Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकेटु हिमाल आरोहीहरूलाई सेनाद्वारा सम्मान

केटु हिमाल आरोहीहरूलाई सेनाद्वारा सम्मान


काठमाडौं ।
नेपाली सेनाले विश्वको दोस्रो अग्लो हिमाल केटु हिमाल आरोहीहरुलाई सम्मान गरेको छ । नेपाली सेनाले बुधबार जंगी अड्डामा आयोजित विशेष समारोहका बीच उनीहरुलाई कदरपत्र प्रदान गरी सम्मान गरेको हो । गत माघ ०३ गते पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो हिमाल केटु (८६११ मि)को विन्टर सिजनमा प्रथम पटक सफल आरोहण गरी विश्व कीर्तिमान राख्न सफल नेपाली आरोहण दलका सदस्यहरुलाई प्रधान सेनापति पूर्णचन्द्र थापाले सम्मान गरेका हुन् ।

राष्ट्रिय गानबाट शुरु गरिएको उक्त कार्यक्रममा आठ हजार मिटरभन्दा अग्ला १४ हिमालहरुमध्ये जाडो मौसममा सफल आरोहण नगरिएको केटु हिमालसम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको थियो । उक्त अवसरमा आरोहण दलका टिम लिडर निर्मल पुर्जा मगरले आरोहणको दौरान मृत्युलाई चुनौती दिँदै केटुको शिखरमा नेपाल र नेपालीको नाम विश्वभर फैलाउन नेपालको राष्ट्रिय गान गाउँदै चुचुरोमा नेपालको राष्ट्रिय झन्डा फहराउन आफूहरु सफल भएको अनुभव सुनाएका थिए ।

बेलायती सेनाको स्पेशल फोर्सबाट सेवा निवृत्त पुर्जा मगरले टिमको निर्माण गरी सामूहिक भावना तथा आफ्नो देश एवं शेर्पा समुदायको नाम राख्न केही गरौँ भन्ने चाहनाले गर्दा आरोहणको इतिहासमै खतरनाक मानिएको हिमाल आरोहण गर्न सफल भएको बताए । उनले विदेशमा सेवा गर्दा मातृभूमिको माया एवं कर्तव्यबोध अझ बढी हुने आफ्नो अनुभव समेत सुनाएका थिए ।

नेपाल पर्वतारोहण संघका साथै नेपाल पर्यटन विभाग तथा बोर्डका सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा सम्मानित भएका आरोहीहरुलाई बधाई दिँदै प्रधान सेनापति थापाले सामूहिक भावना तथा दृढ विश्वास एवं लगनशीलताले विन्टर सिजनमा केटुजस्तो खतरायुक्त हिमालको सफल आरोहण गर्न सम्भव भएको बताए ।

साथै उनले विदेशमा सेवा गर्नु नराम्रो पटक्कै नभएको र विदेशमा प्राप्त अनुभव तथा सीपलाई स्वदेशको प्रगतिमा उपयोग गर्नु आजको आवश्यकता रहेकोले राष्ट्रिय भावनासहितको लक्ष्य लिएर अघि बढ्ने संकल्प गरेमा नेपालमा असम्भव भन्ने हरेक पक्षलाई सम्भव बनाउन सकिने धारणा व्यक्त गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया