Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमन्त्री नेम्वा·लाई थाहै नदिई सरुवाबढुवाको सूची !

मन्त्री नेम्वा·लाई थाहै नदिई सरुवाबढुवाको सूची !


काठमाडौँ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरिदिएको छ । यही फागुन ११ गते मंगलबार सर्वोच्चले विघटनलाई बदर गरेको हो । प्रतिनिधिसभा पुनः स्थापना भएपछि राजनीतिक तरंग बढेको छ । वर्तमान सरकारले निरन्तरता पाउने वा अर्को सरकार बन्ने भन्नेमा अझै अन्योल छ ।

सरकार कस्तो बन्छ वा यसले निरन्तरता पाउने विषय राजनीतिक भए पनि कर्मचारीहरुलाई भने नेपालमा स्थायी सरकारको रुपमा हेरिन्छ । यही स्थायी सरकार अहिले एउटा समूहको त्रासमा छ । खासगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्रीलाई नै बेवास्ता गर्र्दै अहिले बेला न कुबेला सरुवाको हल्ला चलाइएको कारण काम गर्ने वातावरण बिग्रिन गएको सडक विभागका एक जना सीडीईले जानकारी दिए ।

कोभिड–१९ को प्रभावको कारण देशमा पूर्वाधार विकासले गति लिनसकेको छैन । आर्थिक वर्षको साढे सात महिना पुगिसक्दा पुँजीगत खर्च पनि २० प्रतिशतको आसपासमा मात्र भएको छ । काममा कुनै बाधा र अवरोध नहुने र निर्माण व्यवसायीहरुले काम गरेको पैसा समयमै भुक्तानी पाउँदै जाने हो भने पुँजीगत खर्च ७५ प्रतिशतभन्दा बढी हुने अर्थ मन्त्रालयका अधिकारीहरु नै बताउँछन् ।

केही दिनअगाडि बजेटको अर्धवार्षिक समीक्षामा अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगानाले त चालू आवमा ८० प्रतिशतमाथि पुँजीगत खर्च हुने दाबी नै प्रस्तुत गरेका थिए । त्यसको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मातहतका कार्यालयहरुले कुनै डर, त्रास र धम्कीविना काम गर्न पाउनुपर्छ ।

किनकि नेपालमा सबैभन्दा धेरै पुँजीगत बजेट खर्च गर्ने निकाय नै भौतिक मन्त्रालय हो । भौतिकले सडक र रेलमार्ग निर्माणको काम गर्छ । कुनै पनि देशको विकासको मेरुदण्ड भनेकै सडक र रेलमार्ग हो । यी मार्ग जति चलायमान हुन्छ आर्थिक वृद्धि पनि त्यतिकै हुँदै जान्छ ।

तर, अहिले नेपालको व्यावसायिक क्षेत्रमा सबैभन्दा बदनामी कमाएको ओम्नी ग्रुपले संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कर्मचारीहरुलाई सरुवाको धम्की दिएको छ । सडक विभाग स्रोतका अनुसार ओम्नी समूहमा आबद्ध केही व्यक्तिले पूर्वाधारसँग सम्बन्धित सामग्री खरिदमा पछिल्लो समयमा दबाब दिएको छ । आफूले भनेको सामान खरिद नगरेमा सरुवा गरिदिने भनेर सडक डिभिजन, योजना तथा आयोजनाका प्रमुखहरुलाई धम्क्याउने काम भएको छ । भौतिकमा पछिल्लो समयमा ओम्नीका केही व्यक्तिको दबाब बढे पनि उनीहरु नाम भन्न चाहँदैनन् । ‘तपाईंलाई नाम किन भन्नुप¥यो’, एक सीडीईले भने, ‘तपाईं÷हामीकै परिचित साथी हुन् ।

तर, आफ्नो व्यावसायिक धर्ममा बस्नुपर्नेमा पछिल्लो समयमा धम्कीको भाषा बढी प्रयोग हुनथालेको छ । मन्त्रीले सरुवा गरिदिऊँ भनेर धम्क्याउँदैनन् तर उनीबाट धम्की आउँछ । वर्षौँदेखि परिचितहरुलाई यसरी धम्की नदिएको भए हुने थियो ।’ ती सीडीईका अनुसार यस्तो धम्कीले भौतिक मन्त्रालयका अहिलेका सचिव रविन्द्रनाथ श्रेष्ठलाई समेत आगामी दिनमा समस्या पार्नेछ । सचिवलाई कस्तो समस्या पर्ने उनले खुलाउन चाहेनन् ।

स्रोतका अनुसार एक जना सीडीईले त भौतिक मन्त्रालयमै आफूलाई अहिले सरुवा नगरिदिन आग्रह गरिसकेका छन् । एक वर्ष नपुग्दै पटक–पटक सरुवा गर्दा आफ्नो करिअरमै धम्का लाग्ने भन्दै काम नै नभए पनि चालू आर्थिक वर्षभित्रमा सरुवा नगरिदिन आग्रह गरेका छन् । ओम्नी ग्रुपका केही व्यक्तिले सडक कार्यालयका विभिन्न प्रमुखलाई फोन गर्दै सरुवाको सूची नै बनाएको स्रोतको दाबी छ ।

सोही समूहले अहिले मध्यपहाडी लोकमार्गलगायतका केही स्थानमा प्रमुख बनाइदिने भनेर प्रलोभन दिएका छन् । मध्यपहाडीमा अहिले प्रमुख खाली छ ।भौतिकमन्त्री वसन्त कुमार नेम्वाङले कमाएको ख्याति भनेकै सरुवामा शून्य चलखेल हो । अहिले मन्त्री नेम्वाङलाई बेवास्ता गर्र्दै उक्त समूहले सरुवा र बढुवा गर्ने भनेर ‘लिस्ट’ बनाएर सचिव हुँदै मन्त्रीकहाँ पु¥याउने काम भएपछि मन्त्री नेम्वाङ निरीह भएको देखिएको विभागका केही अधिकारीहरु बताउँछन् । ‘सरुवामा विगतको गलत परम्परा तोडेर सबैको अगाडि राम्रो छवि बनाएका मन्त्री नेम्वाङलाई यसपटक ओम्नी समूहले बदनाम गराउने देखिन्छ’, सडक विभागका अर्का सीडीईले भने ।

स्रोतका अनुसार ओम्नीमार्फत आएको ‘लिस्ट’ भएको थाहा पाएपछि मन्त्री नेम्वाङले सरुवा र बढुवाको लागि केही दिन पर्खिन भनेका छन् । तर, दिनहुँजसो ओम्नी समूहका एक जनाले फोन गरेर कोहीलाई सरुवा त कोहीलाई समय नपुग्दै आयोजनाको निमित्त प्रमुखको जिम्मेवारीको आश्वासन दिनथालेपछि सडक विभाग मातहतका कार्यालयहरुमा नेम्वाङ मन्त्री बन्नुभन्दा अगाडिकै जस्तै अवस्था सिर्जना हुनथालेको छ ।

‘अवधि पुगेपछि सरुवा हुनु स्वाभाविक हो । तर, अवधि नै नपुगी बाहिरबाट सरुवाको लिस्ट बन्नु दुर्भाग्य हो’, एक जना सुईले भने, ‘बाहिरबाट सरुवाको लिस्ट नेम्वाङ मन्त्री बन्नुभन्दा अगाडि बन्दथे । अहिले पनि त्यही दोहोरिने हो कि जस्तो हल्ला विभागमा चलेको छ ।’

‘सरकारले सहसचिवहरुको नियमित प्रक्रियामा सरुवा गर्दा त हल्ला सुरु भइसकेको छ भने सडकमा त्यसरी सरुवा र बढुवा हुनथाल्यो भने मन्त्री नेम्वाङले अहिलेसम्म कमाएको ख्याति ध्वस्त हुनेछ’, अर्का सीडीईले बिहीबार साँझ आर्थिक दैनिकसित भने ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया