Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारऐनलाई परिवर्तन गरी शिक्षामा आमूल परिवर्तन ल्याइने

ऐनलाई परिवर्तन गरी शिक्षामा आमूल परिवर्तन ल्याइने


ललितपुर ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले २०२८ सालको शिक्षा ऐनलाई परिवर्तन गरी शिक्षामा आमूल परिवर्तन ल्याइने बताएका छन् । त्यसका लागि संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल भइरहेको उनले जानकारी दिए । लुःनिभा वाल सरोकार समूहले ललितपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले शिक्षा क्षेत्रमा देखिएका थुप्रै समस्याहरूको समाधान गरेको पनि दाबी गरे ।

कोभिड १९ को कारण थला परेको शैक्षिक क्षेत्रको सुधारका लागि नयाँ योजना ल्याउने प्रक्रिया अघि बढेको भन्दै उनले भने, ‘अलमलमा रहेको शैक्षिक क्षेत्रको टुङ्गो लगाएका छौँ । विद्यार्थी स्थानान्तरण गर्ने व्यवस्था गरेका छौँ । एसईईको गुणस्तर सुधार गर्न संघबाटै एसईई लिने व्यवस्था गरेका छौँ ।’ यस्तै सुदूरपश्चिम प्रदेशको शिक्षा विकासका लागि आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले राजधानीको शिक्षा प्रणालीबाट सिकेर सुदूरपश्चिमा प्रयोग गर्नुपर्ने बताए ।

अन्तरक्रियामा सहभागी हुन सुदूरपश्चिमका डडेल्धुराका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र स्थानीय जनप्रतिनिधि राजधानी आएका थिए । साथै उनले चालू शिक्षा प्रणालीबाट मुलुकले सोचेजस्तो फड्को मार्न नसकेको बताए । शिक्षा प्रणालीको समग्र सुधार गर्न सबै प्रदेशका शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको महत्वपूर्ण भूमिका रहने उनको भनाइ थियो ।

साथै उनले द्वन्द्वपीडित, राहत, अस्थायी शिक्षकको समस्या समाधान गर्न लागिपरेको उल्लेख गर्दै यस्ता विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए । सुदूरपश्चिम प्रदेशको डडेलधुराको अजेयमेरु नगरपालिका र गन्यापधुरा नगरपालिकाका जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, सहप्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूसहित ३२ वटा विद्यालयका प्रतिनिधिहरूलाई काठमाडौँको नमूना विद्यालयहरूको भ्रमण गर्न राजधानी आएका थिए ।

कार्यक्रममा डडेलधुरा जिल्लाको गन्यापधुरा नगरपालिका वडा नं ६ का अध्यक्ष चेतराज भट्टले २० देखि ५० जना विद्यार्थी अध्ययन गर्ने विद्यालयमा पुग्न विद्यार्थीहरूले ५ देखि ६ घण्टासम्मको यात्रा गर्नुपर्ने समस्या मन्त्री श्रेष्ठसमक्ष व्यक्त गरेका थिए । भ्रमणपछि टोलीले काठमाडौं शिक्षा घोषणापत्र जारी गरी नयाँ योजना तय गर्नेछन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया