्य
- मेरो माइक्रोफाइनान्सद्वारा कर्मचारीहरूलाई दुईदिने तालिम प्रदान
- आरम्भ चौतारी लघुवित्तले आठ दशमलव ८५ प्रतिशत बोनस सेयर दिने
- मेगा बैंकका ग्राहकहरूलाई सिद्धार्थ ग्रुपमा विशेष छुट
- सारथी नेपाल लघुवित्तले नौ प्रतिशत लाभांश दिने
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया